सरकारले दिएको उपचार खर्च सकिएपछि भेरी अस्पतालमा उपचार गराइरहेका सिकलसेलका बिरामीहरु समस्यामा परेका छन् । सरकारले सिकलसेल बिरामीलाई एक लाखसम्म उपचार खर्च दिने गरेको छ ।
सरकारले दिने खर्च सकिएपछि भेरी अस्पतालमा उपचार गराइरहेका २० जना बिरामी समस्यामा परेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार २० जना बिरामीको उपचार खर्च सकिएको छ भने अन्य १० जनाको पनि सकिनै लागेको छ ।
सरकारले दिएको उपचार खर्च सकिएपछि २० जना बिरामीलाई उपचारमा ठुलो समस्या देखिएको भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा.राजन पाण्डेले बताए ।
उनले उपचार खर्च सकिएकामध्ये केहीको उपचार सामाजिक ईकाई शाखाबाट भइरहेको र धेरैले आफ्नै खर्चले उपचार गर्नुपर्दा निकै समस्यामा परेको बताए । सरकारी उपचार खर्च सकिएका अधिकांश बिरामीको आर्थिक अवस्था निकै कमजोर रहेकाले उनीहरुलाई समस्या भएको डा.पाण्डेको भनाइ छ ।
उनीहरुको उपचारका लागि तत्काल वैकल्पिक व्यवस्था गर्न नसकिए उनीहरुले उपचार पाउन समस्या हुने देखिएकाले यसतर्फ सम्बन्धित सबै निकाय गम्भीर हुनुपर्ने उनले बताए । आफूसँग भएको धनसम्पत्ति सबै पहिले नै उपचारमा सकाइसकेको र सरकारले दिएको उपचार खर्च पनि अहिले आएर सकिएपछि उपचारमा निकै समस्या भएको दुखेसो बाँकेका बिरामी काशीराम थारुले गरे ।
उनले सरकारले फेरि उपचार खर्च नदिने हो भने आफुहरु बाँच्न नसक्ने समेत बताए । सोही प्रकारको दुखेसो उपचार खर्च सकिएका सबै बिरामीको छ । भेरी अस्पतालमा ९०० जना सिकलसेलका बिरामी नियमित उपचारमा रहेको अस्पतालका कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा.पाण्डेले जानकारी दिए ।
पश्चिम नेपालका थारु समुदायमासँगै अन्य समुदायमा समेत देखिएको सिकलसेल रोगका बिरामीलाई आवश्यक औषधि समयमा उपलब्ध गराउन नसके समस्या हुने उनको भनाइ छ । सिकलसेल रोगको न्यूनीकरणका लागि हरेक समुदायमा स्क्रिनिङ जरुरी रहेको भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा.पाण्डेले बताए ।
त्यसैका आधारमा रोगी र वहाकको पहिचान हुने र उपचार तथा न्यूनीकरणका कार्यक्रमहरु अगाडि बढाउन सहज हुने उनले बताए । बाँकेका थारु समुदायको बाहुल्य रहेको केही पालिकामा स्वास्थ्य कार्यालय बाँकेले सिकलसेल रोग पत्ता लगाउन स्क्रिनिङ शुरु गरेको छ । जिल्लाको कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकामा गरिएको स्क्रिनिङमा धेरै जनामा सो रोग देखिएको स्वास्थ्य कार्यालयका अधिकृत नरेश श्रेष्ठले बताए ।
सत्यपाटी । बाँके ।