प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न सहयोगका लागि सत्ता गठबन्धनको समितिको बैठक आज बस्दै छ ।
सत्ता गठबन्धनमा सिट बाँडफाँटको मोडालिटीबारे आ–आफ्नो पार्टीमा छलफल गरेपछि आज समितिको बैठक बस्न लागेको हो ।
कार्यदलका संयोजक कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्त्वमा बैठक बस्नेछ । यसअघि सोमबार कुन मोडालिटीमा सिट बाँडफाँड गर्ने भन्ने विषयमा प्रारम्भिक छलफल भएको थियो ।
कार्यदलमा नेपाली कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् । नेकपा (माओवादी केन्द्र)बाट देवप्रसाद गुरुङ र वर्षमान पुन छन् ।
नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल छन् । जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।
सत्यपाटी । काठमाडौं ।