सूचनाको शक्ति - The Power Of Information

        

भीषण वर्षाले उपत्यकाका विभिन्न स्थान डुबानमा

मंगलबार राति भएको भीषण वर्षाका कारण उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन् ।

रातभरी परेको पानीले डुबान भएपछि सर्वसाधारणको उद्धार समेत गर्नुपरेको छ । काठमाडौंको काँडाघारीको ठूलो बस्ती डुबानमा परेको छ भने त्यहाँको प्रहरी प्रभाग पनि डुबानमा परेको छ ।

प्रहरी कार्यालयभित्र रहेका खाद्यान्नलगायत सामग्री बाढीले बगाएको छ भने कार्यालय पछाडि पार्किङ गरिएका तीन वटा मोटरसाइकल पनि बाढीले बगाएको प्रहरीले जनाएको छ ।

विष्ट गाउँका घरहरु एक तलासम्म डुबेका छन् । सुकुम्वासी वस्तीका केही टहरा भत्केका छन् भने काँडाघारी क्षेत्रमा बिजुली पनि अवरूद्ध भएको छ ।

साना ठूला गरी आधा दर्जन बढी सवारी साधन पनि बाढीले बगाएको छ । स्थानीय गाईगोठमा रहेका सात जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

त्यस क्षेत्रमा अहिले उद्धारका लागि प्रहरी परिचालन गरिएको र अहिलेसम्म समस्यामा परेका १५ जनालाई सुरक्षित स्थानमा लगिएको प्रहरीले बताएको छ ।

काठमाडौंकै शंखमूल क्षेत्रमा पनि नदी बाटोसम्मै आएको थियो भने धोबीखोला करिडोर क्षेत्रमा पनि बाढी घर घरमा पसेको छ ।

यता, मौसम पूर्वानुमान महाशाखाले मंगलबार राति उपत्यकासहित देशका विभिन्न स्थानमा भीषण वर्षा भएको जनाएको छ ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको र आज बुधबार दिनभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

प्रदेश–१, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार ०८:५०