सूचनाको शक्ति - The Power Of Information

        

अर्थ–डायरी

वित्तिय संस्थासँगै डुब्दै नागरिक

यतिखेर बैंक तथा बित्तिय संस्थामा नयाँ खाता खोल्ने शुन्यझैं छ । बचत ठप्प भइसकेको छ । बरु, भएको खाता बन्द गर्ने र पैसा झिक्नेको लामो लाइन छ ।

पछिल्लो समय बैंकबाट बचत रकम निकाल्ने क्रम ह्वात्तै बढेको छ । साउन १ गतेदेखि हिजोसम्म देशैभरिबाट ९८ अर्ब पैसा बैंकबाट निकालेको तथ्याङ्क छ । यति छोटो अवधिमा बैंकबाट यत्रो रकम निकालिएको पहिलो चोटि होला । योभन्दा अघि यत्रो रकम निकालेको कहिल्यै पनि सुन्नमा आएको थिएन । नागरिकहरु सचेत हुँदा पनि बैंकबाट पैसा निकाल्ने क्रम बढेको बताइन्छ । बैंकमाथि जति पनि विश्वास थियो अहिले त्यो गुमिसकेको छ । बैंकले कर्जा लगानी गरेका क्षेत्रहरु पनि धरासायी बनिसकेको छ ।

आफ्नो बचत डुब्ने डरले रातारात रकम निकालेको बुझिन्छ । यता, बैंकका सिइओले बचतकर्तालाई ९ को साटो १५ प्रतिशत ब्याज दिन्छु भनेर फकाउँदा पनि कोही प्रलोभनमा परेनन् । साँवा नै डुब्ने जोखिम बढेपछि ब्याजको लोभ लाग्ने कुरै रहेन । बैंकहरु टाट पल्टिसकेको विषय लुकाएर लुक्दैन । बैंक धरासायीको अवस्था छन् भन्ने पत्तो पाएका नागरिकले रातारात बचत रकम निकालिरहेका छन् । यतिखेर बैंक तथा बित्तिय संस्थामा नयाँ खाता खोल्ने शुन्यझैं छ । बचत ठप्प भइसकेको छ ।

बरु, भएको खाता बन्द गर्ने र पैसा झिक्नेको लामो लाइन छ । केही दिनअघि मात्र बैंकहरुले यो वर्षमा कमाएको नाफा सार्वजनिक गरेका थिए । तर, नाफाको पछाडि नागरिक दौडिएनन्, न विश्वास नै गरेका छन् । बचतकर्तालाई उल्लु बनाउनका लागि यो उपाय अपनाएको भनेर अहिले चर्चा चुलिएको छ । बैंकमा भएको पैसा रोक्ने र बाहिरको तान्ने भनेर यो बाटो रोजेको बुझिन्छ । बैंकमा पैसा नभएर कर्जा बन्द गरेको पनि लामो समय बितिसकेको छ । फेरि कमाउने बाटो पनि कर्जा लगानी हो ।

जति बढी कर्जा लगानी गर्यो, उति नै नाफा हुने त हो । सेवा शुल्क, घुस पनि कर्जा लगानी गर्दा आँउछ । बैंकमा कर्जा माग्न गयो भने पैसा छैन् भनेर खाली हात फिर्ता पठाँउछ । यता, यति नाफा भयो भनेर सार्वजनिक गर्छ । अनि नागरिकले कसरी पत्याउने ? बैंकका फट्याहा र झुठा आनीबानी त यहीबाट स्पष्ट भइसकेको छ । अब केही दिनमा बैंकमा झनै भीड हुने निश्चित छ । बैंक डुबिसक्यो भनेर नागरिकले भेउ पाइसकेका छन् । जति ढाकछोप गर्न खोजेपनि बाहिर आइसकेको छ ।

गोप्य राख्न खोजेका बैंकको अवस्था छ्याप्छयाप्ती बाहिर आइसकेको छ । बैंक डुब्ने अवस्थामा आइपुग्दा सिईयोले भटाभट राजनीमामा दिन चाहेका छन् । यता, कतिपय कर्मचारीले महिनौंदेखि तलब नपाएको पनि सुन्नमा आएको छ । बैंक बसेको घरको पनि भाडा रोकिएको छ । घरभाडा पाउन नसकेको घरधनीहरु पिरोलिएका छन् । यत्रो रकम बैंकबाट बाहिर गइसकेको देख्दा पनि सम्बन्धित निकाय मौन छ । यसरी धमाधम पैसा निकालेर घरमा राख्दा आर्थिक संकट निम्तिने प्रष्ट हुन्छ ।

बजारमा पैसाको झनै हाहाकार हुने देखिन्छ । तर, यस विषयमा न अर्थ मन्त्रालयले केही भनेको छ न नेपाल राष्ट्र बैंकले । सबैतिर सन्नाटा छाएको छ । चियागफ, सार्वजनिक स्थलमा पनि बैंककै विषयमा हल्लाखल्ला छ । बैंकमा भएको आफ्नो बचत निकालेर घरमै राख्ने भनेर गफगाफ चलिरहेको हुन्छ । बिहान बैंकको ढोका खोल्न पाएको हुँदैन, पैसा निकाल्नेको भीड जम्मा भइसकेको हुन्छ । त्यस्तै, सहकारी महासंघले पनि सहकारीहरुलाई देशमा आर्थिक संकट आउन सक्ने भनेर पहिल्यै नै सुसूचित गराइसकेको छ ।

बजारमा तरलता बढ्ने उल्लेख गर्दै कर्जा दिन महासंघले रोक लगाएको छ । पाँच प्रतिशतभन्दा बढी पैसा नदिन र कोटा प्रणाली लागू गर्न निर्देशन दिइएको छ । बचतकर्ता ग्राहकलाई फिर्ता गर्ने पैसा नभएकाले यो निर्णय गरिएको हो । महासंघको भनाइले सहकारीको अवस्था नाजुक भएको प्रष्ट बुझिएको छ । उनीहरुको यो कुरा नागरिकले बुझ्नुपर्छ । बजारबाट पैसाचाहि उठाइरहने अनि कोटा प्रणाली लागू गर्ने । यो त नागरिक फसाउने काम भएन र ? मुलुकमा ३० हजारमाथि सहकारी सञ्चालनमा छन् ।

ती सहकारीमा करोडौंले बचत गरेका छन् । सहकारीमा खरबौं रुपैंयाँ बचत गरिएको छ । तर, अब यो डुब्ने देखिएको छ । सहकारी डुब्यो भने लाखौं सर्वसाधारणको घरबार सिद्धिन्छ । सडकको बास काट्नुपर्छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठको यसतर्फ ध्यान गएको छैन । यत्रो नागरिकको रकम कसरी जोगाउने भनेर उनले चासो दिएकी छैनन् । सहकारीमा एकदमै जटिल समस्या आइसकेको छ । तापनि सरकारले बेवास्ता गरिरहेको छ, जुन भोलिका दिनमा थप ठूलो समस्या बन्न सक्छ ।

सहकारीहरु धमाधम भागिरहेका छन्, तर मन्त्री श्रेष्ठ सहकारीकै कार्यक्रममा पुगेर दीप प्रज्वलन गरिरहेकी छिन् । सहकारीमा यत्रो समस्या छ, नागरिकको पैसा डुब्ने अवस्थामा आइपुगेको जानकारी हुँदाहुँदै पनि मन्त्री श्रेष्ठ बुझ पचाएर कार्यक्रममा पुगेकी हुन् । सहकारीमा दिनैपिच्छे बचत रकम निकाल्न जाँदा खाली हात फर्किनुपर्ने बाध्यता छ । नागरिकको रातको निद्रा र दिनको भोक हराइसकेको छ । आफ्नो पैसा डुब्ने तनावमा छन् । तर, मन्त्रीलाई चाहि कार्यक्रम उद्घाटन गर्दै ठिक छ ।

सहकारीले यसरी दुख दिँदा पनि मन्त्रीलाई कुनै मतलब छैन । न नागरिक ठग्ने सहकारीलाई कारबाही गर्न सकेकी छिन् । अझै त्यही ठग सहकारीको कार्यक्रममा पुगेर बोल्न उनलाई लाज लाग्नुपर्ने हो । पछिल्लो समय सहकारीका ठगीधन्दाले सञ्चारमाध्यम भरिएका छन् । सहकारीमा भएको बेतिथि सार्वजनिक भइरहँदा पनि सहकारी विभाग कानमा तेल हालेर बसेको छ । स्थानीय सरकारले पनि सहकारी अनुगमन गरेको छैन । नागरिकको पैसा बोकेर कुलेलम ठोक्ने सहकारीलाई कारबाही गर्न स्थानीय सरकार पनि चुकेको छ ।

धेरैको घरमा रुवावासी चलेको छ । यसबाट अरुले पनि पाठ सिकौं । आफ्नो पैसा जसरी हुन्छ धमाधम निकाल्नुपर्छ । आफू पनि डुब्ने हो कि भनेर पहिले नै सोचविचार गर्न जरुरी देखिएको छ । सहकारीहरु कुन दिन र कतिखेर भएका बसेका छन् । मौका मिल्नेबित्तिकै उनीहरु भागिहाल्छन् । सहकारीहरुले अझै पनि बजार प्रतिनिधि पैसा उठाउन खटाइरहेका छन् । तर, पहिलेजस्तो पैसा राख्नेको लर्को छैन् । फाट्टफुट्टले मात्रै बचत गर्दै आएका छन् । पछिल्लो समय सहकारीका अध्यक्ष र चेयरम्यान लुकीछिपी हिँडेका छन् ।

रकम फिर्ता गर्न नसकेपनि उनीहरुले अनुहार पनि देखाएका छैनन् । सहकारीमा कर्मचारी मात्र छन्, सम्बन्धित व्यक्तिको अत्तोपत्तो छैन् । ती कर्मचारी पनि तलबविहिन छन् । हिजो आँखा चिम्लेर पैसा राख्दा आज थुकथुकी लागेको भन्न थालिएको छ । वषौंभरि खाइनखाई राखेको पैसा जोखिममा पर्दा नागरिकहरु पिरोलिरहेका छन् । यता, नागरिकले त सहकारीका सम्बन्धित व्यक्तिलाई चिन्दैनन् । साधारण सभामा जाने, खाममा पैसा बुझ्ने र खाजा खाएर हिँड्ने काम मात्र भो ।

आफूले पैसा राखेको सहकारी कति विश्वासयोग्य छ ? सम्बन्धित व्यक्ति कतिको जिम्मेवार छन् ? कसैले पनि यो हेरेनन् । नागरिकले आफ्नो खुट्टामा आफैंले बञ्चरो हानेका हुन् । बाठाटाठा सहकारीमा पुगेर पैसा निकाल्ने अघि बढेका छन् । अलिक सीधासाधीहरु अझै पनि चैनका साथ बसेका छन् । नागरिकले सहकारीमा लगेर पैसा राख्नुहुँदैन । जब सहकारी भाग्छ त्यतिखेर मात्र नागरिकले भेउ पाउँछन् । सहकारीले यो कुरा लुकाउन खोजिरहेका छन् । यता, वित्तिय संस्थाले कर्जा उठाउन सकेको छैन ।

ऋणीले धितो लिलाम गर भनेर हात उठाइसकेका छन् । धितो राखेर लिएको कर्जा उठ्दैन, उता धितो बिक्री हँुदैन, किन्ने कोही छैन । सेयर, गाडी र घरजग्गामा वित्तिय संस्थाको धेरै लगानी छ । तर, यस क्षेत्रमा यतिखेर पुरै मन्दी छाएको छ । त्यसैले पनि नागरिकले धमाधम पैसा निकाल्न थालेका हुन् । धितोले कर्जा उठाउन नसक्ने अवस्था आइपर्यो । यी क्षेत्रमा लगानी भएका दलालीहरु यतिखेर भागाभाग भइसकेका छन् । कर्जा तिर्न नसकेर रुन न हाँस्नुको अवस्थामा उनीहरु छन् ।

घरजग्गा र सेयर बेचने यत्तिकै छन्, किन्ने कोही छैनन् । जुन क्षेत्रमा पनि बजार मूल्यले धेरै प्रभाव पार्छ । बजारमा मन्दी छाउँदा वित्तिय संस्थालाई साह्रो मर्का पर्यो । वित्तिय संस्थाकै कारणले हिजो कतिपय भागेका थिए भने अब यिनीहरु नै भाग्नपर्ने अवस्था आएको छ । बैंक तथा फाइनान्समा पैसा निकाल्न रातिदेखि लाइन लाग्छन्, अनि पैसा तिर्न नसकेपछि भाग्नुबाहेकको उपाय रहँदैन । वित्तिय संस्थामा राखेको पैसा जोखममा परिसकेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलवार ०९:२३