नेपालमा प्रधानमन्त्री बन्ने भन्दै स्वतन्त्र पार्टी दर्ता गरेका रवि लामिछानेविरुद्धमा अमेरिकी अदालतमा ९ वटा मुद्दा दर्ता भएको भेटिएको छ । सम्बन्ध विच्छेदबाहेक विभिन्न बैंक तथा वित्तीय संस्थाले दायित्व भुक्तानी नगरेको भन्दै लामिछानेलाई प्रतिवादी बनाएर अमेरिकाको मेरिल्याण्ड राज्यमा मुद्दा दर्ता भएको भेटिएको हो ।
मेरिल्याण्डको टाउसन र बाल्टिमोर काउन्टी अदालतमा लामिछाने विरुद्ध मुद्दा छ । जसमा एक मुद्दा अहिले पनि विचाराधिन रहेको छ । अमेरिकी नागरिकता त्यागेर नेपाल फर्किएका लामिछानेले अमेरिकामा रहँदा लिएको बैंक तथा वित्तीय संस्थाको ऋण र क्रेडिट कार्डको रकम समयमै भुक्तानी नगरेको भन्दै विभिन्न अदालतमा मुद्दा परेको हो ।
यसबाहेक उनले अमेरिकामा रहँदा सञ्चालन गरेको व्यवसायको लागि खाद्यान्न सप्लाइ गर्ने कम्पनीले समेत समयमा भुक्तानी नपाएको भन्दै अदालतमा मुद्दा दर्ता गरेको थियो । उनको नाममा मेरिल्याण्डमा मात्रै ९ मुद्दा दर्ता भएको देखिन्छ । अमेरिकामा रहँदा लामिछाने मेरिल्याण्ड राज्यमा बस्दै र व्यवसाय सञ्चालन गर्दै आएका थिए ।
मेरिल्याण्ड राज्यको विभिन्न अदालतमा लामिछानेविरुद्ध दर्ता भएका मुद्दाहरु
जसमा एक मुद्दा मेरिल्याण्ड राज्य सरकारले पनि दायर गरेको छ । राज्य सरकारले भने समयमा कर नतिरेको भन्दै मुद्दा दर्ता गरेको थियो । धेरैजसो मुद्दा लामिछानेले समयमा वित्तीय दायित्व भुक्तानी नगरेको विषयम रहेको छ । यसमा धेरै मुद्दाहरु किनारामा लागेको भए पनि डिस्कोभर बैंकले बाल्टिमोर काउन्टी अदालतमा दायर गरेको मुद्दाको पूर्ण फैसला आइसकेको छैन ।
रविले अमेरिकामा रहँदा बस्दा गरेको कारोबारको रकम समयमा भुक्तानी नदिएको वा क्रेडिट कार्डको ऋण समयमा नतिरेकोमा बैंकहरुले अदालतमा मुद्दा दर्ता गरेको देखिएको छ । मुद्दाहरु सन् २०१८ र २०२१ को बीचमा दर्ता भएका छन् । अमेरिकामा समयमा ऋण नतिरेको खण्डमा अदालती प्रक्रियाबाट ऋणको असुल गर्ने कानूनी प्रक्रिया छ । अमेरिकामा समयमा ऋण नतिर्नुलाई अपराधको रुपमा हेरिन्छ ।
अदालती प्रक्रिया गएपछि ऋण भुक्तानी गरे पनि उक्त विकल्प अन्तिम विकल्पको रुपमा रहने र खराब रेकर्ड रहन्छ । नेपालमा पत्रकारिताको रुपमा राम्रो छवि बनाएका लामिछाने अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा चुनावमा जाने तयारी गरिरहेका छन् । अमेरिकामा भने उनको नाममा रहेको केही मुद्दाको अन्तिम फैसला आउनै बाँकी छ । यसबीचमा २०२१ सालमा अमेरिकामा लामिछानेको नाममा रहेको घर विक्री गरिएको थियो ।
सत्यपाटी । काठमाडौं ।