सूचनाको शक्ति - The Power Of Information

        

सुपारी तस्करीमा मुछिए डिआइजी

प्रदेश नम्बर १ का डिआइजी सुदीप गिरी सुपारी तस्करी विवादमा मुछिएका छन् । बालुवाटारकै सेटिङअनुसार उनले सुपारीको कारोबारमा संलग्न कसैलाई पक्राउ गर्ने त कसैलाई छाड्ने गरेका छन् ।

गत १२ साउनमा प्रहरीले भन्सार जाँचपास गरी भारत जान लागेका आठ वटा ट्रक नियन्त्रणमा लिएको थियो । सुरुमा सेटिङ मिलेकाले जान दिइएकोमा पछि बालुवाटारको ठाडो आदेशमा भन्दै भन्टाबारीबाट भन्सार जाँचपास भएका ट्रक बरामद गरिएको थियो ।

सो सुपारीमा ठूला व्यापारीको लगानी रहेको स्रोत बताउँछ । बालुवाटारमा डिल नमिलेकाले राजश्व अनुसन्धान विभागले त्यसलाई छाड्न मानेको छैन । व्यापारीहरुले सबै तिर सेटिङ मिलाएर ८ वर्षअघिको उत्पतीको प्रमाणपत्र देखाएर सुपारी भारत लैजान लागेका थिए ।

इन्डोनेसियाबाट आयात गरी यसरी भारत लैजान लागिएको हो । भारतमा सुपारीको उच्च माग रहेको र आयातमा कडाई भएकाले तेस्रो देशबाट नेपाल ल्याएर भारत लैजाने गरिन्छ । यसरी लैजादा दोब्बरसम्म नाफा हुने भएकाले झापा र मोरङबाट हरेक वर्ष ठूलो मात्रामा सुपारी तस्करी हुने गरेको छ ।

जसमा व्यापारीहरु दीपक पोखरेल, गोविन्द सरिया, दिनेश राठी, प्रदीप मुरारका, प्रदीप मित्तल लगायतको संलग्नता रहेको छ । उनीहरुकै सेटिङमा हालको सरकारले सुपारी आयात खोलेको थियो । तर, सेटिङ अनुसार लेनदेन नमिलेपछि अहिले भारत निकासीमा भने प्रहरी प्रयोग गरी रोकिएको छ ।

व्यापारीहरुले मनकामना ट्रेडर्स नामक कम्पनीमार्फत यसरी सुपारी आयात गर्दै आएका छन् । स्रोतका अनुसार डिआइजी गिरीलाई यही कामका लागि बढुवा लगत्तै प्रदेश नम्बर १ को प्रमुखमा पठाइएको हो । जसअनुसार झापा र मोरङ जिल्लाबाट अहिले पनि सुपारी भारत गइरहेको छ । त्यसमध्ये प्रहरीसँगको सेटिङमा कतिपय तस्करीबाट जाने गरेको छ ।

गत आर्थिक वर्षमा दुई अर्बको सुपारी आयात भएकोमा एक अर्बको मात्र निकासी हुनुले पनि बाँकी तस्करीबाटै भारत गएको प्रष्ट हुन्छ । सरकार सुपारी तस्करीबाट चुनाव खर्च उठाउने खेलमा लागेका छन् । जसमा डिआइजी समेत प्रत्यक्ष रुपमा प्रयोग भएका छन् । देशमा विदेशी मुद्राको सञ्चितीमा चाप बढीरहेका बेला सरकार नै यसरी तस्करी धन्दामा लागेको छ । जसबाट मोरङ र झापाका प्रहरी समेत मालामाल भएका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलवार १०:३२