सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा करिब ६० लाख बराबरको अवैध सामान बरामद

बाँके ठुलो परिमाणमा अवैध सामान बरामद भएको छ । सशस्त्र प्रहरीले करिब ६० लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको हो ।

सशस्त्र प्रंहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक जनकराज बस्नेतको नेतृत्वमा खटिएको ७ जनाको टोलीले बाँकेको बैजनाथ गाउँपालिका वडा नं. १ हात्तिसारबाट उक्त अवैध सामाना बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

भे १ ख ३५८८ नं. को ट्रकलाई शंका लागेर जाँच गर्दा बिल विजक नभएको ५९ लाख ४० हजार मूल्य बराबरको अवैध सामान बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले बताएका छन् ।

सुर्खेत लैजाँदै गरेको अवस्थामा उक्त ट्रकलाई खानतलासी गर्दा चीनी सय बोरा, चामल ३ सय बोरा, सुपर पावर सुर्ती २९ बोरा र लेडिज सुट सय थान फेला परेका सशस्त्र प्रहरीको भनाई छ ।

ट्रकसँगै चालक दैलेखको गुराँसे गाउँपालिका वडा नं. ४ बस्ने २७ वर्षीय गौरव गिरी र सहचालक दैलेखको दुल्लु नगरपालिका वडा नं. १२ बस्ने २१ वर्षीय अर्जुन रावतलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार १८:२०