सूचनाको शक्ति - The Power Of Information

        

मन्त्रिपरिषद्को बैठक

मङ्सिर ४ मा प्रदेश र संघको निर्वाचन गर्ने सरकारको निर्णय

प्रहरीले थाल्यो निर्वाचनको सुरक्षा तयारी

नेपाल सरकारले अगामी मङ्सिर ४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सहरी विकास मन्त्री मेटमणि चौधरीले जानकारी दिए ।

सरकारले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको हो । यसअघि गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिपरिषद्को बैठकमा चुनावको मिति घोषणा गर्ने प्रस्ताव लगेको जानकारी दिएका थिए । बुधबार साँझ सत्तारुढ गठबन्धनको बैठकको चुनावको मितिबारे सहमति गरेको थियो ।

प्रहरीले थाल्यो निर्वाचनको सुरक्षा तयारी

सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै नेपाल प्रहरीले सुरक्षा तयारी थालेको छ । केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन, २०८९ विशेष सुरक्षा कार्ययोजना बनाउन थालिएको हो ।

आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले अगामी मंसिर ४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । सरकारले निर्वाचनको मिति घोषणा गरेलगत्तै प्रहरीले सुरक्षा तयारी थालेको हो ।

निर्वाचन सुरक्षामा कुनै त्रुटि हुन नदिने प्रवक्ता राईले बताए । उनले भने, ‘विगतमा एकैचरणमा भएको स्थानीय तह निर्वाचन पनि शान्तिपूर्ण, भयरहीत र निष्पक्ष तवरमा प्रहरीले सम्पन्न गराएको हो, यसपालि पनि सुरक्षामा कुनै त्रुटि रहँदैन ।’

उनका अनुसार स्थानीय तहको निर्वाचनमा छिटपुट घटना भए पनि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कुनै अप्रिय घटना हुन नदिने गरी सुरक्षा व्यवस्थापन मिलाइनेछ । प्रहरीले निर्वाचन सुरक्षा तयारीका लागि कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सहकुलबहादुर थापाको नेतृत्व सेल बनाउने तयारी गरिरहेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार १५:५१