सूचनाको शक्ति - The Power Of Information

        

पहिराेले डुम्रे-बेँसीसहर र बेँसीसहर चामे सडक अवरुद्ध

अविरल वर्षाका कारण आएको पहिराेले गएरातिदेखि डुम्रे-बेँसीसहर र बेँसीसहर चामे सडक पुनः अवरुद्ध भएको छ।

डुम्रे बेँसीसहर सडकअन्तर्गत बेँसीसहर नगरपालिका-१ उदिपुरको देउराली डाँडा पहिरा र मर्स्याङ्दी गाउँपालिका–४ रामबजार पहिराले बेँसीसहर चामे सडक अवरुद्ध भएको हो।

वैकल्पिक सडकका रूपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा ढुङ्गासहितको लेदो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए।

उनका अनुसार पहिराले अवरुद्ध बनाएको सडक एक्साभेटरको माध्यमबाट खुलाउने कार्य भइरहेको छ।

यही भदौ ११ गते र गत असारको पहिलो हप्ता आएको बाढीले सो सडकको देउरालीडाँडामा सडक बगाएको थियो।

सडक अवरुद्धका कारण बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवन, गोरखा, तनहुँ जाने र सो स्थानबाट बेँसीसहर आउने यात्रुहरु बढी मारमा परेका छन् । यस सडक ४२ किलोमिटर दूरीकाे छ।

त्यस्तै, लमजुङ मनाङ जोड्ने बेँसीसहर चामे सडकअन्तर्गत उक्त रामबजारमा पहिराले अवरुद्ध बनाएपछि सवारी साधन सञ्चालन हुन सकेको छैन।

सडक माथिबाट ठूला ढुङ्गामाटासहितको पहिराे खसेर सडक अवरुद्ध भइरहेको प्रहरीले जनाएको छ। यस सडक हुँदै विशेष गरी मनाङवासीहरु आवतजावत हुने गर्दछन्। तर उनीहरुलाई यसरी पटक पटक सडक अवरुद्ध हुँदा समस्या हुँदै आएको छ। यस सडक ६५ किलोमिटरको दूरीमा रहेको छ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतवार ०८:३७