प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि हुने चुनावका लागि आजदेखि राजनीतिक दल दर्ता सुरु हुँदैछ ।
सरकारले मङ्सिर ४ गते चुनावको मिति घोषणा गरेपछि निर्वाचन आयोगले निर्वाचन तयारी तथा व्यवस्थापनअन्तर्गत दल दर्ता आह्वान गरेको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले साउन ३१ गतेसम्म निर्वाचन आयोगमा कार्यालय समयमा दल दर्ता हुने जानकारी दिनुभयो ।
आयोगका अनुसार दल दर्ताको निवेदनसँगै राजनीतिक दलले आफ्नो विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या, वार्षिक लेखा परीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीय स्तर र प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो चुनाव भएको मिति उल्लेख गर्नुपर्नेछ ।
दलले निवेदन दिँदा प्रतिनिधि सभा सदस्यको छुट्टै र प्रदेश सभा सदस्यको हकमा प्रदेशगत रूपमा सात वटा प्रदेशका लागि छुट्टाछट्टै निवेदन पेस गर्नुपर्नेछ ।
निर्वाचन आयोगले यसअघि मतदाता नामावलीका लागि अनलाइनमार्फत आवेदन दिएकालाई हिजोसम्म औँठा छाप र फोटो लिने व्यवस्था गरेको थियो ।
मतदाता नामावली सङ्कलनको काम शुक्रवारदेखि नै स्थगित भएको छ । आयोगका प्रवक्ता पौडेलका अनुसार मतदाता नामावलीबाट मृतक मतदाताको नाम हटाएर अद्यावधिक गर्ने काम सुरु भएको छ।
सत्यपाटी । काठमाडौँ ।