राष्ट्रपति विद्यादेवी भण्डारी जेठ १७ गते बाजुराको बडिमालिका जाने क्रममा सुर्खेत उपत्यका पुगी वीरेन्द्रनगर नगरपालिका–९ लाटिकोइलीस्थित काँक्रेविहारको अवलोकन गर्न पुगिन् । आजभोलि यो एक पर्यटकीय स्थलको रूपमा विकसित र चर्चित भएको छ । पूर्व–पश्चिम लाम्चो परेको डाँडाको पश्चिमी थुम्कोमा छरपस्टिएका पुरातात्विक अवशेषहरू जम्मा गरेर मन्दिरको पुनर्निर्माण गरिएको छ ।
सर्वसाधारणदेखि बौद्धिक वर्ग पनि यो निर्माणकार्य भएबाट खुसी देखिन्छन्, तर यसलाई पुरातत्वको दृष्टिकोणबाट पर्गेल्ने काम खासै भएको पाइएन । यो पुरातात्विक महत्वको क्षेत्र हो र यसलाई पुरातत्वको दृष्टिकोणबाट हेर्ने कुरामा चुक्नु धेरै कुरा गुमाउनु हो । यसतर्फ खासै चर्चा नहुनुले नेपालमा पुरातत्व विज्ञान कति उपेक्षित रहेछ भन्ने दर्शाउँछ । साथै, पुरातत्व विज्ञानका क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने वर्गले पनि यस बारेमा कुरा बुझाउन नसकेको स्वीकार गरी आत्मालोचना गर्नुपर्ने अवस्था छ ।
सम्पदा तथा पुरातत्वसँग सम्बन्धित सबै सरोकार प्राचीन स्मारक संरक्षण ऐनअन्तर्गत हुन्छ । यही ऐनअनुसार पुरातत्व विभाग स्थापित र सञ्चालित छ । काँक्रेविहारको भग्नावशेषमाथि उत्खनन् तथा मन्दिरको पुनर्निर्माणलगायतका सम्पूर्ण काम पुरातत्व विभागबाटै भएको हो तर विभागकै केही पुरातत्व अधिकृतहरू आफैं यो पुनर्निर्माण कार्यसँग सन्तुष्ट छैनन् । विभागभित्र यसबारे छलफल गर्न उनीहरूलाई सहज लाग्दैन र हीनताबोध गरेर बस्न बाध्य छन् ।
पुरातत्व क्षेत्रकै भएर हुनसक्छ, आफ्नो दुखेको पोख्नकै लागि ती अधिकृतहरू यो पङ्तिकारको सम्पर्कमा आउँछन् र काँक्रेविहारमा बर्बाद नै भएको अभिव्यक्ति दिन्छन् । पदीय मर्यादाका कारण खुल्न नसक्नु बेग्लै कुरा हो तर उनीहरूको चिन्ता जायज छ । उत्खनन हुन सुुरु गरेदेखिको गतिविधिलाई नियाल्दै र लेख्दै आएकाले पनि हुनसक्छ उनीहरूले मलाई दुखेसो पोखेका हुन् । मन्दिरको पुनःनिर्माण कार्य पुरातत्व विभागबाटै भएको हो तर उही विभागका अधिकृतहरूले असन्तुष्टि व्यक्त गरिरहेका छन् भन्ने सुन्दा असहज लाग्न सक्छ ।
यद्यपि काँक्रेविहारको मामिलामा भने यो नौलो कुरा होइन । काँक्रेविहार भनिए पनि यहाँ विहार वास्तुकला देख्न पाइँदैन । बौद्ध जगत्मा विहार भनेका के कस्ता हुन्छन् र हुनुपर्छ भन्ने कुरामा अलमलिनुपर्दैन । बौद्धहरू पूजा तथा धर्मअभ्यास गर्ने स्थललाई विहार भनिन्छ । भिक्षु तथा भिक्षुणीको आवासगृहको रूपमा पनि विहारलाई नै लिइन्छ तर काँक्रेविहारमा यस प्रकारको वास्तुअवशेष केही पाइँदैन । शिखर शैलीको एउटा मन्दिर छ, त्यसैलाई विहार भनिएको हो । यसलाई किन विहार भनियो भन्ने सन्दर्भमा अलि पुरानो कुरा कोट्याउनुपर्ने हुन्छ ।
यस डाँडामाथि पुरातात्विक भग्नावशेष देख्ने वा प्रकाशमा ल्याउने पहिलो व्यक्ति योगी नरहरीनाथ हुन् । उनलाई सन् १९५९ मा यो भग्नावशेष प्राप्त भएको हो तर यो लामो समयसम्म उपेक्षित अवस्थामै रह्यो । सन् २००३ सम्म पनि पुरातात्विक अध्ययन हुन पाएन । नेपालमा बौद्धधर्मसँग सम्बन्धित स्तूप, मूर्ति वा केही वास्तु अवशेष देख्यो कि त्यसलाई विहार भनिहाल्ने चलन गैर बौद्धसमाजमा पाइन्छ । कला, संस्कृति र इतिहास क्षेत्रमा कार्यरत प्राज्ञिक व्यक्तित्त्वहरूमा समेत यो कमजोरी रहेको अवस्थामा सर्वसाधारणमा पनि यही हुनु अनौठो कुरा होइन ।
लाटीकोइली डाँडाको उक्त पुरातात्विक भग्नावशेष बौद्ध धर्मसँग सम्बन्धित भनेर योगी नरहरीनाथले ठम्याइहाले र बौद्ध भएकै कारण काँक्रेविहार भनिहाले । संभवतः उक्त स्थल वा थुम्को ‘काँक्रे’ शब्दसँग सम्बन्धित थियो र त्यहाँ बौद्ध पुरावस्तुहरू पाइएको आधारमा काँक्रेविहार नामकरण गरियो । इस्वीको बाह्रौंदेखि पन्ध्रौं शताब्दीसम्म कर्णाली क्षेत्रलाई केन्द्र बनाइ एउटा ठूलो भूक्षेत्रमा खश साम्राज्य स्थापना भएको थियो । राजा नागराजबाट स्थापित यो साम्राज्य धार्मिक दृष्टिले मूलतः बौद्ध साम्राज्य थियो ।
जुम्लाको सिंजा उपत्यकालाई पहिलो र दैलेखको दुल्लू क्षेत्रलाई दोस्रो राजधानी बनाएर राज्य व्यवस्था सञ्चालन गरेको पाइन्छ । करिब तीन सय वर्ष यो साम्राज्य कायम रह्यो । यसअनुसार यस क्षेत्रमा बौद्ध सम्पदा तथा कलाकृति पाइनु आश्चर्यको कुरा होइन । केही सामग्रीको आधारमा सुर्खेत उपत्यका त्यति बेला बौद्धिक केन्द्रको रूपमा देखापर्दछ । खश साम्राज्यमा जम्मा १५ जना राजाले राज्य गरेको पाइन्छ भने ती जम्मै राजाहरू बौद्ध धर्मका पक्षपाती थिए ।
उनीहरू अन्य क्षेत्र वा राज्यमा बौद्ध धर्मका लागि संरक्षक भएर सरसहयोग पनि गर्दथे भन्ने कुराको पुष्टि काठमाडौं उपत्यका र भारतका ऐतिहासिक स्रोतहरूबाट पनि खुल्दछ । काँक्रेविहार मन्दिरको निर्माण कुन राजाबाट कहिले भयो, कहिले र कसरी भत्क्यो भन्ने कुराको ठोस जवाफ पाइने प्रमाणको अभाव छ । लहडवाजीमा कसैले अनुमान गरेर लेखेको लेखलाई अर्कोले प्रमाण ठान्ने र त्यहीअनुसार फलाना राजा वा ढिस्काना राजा भनेर इतिहास बनाउनुुभन्दा ठोस अध्ययन हुनु जरुरी छ ।
वास्तवमा काँक्रेविहारका सम्बन्धमा ठोस अध्ययन भएकै छैन । पुरातत्वको अध्ययनमा काँक्रेविहार एक प्रकारको नौटंकी हो । २०५७ सालमा यसको उत्खननका लागि नियुक्त पुरातत्वअधिकृत अध्ययन स्थलतर्फ रवाना हुनुअघि नै काठमाडौंमा लेखेको एक पत्रमा बौद्ध भनिए पनि काँक्रेविहार हिन्दूधर्मसँग पनि सम्बन्धित भनेर लेखेका थिए । यही आशयको समाचार १६ फागुनको नेपाल समाचारपत्र दैनिकमा पनि प्रकाशित भयो । केहीपछि तत्कालीन संस्कृति मन्त्री ओमकार श्रेष्ठ काँक्रेविहार पुगी सार्वजनिक रूपमा हिन्दू मन्दिर रहेको र हिन्दू मन्दिरको निर्माण गर्ने मन्तव्य व्यक्त गर्नुका साथै स्थानीय हिन्दू धर्मावलम्बीहरूलाई उक्साउने काम गरे ।
काँक्रेविहारमा हिन्दू देवीदेवताको पनि मूर्ति देख्नु र धार्मिक सहिष्णुताको भाष्य बनाउनुमा पुरातत्व विभागको हदैसम्मको लापरबाही र विषयविज्ञको अभाव हो । पूरै खश साम्राज्य महायानी बौद्ध धर्मसँग सम्बन्धित हो र यस धर्म सम्प्रदायमा गणेश, भैरव, नाग, हनुमान तथा अन्य चरित्र पाइनुलाई अन्यथा लिनु हुँदैन । यी चरित्रहरू महायानी बौद्ध सम्प्रदायमा पनि हुन्छन् भन्ने कुरा थाहा नपाएर हिन्दू चश्मा लगाउन पुगेको भनेर अनुमान गर्न गाह्रो भएन ।
बौद्ध धर्म भनेर थेरवाद सम्प्रदाय मात्रै बुझ्नु पुरातत्व विभागको कमजोरी त हो नै, कसैले दिएको सुझाव सुन्न पनि तयार नहुनु भने गैरजिम्मेवारीपन हो । मूर्ति विज्ञानको मामिलामा पनि काँक्रेविहारमा धेरै मात्रामा चुक्नु लाजमर्दो कुरा हो । स्थानीय निकाय काँक्रेविहारको पुनर्निमाण सम्पन्न गरी यसलाई पर्यटकीय स्थलको रूपमा प्रस्तुत गरी आयआर्जन गर्ने ध्याउन्नामा थियो भने पुरातत्व विभागको ध्यान ठेकापट्टा मिलाउने चक्करमा । यस क्रममा निर्माण कार्य अलपत्र पारेर ठेकेदारहरू भाग्ने तथा नयाँ ठेकेदार नियुक्त गर्ने क्रम लामो समय नै चलेर अन्ततः पुनर्निर्माण कार्य सम्पन्न भयो ।
पुनर्निर्माण कार्यसँगै उठेका पुरातत्वसम्बन्धी प्रश्नहरूको जवाफ अन्यत्रका लागि शिक्षाप्रद हुन्छ । काँक्रेविहार मौलिक रूपमा कस्तो देखिन्थ्यो र कुन वास्तु संरचनामा बनेको भन्ने कुराको कुनै प्रमाण नपाइए पनि जग तथा प्राप्त ढुंगा र अन्यत्र पाइने शैलीको आधारमा शिखर शैलीको हुनुपर्ने अनुमान हुन्छ । यत्तिकै आधारमा एउटा काल्पनिक मन्दिरको स्केच तयार पारी त्यहीअनुसार पुनर्निर्माण कार्य सुरु गरिएको हो । वास्तवमा पुरातात्विक भग्नावशेषको प्राप्तिपछि त्यस क्षेत्रमा पुनर्निर्माण कार्य गरिहाल्ने चलन छैन ।
गौतम बुद्धसँग सम्बन्धित लुम्बिनी, बोधगया, सारनाथ, श्रावस्ती, वैशाली, कुशीनगर आदिको प्राप्ति ठूलै उपलब्धि हो । ती क्षेत्र मात्रै नभएर नालन्दा लगायतका सयौं पुरातात्विक स्थलमा पुनर्निर्माण कार्य नहुनुको कारण तत्कालीन ब्रिटिश सरकार तथा वर्तमान भारतीय सरकारसँग बजेट नभएर होइन । लुम्बिनीमा पनि पुनर्निमाण नभएर संरक्षण कार्य मात्रै भएको छ । यी स्थलहरूमा पुनर्निर्माण कार्य थाल्नुको अर्थ हो, त्यसको ऐतिहासिकता र पुरातात्विक महत्व नासिनु । काँक्रेविहारमा यही ऐतिहासिकता र पुरातात्विक महत्व मास्ने काम विधिपूर्वक भएको छ ।
मौलिक नक्सा वा आकार प्रकारका बारेमा कुनै जानकारी प्राप्त नभएको अवस्थामा काँक्रेविहार जस्तो रूपमा प्राप्त भएको थियो त्यस्तै रूपमा संरक्षण गरेको भए त्यसको आधिकारिकता जीवन्त रहन्थ्यो । भविष्यमा अध्ययन गर्ने अध्येतालाई सहज पनि हुन्थ्यो । मन्दिर कसैले भत्काएको वा भूकम्पले ढलेको हुनसक्ने अनुमान छ । यसबारे अझ थप जानकारी प्राप्त हुने संभावना थियो ।
भग्नावशेषहरूलाई यथास्थानमा संरक्षण गरी आगन्तुकलाई सोही दृष्य अवलोकन गराउनु इतिहाससँग सम्बन्धित विषय हुन्थ्यो तर अहिले पुराना र नयाँ अवयव जोडजाड पारेर नयाँ निर्माणको वास्तु संरचना मात्रै तयार भएको छ । इतिहास, संस्कृति, पुरातत्व तथा कलाका अध्येतालाई काँक्रेविहार निल्नु न ओकल्नुको द्विविधामा पारेको छ, अन्यलाई रमाइलो मात्रै । काँक्रेविहारको पुनर्निर्माणका क्रममा भएको अर्को नाकाम हो, यसमा रहेका पुराना मूर्तिकलालाई कुरूप बनाउनु । काँक्रेविहारमा रहेका पुरातात्विक भग्नावशेषहरूको महत्व भन्नु यसमा कुँदिएका बौद्ध कलाकृतिहरू पनि हुन् ।
यसैको आधारमा पनि तत्कालीन कलाशिल्पको अध्ययन गर्न सकिन्थ्यो । टुटेफुटेका मूर्तिहरू नै सही, कला अन्वेषकलाई त्यसले जति सघाउने हुन्छ, नयाँ निर्मित मूर्तिहरूले सघाउनुको सट्टा अलमल्याउने हुन्छ । अहिले टुटफुट भएका मूर्तिहरूमा ढुंगाको धुलो जमाएर टाँस्ने प्रविधि प्रयोग गरी मूर्तिलाई आकार दिन खोजिएको छ, तर भद्दा देखिन्छ । मौलिकता समेत हराएको छ । यो विधिको प्रयोग मौलिक मूर्तिको प्रतिकृति प्राप्त भएको अवस्थामा मात्रै सार्थक हुन्छ र यसका लागि दक्ष जनशक्तिको दरकार पर्दथ्यो तर पुरातत्व विभाग यसतर्फ पूर्णतः उदासीन रहेको पाइयो ।
काँक्रेविहार सुर्खेत उपत्यकाको एउटा पर्यटकीय आकर्षणको स्थल भएको छ र केही वर्षदेखि यहाँ प्रवेश शुल्क उठाएर आम्दानीको स्रोत पनि बनाएको छ । कतिपयलाई लाग्दो हो, इतिहास, संस्कृति, पुरातत्व तथा सभ्यताको संरक्षण यसरी हुन्छ तर ‘यसरी हुँदैन’ भन्ने शिक्षा दिने उपयुक्त उदाहरण पनि यही भएको छ । इतिहास, संस्कृति, पुरातत्व तथा कलाका विद्यार्थीले काँक्रेविहारको अवलोकनमा आउँदा हुन्छ, तर यहाँबाट सिकेर जाने पाठ भनेको यस्तो गल्ती अन्यत्र गर्नु हुँदैन भन्ने हो ।
आइएनएस–स्वतन्त्र समाचार
बसन्त महर्जन ।