सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

निर्वाचन घोषणापछि दोधारमा वामदेव

संगठनमा कमजोर भएपछि वामदेव गौतमलाई चुनावी मैदानमा उत्रिन समस्या भएको छ ।

आम निर्वाचनको मिति घोषणासँगै नेताहरुको व्यस्तता ह्वात्तै बढेको छ । यस्तैमा नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम भने चुनावी मैदानमा होमिने कि चुपचाप राष्ट्रियसभामै बस्ने भन्नेमा अलमलमा देखिएका छन् ।

राष्ट्रियसभा सदस्यकै भूमिकामा रहेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ मौका मिले राजीनामा दिएर प्रतिनिधिसभाको उम्मेदवार बन्ने तयारीमा जुटिरहँदा गौतम भने अलमलमा परेका हुन् ।

आफूले प्रस्ताव गरेको समाजवादी केन्द्र बन्न नसकेको तथा पाँच दलीय गठबन्धनमा पनि नसमेटिएपछि उनी अलमलमा परेका हुन् । एमालेका पूर्व उपाध्यक्ष रहेका गौतम संगठनमा कमजोर भएपछि चुनावी मैदानमा उत्रिन समस्या भएको उनी निकट नेता कार्यकर्ता बताउँछन् ।

तर, गौतमका स्वकीय सचिव दीपक टमटाले चुनाव उठ्ने–नउठ्ने विषयमा पार्टीमा छलफल गरेर निर्णयमा पुगिने बताए । ‘अहिलेसम्म उहाँको मनोविज्ञान चुनाव उठ्नुपर्छ भन्ने छ । यद्यपि पार्टीले केही निर्णय गरेको छैन,’ टमाटाले भने, ‘गठबन्धनमा समझदारी भएमा चुनाव उठ्ने अवस्था बन्न सक्छ ।’

तर, गौतमकी श्रीमतीसमेत रहेकी नेकपा एमाले सांसद तुलसा थापाले चुनाव–उठ्ने विषयमा केही भन्न नसकिने बताइन् । ‘चुनावको मिति आइसक्यो । सबैले उम्मेदवार घोषणा गरी राखेका छन्,’ थापाले भनिन्, ‘उहाँ चुनाव लड्ने हुन्छ कि हुन्न थाहा छैन ।’

नेता गौतम नेकपामा हुँदा निर्णायक ठाउँमा थिए । नेकपा विभाजन भएपछि एमाले छाडेर छुट्टै बाटो लागेपछि बामदेव गौतम कमजोर अवस्थामा पुगेका छन् । २०७४ सालको चुनावमा उनी बर्दियाबाट पराजित भएका थिए ।

गौतमले चुनाव जितेर आएमा प्रधानमन्त्री दाबी गर्ने देखिएपछि त्यतिबेला पार्टीबाटै अन्तरघात भएको उनी निकट नेता कार्यकर्ता बताउँछन् । गौतम त्यतिबेला जम्मा ७५३ मतले काँग्रेसका सञ्जय गौतमसँग पराजित भएका थिए । यदि गौतम पुनः बर्दियामा चुनाव लड्न गएमा उनै सञ्जयसँगै प्रतिस्पर्धा हुने देखिन्छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार १९:१२