सूचनाको शक्ति - The Power Of Information

        

विकास तथा प्रविधि समितिको बैठक

मन्त्री राईको चेतावनी, ‘नेताको आडमा काम रोक्ने ठेकेदारलाई तह लगाउँछौं’

मन्त्री राईले ठेक्का लिने तर समयमा नै काम सक्ने र अन्य विभिन्न बेथिति ल्याउने ठेकदारहरुलाई सरकारले नछोड्ने बताएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले नेताको नाम लिएर विकास निर्माणमा बेथिति निम्त्याउने ठेकेदारहरुलाई तह लगाउने चेतावनी दिएका छन् । सोमबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले नेताको नाम लिएर ठेकेदारीमा दादागिरी गर्दै विकास निर्माणका काममा बेथिति ल्याउने ठेकदारहरुलाई तह लगाउने चेतावनी दिएका हुन् । उनले मन्त्रालयले त्यस्ता ठेकेदारहरुको खोजी भई रहेकाले विस्तारै ठिक लगाउने बताए ।

मन्त्री राईले ठेक्का लिने तर समयमा नै काम सक्ने र अन्य विभिन्न बेथिति ल्याउने ठेकदारहरुलाई सरकारले नछोड्ने बताए । उनले सरकारले कुनै पनि नेताको नजिकको ठेकदार भए पनि काममा अवरोध सिर्जना गरेमा नछोड्ने बताए । उनले अहिले वैकल्पिक राजमार्गको विषयमा पनि बेथिति भइरहेको बताए । मन्त्री राईले मन्त्रीपरिषद्ले वैकल्पिक सहायक राजमार्गका बारेमा निर्णय गरिसकेकाले अब सहायक राजमार्गको मापदण्ड बनाएर कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए ।

उनले भने, ‘गल्ती गर्ने ठेकेदारहरुलाई छोड्ने कुरा आउँदैन । सरकार कुनै पनि नेताको आडमा बसेर विकास निर्माणमा बेथिति निम्त्याउनेलाई छोड्दैनौँ । तर विकास निर्माणमा ठेकदारहरुको बेथिति छ । को कसको को कसको भन्दै विभिन्न नेताहरुको खोल ओडेर ठेकेदारहरुले बेथिति निम्त्याएका छन् । हामी त्यसको खोजी गर्दैछौं । विस्तारै ठिक पार्छौं । तपाईहरु ढुक्क हुनुस् ठिक पार्छौं ।’

मन्त्री राईले सार्वजनिक यातायातमा वैज्ञानिक भाडादरमा बेथिति नभएको बताए । उनले स्वचालित मूल्य प्रणालीअनुसार नै भाडा समायोजन भई रहेको दाबी गरे । मन्त्री राईले कही कतै कार्यान्वयन नभएको भए मन्त्रालय तत्काल कडाईका साथ कार्यान्वयन गर्न तयार रहेको बताए । उनले वैज्ञानिक भाडादर सरकार, निजी क्षेत्र र विज्ञहरु राखेर लागू गरिएको बताए ।

उनले भने, ‘सार्वजनिक यातायातमा वैज्ञानिक भाडादरको कुरा उठ्यो । सार्वजनिक यातायातमा वैज्ञानिक भाडादरमा बेथिति चाँही छैन । लागू हुने नहुने कुरामा कतै गुनासो आयो भने कडाईका साथ लगाउँछौं । मन्त्री भएर आउँदा सार्वजनिक भाडादर बढेर पनि घटेको थियो । बढाउन भन्यो भने लागू कहिलेदेखि गरेको हो । सात दिनपछि लागू गरेर सात दिनपछि मैले भाडादर स्वीकृत गरेको हो । त्यो नै निरन्तर होस् भनेर यातायात व्यवस्था विभागका महानिर्देशकले भनेर मैले रोकेको हो । अहिले देखि लागू गरौं भने यो स्वचालित प्रणाली हो । यसमा सरकार, निजी क्षेत्र र विज्ञहरु राखेर गरिएको विषय हो ।’

त्यस्तै, नेकपा एमालेकी सांसद विद्या भट्टराईले विकास निर्माणमा तहगत समन्वयको अभाव रहेको बताइन् । उनले तीनै तहमा आफ्नो क्षेत्राधिकार छैन भनेर पन्छिन संघीयताले सजिलो भएको बताइन् । भट्टराईले संघीयताले जिम्मेवार बनाउनुपर्ने तर गैरजिम्मेवार बन्नको लागि संघीयताले ठाउँ दिएको बताइन् । उनले सार्वजानिक सवारी साधनको भाडादर स्वचालित नभएर स्वछन्द भएको टिप्पणी गरिन् । त्यस्तै, नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले संघीयता आएसँगै स्थानीय सरकारहरुले डोजर आतंक मच्चाएको कारण सडकमा ठूलो समस्या भोगेको बताए ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार १७:१३