सूचनाको शक्ति - The Power Of Information

        

‘बाढी होइन, सरकार बेइमानी’

अविरल वर्षाका कारण आएको बाढीले भक्तपुर मनोहरा सुकुमबासी बस्तीका नारायणप्रसाद मैनालीले मंगलबार कम्मर कम्मरमा पानीमै रात बिताए । दुई सन्तानसहित सानो टहरामा बस्दै आएका मैनालीले त्यति बेला बाँच्छु भन्ने आशासमेत हराएको सुनाए ।

मनोहरा खोलाले तीनतिरबाट घेरेर टापुजस्तो बनाएको थियो । मैनालीले भने, ‘न हामी भागेर कतै जान सक्थ्यौं, न कसैले उद्धार गर्न सक्थे ।’ करिब १ किलोमिटर नदीकिनारमा जाली ढुंगा नलगाएकाले झन्डै ८ सय घर डुबानमा परेको उनले बताए ।

‘हामीले यस विषयमा वडा कार्यालयदेखि सिंहदरबारसम्म सबैतिर आवाज पुर्‍यायौं’ छोरीको भिजेको किताब देखाउँदै उनले भने , ‘बस्ती व्यवस्थापनमा सरोकारवालाको ध्यान नपुग्दा जीवन जोखिममा परेको छ ।’

सोहि बस्तीमा तिलक बिके पनि मैनालीको कुरासँग सहमत छन् । बाढी आउँछ भन्ने थाहा हुँदाहुँदै पनि बचाउका लागि अग्रिमपहल नहुनु दु:खदायी भएको उनले बताए ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार ०८:२६