सूचनाको शक्ति - The Power Of Information

        

भयावह बन्दै लागूऔषध तस्करी

‘ट्रान्जिट प्वाइन्ट’ कञ्चनपुर : चरेसबाट ब्राउनसुगरमा फड्को

लागूऔषधको कारोबार र सेवनमात्रै नभई त्यसको ‘ओभरडोज’ले ज्यानै गुमाएका घटनाले अभिभावकलाई भयभीत बनाएको छ ।

केही वर्षअघिसम्म चरेस तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’का रुपमा चिनिएको कञ्चनपुर जिल्ला अचेल ब्राउनसुगर (खैरो हेरोइन) कारोबारको अखडा बन्दै गएको छ । ब्राउनसुगरका तस्कर, कारोबारी र प्रयोगकर्ताको जालो नै सीमान्त जिल्लाभरी फैलिएको पछिल्ला घटनाक्रम र तथ्याङ्कले उजागर गरेको छ ।

तस्कर, कारोबारी र सेवनकर्ता दिनैपिच्छे प्रहरीले समात्नुले लागूऔषधको जालोमा युवापिढी फस्दै गएका र यसले विकराल रूप लिँदै गएकोसमेत पुष्टि गरेको छ । साउन ५ गते कञ्चनपुरको दक्षिणपूर्वी पुर्नबास नगरपालिका–११ अमरबस्तीमा तीनजना भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ परे । भारतबाट नेपाल आउँदै गरेका उनीबाट ७८ दशमलव ३७ ग्राम खैरो हेरोइन बरामद गर्यो ।

उक्त परिणाम अहिलेसम्मकै धेरै भएको प्रहरीको दाबी छ । तीन वर्षअघि एक वर्षको अवधीमा प्रहरीले ६३ ग्राममात्रै खैरो हेरोइन बरामद गरेको तथ्याङ्क छ । पुर्नबास भारतसँग सीमावर्ती नगरपालिका हो । त्यस्तै साउन १२ गते शुक्लाफाँटा नगरपालिका–११ का राकेश रावललाई नौ दशमलव ३१ ग्राम खैरो हेरोइनसहित बेलौरी नगरपालिका–६ मसान घाटमा इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लियो ।

रावल पक्राउ परेलगत्तै थप दुई जना प्रयोगकर्तालाई रावलले दिएको सूचनाका आधारमा लालझाडी गाउँपालिका–६ चान्देवबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । लागूऔषधको कारोबार र सेवनमात्रै नभई त्यसको ‘ओभरडोज’ले ज्यानै गुमाएका घटनाले अभिभावकलाई भयभीत बनाएको छ । गत वैशाखयता भीमदत्त नगरपालिकामा दुई जना २०–२२ बर्ष उमेरका युवकले लागूऔषधको ‘ओभरडोज’का कारण ज्यान गुमाइसकेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा भनिएको छ ।

दुबै जनाको भिसेरा रिर्पोट आउन बाँकी छ । यिमध्ये एकको जापानको भिसा लागिसकेको थियो । माथि उल्लेखित लागूऔषधका कारण भएका उदाहरण घटनामात्रै हुन् । केही बर्षयता लागूपदार्थ प्रयोगकर्तामा पनि ब्राउन सुगरले युवापिढीलाई गाँजेको प्रहरी तथ्याङ्कले देखाउँछ । विश्वव्यापी कोरोनाको महामारी यता प्रहरीको सक्रियतामा यस्ता क्रियाकलापका घटना बढी सार्वजनिक भएका छन् ।

यस्तो छ तथ्याङ्कगत वस्तुस्थिति

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याकं हेर्दा पछिल्ला दुई आर्थिक वर्षमा लागूऔषधका मुद्दा अकासिएका छन् । चार वर्ष यताको लागूऔषधका मुद्दा हेर्दा आर्थिक वर्ष ०७५–०७६ मा ४६ र आव ०७६–०७७ मा ५५ मुद्दा मात्रै दर्ता भएका थिए । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार यी दुई आवको तुलनामा यसपछिका दुई आवमा भने लागूऔषधका मुद्दा करिब तेब्बर बढी भएका छन् ।

आव ०७७–०७८ मसान्तसम्म १४१ र ०७८–०७८ मा १४३ मुद्दा लागूऔषधका दर्ता भएको जिप्रकाको तथ्याङ्कमा उल्लेख गरिएको छ । मुद्दा दर्तासँगै लागूऔषधमा पक्राउ पर्ने व्यक्तिको संख्या पनि पछिल्ला दुई बर्षमा बढी छ । आव ०७७–०७८ मा २३० जना पक्राउ परेका छन् । अघिल्लो आर्थिक वर्षभन्दा पक्राउ पर्नेको संख्या पनि करिब तीन गुणा बढी छ । आव ०७६–०७७ मा ८७ जना पक्राउ परेका थिए ।

यस्तै त्यसको एक वर्षअघि आव ०७५–०७६ मा ७२ जना पक्राउ परेको जिप्रकाको तथ्याङ्कमा उल्लेख छ । पक्राउ पर्नेमा महिला पनि छन् । प्रहरीले लागूऔषधसहित पक्राउ गरेका व्यक्तिको सङ्ख्यालाई हेर्दा लुकिछिपी सेवन र कारोबार गर्नेको संख्या अनुमान गर्न सहज छैन । मुद्दा दर्ता र पक्राउ पर्नेको संख्यामात्रै बढी नभएर प्रहरीले बरामद गरेको लागूऔषध ब्राउन सुगरको मात्रा पनि अत्यधिक रहेको छ ।

आव ०७७–०७८ मा प्रहरीले आठ सय ३९ ग्राम ब्राउन सुगर नियन्त्रणमा लिएको थियो । प्रहरीले समातेको ब्राउन सुगरको मात्रा त्यसअघिका दुई बर्षको तुलनामा कयौं गुणा बढी हो । आव ०७५–०७६ मा २३ ग्राम र आव ०७६–०७७ मा ६३ ग्राममात्रै रहेको थियो । गत आवमा भने बरामद गरिएको ब्राउन सुगरको मात्रा केही कम देखिएको छ । आव ०७८–०७९ मा प्रहरीले ५८० ग्रामभन्दा बढी ब्राउन सुगर बरामद गरिएको छ ।

बढ्दैछ प्रहरीको सक्रियता

प्रहरीले बरामद गरेको तथ्याङ्क वर्षेनी तलमाथि भए पनि ब्राउन सुगर व्यापार र प्रयोगकर्ता दिनानुदिन बढ्दै गएको प्रहरी अधिकारीहरूको भनाई छ । जिप्रका कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब निरीक्षक चक्रबहादुर शाह पछिल्लो समयमा धमाधम ब्राउन सुगरसहित व्यक्ति पक्राउ पर्नुले यसका प्रयोगकर्ताको संख्या जिल्लामा धेरै रहेको बताउँछन् ।

‘यहाँ ड्रग्स युजर धेरै फेला पर्न थालेका छन् । त्यसका आधारमा लागूऔषध सेवनकर्ताको वास्तविक संख्या धेरै रहेको अनुमान गर्न सकिन्छ,’ कञ्चनपुर प्रहरी प्रवक्ता शाहले भने, ‘प्रहरीको सक्रियता पनि अहिले लागूऔषधमै बढी केन्द्रित रहेको छ । जसको प्रतिफल यति धेरै सङ्ख्यामा लागूऔषध र प्रयोगकर्ता पक्राउ पर्नु हो ।’

प्रहरीका अनुसार खुला सीमानाका भएका कारण भारतबाट ब्राउन सुगर नेपाल भित्रिने गरेको छ । यसका प्रयोगकर्ता र कारोबारी सीमा पारीका तस्करको सम्पर्कमा रहने गरेका हुन्छन् । बेलामौका हेरेर सीमामै लेनदेन हुने गरेको पाइएको छ । भारतीय तस्करले सीमामै लेनदेन गरी फर्कने गरेका कारण मुख्य तस्कर समात्न गाह्रो भएको प्रहरीको भनाई छ ।

प्रहरी प्रवक्ता शाहले ब्राउनसुगर जिल्लामा भित्रिँदै गरेको जानकारीका आधारमा प्रहरी सक्रिय भई लाग्ने गरेको बताउँछन् । ‘हामीले सूचना र शङ्काको आधारमा केही व्यक्ति मात्रै समात्न सकेका छौं । यसको जालो नै छ । प्रहरीमात्र नभई अभिभावकका लागि पनि यो ठुलो चुनौतीका रुपमा रहेको छ ।’ लागूऔषध सेवन र यसको बेचबिखनमा युवा पिढी नै बढी छन् ।

प्रहरी प्रवक्ता शाहले भने, ‘किशोरावस्थादेखि ३५–४० वर्षसम्मका युवा बढी सक्रिय छन् ।’ प्रयोगकर्ता मध्येकै कहिले यसको व्यापार पनि गर्ने गरेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार भारतीय तस्करबाट ल्याएको ब्राउनसुगर केहिमात्रा आफूले प्रयोग गर्ने र केही बिक्री गर्ने गरेको पाइएको छ । क्रेताबाट आएको मुनाफालाई उनीहरूले फेरि ब्राउन सुगर खरिदमै लगाउने गरेका छन् ।

लागूऔषध सेवन गर्नेमा धनि गरिब सबै वर्गका रहेको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता शाहले लागूऔषध नियन्त्रणमा प्रहरी सक्रिय रहेको जानकारी गराउँदै भने, ‘यो प्रहरीले मात्रै पक्राउ गरेर, मुद्दा चलाएर, अदालतले जेल सजाए गरेर समाधान हुन सम्भव छैन । त्यसका लागि मुख्यतया अभिभावकले आफ्ना बालबालिकाप्रति बढी ध्यान र चासो राख्नुपर्ने देखिन्छ । अभिभावकको निगरानी आवश्यक छ । किनभने यसमा फसे भविष्यनै बर्बाद हुने अवस्था छ ।’

पछिल्लो समयमा एकल परिवारको अवधारणासँगै युवामा पीढीमा एक्लोपना र स्वतन्त्रता पनि लागूऔषध सेवनतर्फ लाग्नुका कारणहरूमध्ये एक भएको प्रहरी प्रवक्ता शाहले औँल्याउँदै भने, ‘अहिले संयुक्त परिवार बिरलै भेटिन्छन् । आमाबुबा जागिरमा हुन्छन् वा वैदेशिक रोजगारीमा गएको अवस्था छ । घरमा एक्लोपनाले बाहिर बढी निस्कन थाल्छन् ।’

उनका अनुसार घरबाहिर साथीभाइसँग देखासिकी रमाइलोको नाममा लागूऔषधको लतमा फसिसकेपछि मात्रै परिवारले थाहा पाउने गरेको छन् । अभिभावहरूले त्यसो हुन नदिन आफ्ना बालबालिकाका गतिविधि र साथी सङ्गतकै निगरानी गर्नु आवश्यक भएको उनको सुझाव छ । महेन्द्रनगरका धुमपान अभियन्ता तथा समाजसेवी मदन चन्द लागूऔषधले युवापिढीको भविष्य र परिवारलाई भताभुंग गरेको बताए ।

उनी भन्छन्, ‘यस्ता कुलतमा फसेका युवालाई सुध्रिने अवसर दिनुपर्छ । त्यसका लागि ‘रिह्याभ सेन्टर’ आवश्यक छन् । यसका लागि स्थानीय र प्रदेश सरकारले आवश्यक पहल थाल्नुपर्ने देखिन्छ ।’ लागूऔषध सेवन गर्नु अपराध नभएर एक रोगजस्तै भएको बताउँदै कारबाही सँगसँगै उनीहरूको पुनःस्थापनाको पनि अहम् भएको जिकिर गर्छन् ।

कानुनी प्रावधान

लागूऔषधमा फसेका बढी युवापिढी नै छन् । पक्राउपछि कैद सजाय भएमा उनीहरूको गरिखाने उमेर जेलमै बित्ने देखिन्छ । लागूऔषधमा २५ ग्रामसम्म पाँचदेखि १० वर्ष कैद र पाँच हजारदेखि २५ हजारसम्म जरिवाना तोकिएको छ ।

यस्तै, २५ ग्रामदेखि सय ग्रामसम्म १० देखि १५ वर्ष कैद र ७५ हजारदेखि दुई लाखसम्म जरिवाना र सय ग्रामभन्दा माथि १५ वर्षदेखि आजीवन कैद र पाँचलाखदेखि २५ लाख जरिवाना हुने कानुनी व्यवस्था छ । यसैगरी सेवनकर्ताको हकमा एक ग्रामसम्म फेलापरेमा एक बर्ष कैद वा दश हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।

चरेसको अवैध कारोबार पनि उस्तै

ब्राउन सुगरसँगै चरेस अघिल्लो आवको तुलनामा गत आवमा बढी मात्रामा बरामद भएको छ । प्रहरीले ०७७–०७८ मा १ किलो ५५१ ग्राम चरेस बरामद गरेको थियो भने त्यसको एक वर्षपछि गत आव अर्थात ०७८–०७९ को अवधीमा कञ्चनपुर प्रहरी ठुलो मात्रामा चरेस समातेको थियो । प्रहरीले ३३ किलो ९८५ ग्राम बढी चरेस नियन्त्रणमा लिएको छ ।

तीन वर्षअघि आव ०७६–०७७ मा पनि २१ किलो चरेस बरामद गरेको जिप्रकाको तथ्याङ्कमा उल्लेख छ । लागूऔषधका मुद्दामा प्रहरीले आव ०७६–०७७ मा ५५ मुद्दामा ८७ जना, आव ०७७–०७८ मा १४१ मुद्दामा २३० जना र आव ०७८–०७९ मा १४३ मुद्दामा २३९ जना पक्राउ गरेको जिप्रकाले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख भए अनुसार ब्राउनसुगर, चरेस, अफिमसँग नसा गर्न प्रयोग गरिने औषधीजन्य पदार्थ पनि प्रहरीले ठुलो मात्रामा बेलाबखत बरामद गर्दै आएको छ । जसमा नाइट्राभेट, फेनारगन, स्पामो, नाइट्राजेपाम बढी रहेका छन् ।

 

आइएनएस–स्वतन्त्र समाचार

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार १७:००