नागरिकलाई सहजरुपमा सेवा प्रदान गर्न सरकारी कार्यालय सञ्चालन गरिएका हुन्छन् । नागरिक पनि सरकारी कार्यालयमा सेवा लिनका लागि गइरहेका हुन्छन् । कतिपय आफ्नो फाइदाका लागि गएका हुन्छन् भने कतिपय नागरिक बाध्यताले सरकारी कार्यालय पुगेका हुन्छन् । नागरिकको बाध्यताको फाइदा सरकारी कर्मचारी र सरकारी कार्यालयमा रहेका लेखनदास तथा दलालीहरुले उठाइरहेका छन् । गाउँबाट आउने सोझासाझा र अशिक्षित नागरिक सरकारी सेवा लिनका लागि सदरमुकाममा आउँछन् । सहरका नागरिक पनि सरकारी काम लिन सरकारी कार्यालय धाउँछन् ।
गाउँबाट काम लिएर सरकारी कार्यालयमा आएका नागरिकलाई कुन कोठा, कसरी, कसले सेवा प्रवाह गरिरहेको छ, कहाँ कुन सेवा प्राप्त गर्न सकिन्छ भन्ने जस्ता कुराहरु थाहा हुँदैन । गाउँबाट काम लिएर आएका नागरिकको कतिको खुट्टामा चप्पल हुँदैन भने कतिले लगाएका कपडा थोत्रा वा चातिएका हुन्छन् । गाउँका नागरिकलाई झुटो कुरा बोल्न आउँदैन, भने उनीहरु इमान्दार र असल पनि हुन्छन् । त्यही अशिक्षित, इमान्दारी, गरिबी बोकेका नागरिकको फाइदा लेखनदास र दलालीले उठाइरहेका हुन्छन् । दलालीहरुले उनीहरुलाई झुक्याएर रकम असुल्ने जस्ता घृणित काम गरिरहेका हुन्छन् ।
यसरी सोझा नागरिकसँग महंगो पैसा लिएर दलालीले काम गरी ठग्ने गर्छन् । जतिसुकै शिक्षित नागरिक भए पनि सरकारी कार्यालयमा काम लिएर जाँदा ऊ अन्योलमा पर्छ । शिक्षित नागरिकलाई पनि सरकारी कार्यालयमा गएपछि कुन कोठा के काम हुन्छ र कसरी हुन्छ भनेर थाहा हुँदैन । सरकारी कार्यालयमा सरकारले निर्धारण गरेको राजस्व तिरेर काम लिएर जाँदा हाकिमले काम गर्न नपरोस् भनेर विभिन्न बहाना बनाउने वा समस्या देखाउने गर्छन् । तर दलाली वा लेखनदासलाई मागेजति पैसा दिनेबित्तिकै त्यो काम फटाफट भएर आउँछ । यसले पनि सरकारी कार्यालयमा घुसबिना कुनै काम हुँदैन भन्ने प्रष्ट हुन्छ ।
सरकारी कर्मचारीहरु नागरिकले तिरेको करबाट तलबभत्ता, पेन्सन खान्छन्, तर घुस नखाइ नागरिकको काम गर्दैनन् । सरकारी कर्मचारी र लेखनदासको मिलोमत्तोमा नागरिकले राज्यबाट पाउनुपर्ने सेवासुविधा छिटोछरितो नहुने, राज्यले तोकेको राजस्व तिरेर मात्रै काम नहुने र सरकारले तोकेको राजस्वसँगै उल्टो घुस पनि दिनुपर्ने हुन्छ । लेखनदास र सरकारी कर्मचारीहरु आफ्नो फाइदाका लागि नागरिकलाई ठग्ने, लुट्ने गर्दछन् । वर्षैपिच्छेसरकारी कर्मचारीको तलब बढिरहेको छ, तर कर्मचारीहरु घुस नखाएर कुनै काम गर्दैनन् । अहिले नागरिक सरकारी कर्मचारीलाई घृणा गर्दै उनीहरुलाई घुस्याहा भन्ने गर्छन् ।
सरकारी कर्मचारीहरु नागरिकले तिरेको करबाट तलबभत्ता, पेन्सिन र सरकारी गाडी चढ्छन्, तर पनि नागरिकको काम र घुस खान भने कहिले छोड्दैनन् । विदेशी ऋण नेपाललाई बोकाउनु, देश बिगार्नु, देशमा विकास नगर्नु र भ्रष्टाचार अधिकतम बढ्नुमा पनि सबै सरकारी कर्मचारीकै हात छ । सरकारी कर्मचारीले जागिर खाएको पाँच वर्षमै काठमाडौंमा घरघडेरी किन्छन् र आफ्नो बालबच्चालाई महंगो विद्यालयमा पढाउँछन् । महिनाको २५ हजार तलब हुने कर्मचारीले महिनाको तीन लाखभन्दा बढी कमाइ हुने जस्तो घरखर्च गर्छ । भुपुवाला र बालवाला कर्मचारीको सरकारले सम्पत्ति छानबिन गर्ने हो भने यिनीहरुले भ्रष्टाचार गरेका सम्पूर्ण कालो धन बाहिर निस्कनेछ ।
प्रत्येक नेपाली नागरिकको टाउकोमा ७१ हजार विदेशी ऋण छ । नेपाल अहिले विदेशी ऋणमा चुलुम्ब डुबिसकेको छ । सरकारले सरकारी कर्मचारीलाई विदेशीसँग ऋण माग्दै तलबभत्ता दिइरहेको छ, तर विकास हेर्यो भने शुन्य छ । नागरिकले आफूले एकजोर चप्पल नलगाई, मिठो खानेकुरा नखाई, बालबच्चालाई राम्रो विघालयमा नपढाई राज्यलाई कर तिर्छन् । यसरी नागरिकले तिरेको करबाट सरकारी कर्मचारीले आफूलाई चाहिने सम्पूर्ण सेवासुविधा लिन्छन् । सरकारी कर्मचारी कर तिर्ने नागरिकलाई नै दुःख दिएर ठग्ने गर्छन् । यदि नेपाली नागरिकले सरकारलाई कर नतिर्ने हो भने सरकारी कर्मचारीले कहाँबाट तलबभत्ता र पेन्सन खान्छन् ।
सरकारी कर्मचारी कर तिर्ने नागरिकलाई नै राम्रो व्यवहार गर्दैनन् । नागरिकको कुनै पनि काम छिटोछरितो रुपमा गर्दैनन् । बिहानको १०ः१५ बाट ढिलो भएमा नेपालको कानूनमा त्यो दिन सरकारी कर्मचारीको हाजिर हुँदैन । तर सरकारी कर्मचारी १२ बजे कार्यालयमा पुगेर हाकिमलाई मुख देखाउँदै हाजिर लगाएर काम छ भन्दै घरतिर लाग्छन् । कति कर्मचारी हाजिर गरेपछि कार्यालयमै फेसबुक चलाएर, आफन्तसँग गफ छाटेर कार्यालयको छत वा क्यान्टिनमा बसेर कार्यालय समयलाई धकेलिरहेका हुन्छन् । कति कर्मचारी कुनै एक कोठामा भेला भएर गफ गरेर बस्छन् ।
एक महिनादेखि सरकारी कर्मचारी कार्यालयमा आएका हुँदैनन् । एक महिनाअघि वा पछि आएर पुरै महिनाको हाजिर गर्ने गर्छन् । यदि त्यहाँ कुनै सेवाकर्मी काम लिएर आयो भने त्यहाँको गार्डले भखरै यही हुनुहुन्थ्यो भनेर जवाफ दिन्छन् । कर्मचारी भने २–३ बजे नै घरतिर दौडिसकेका हुन्छन् । जाडो महिनामा हिटर तापेर बस्छन् र गर्मी महिनामा एसी खोलेर बस्छन् । एक महिनाअघि मात्र किनेको सामान बिग्रियो भनेर घर लैजाने र फेरि नागरिकले तिरेको करबाट नयाँ सामान ल्याउने गर्छन् । कार्यालयमा दैनिक रुपमा चाहिने सामानहरु एक हजारमा किनेमा १५ सयको बिल बनाउने र त्यहाँबाट पनि पैसा खाने गर्छन् । कार्यालयका पियनदेखि हाकिमसम्म व्यापारीसँग मिलेर कमिशन खाने गर्छन् ।
सरकारी कार्यालयमा मिटिङ् बस्दा २० जना मिटिङ्मा छन् भने ५० प्याकेट खाजा ल्याउने र बाँकी घरतिर लैजान्ने गर्छन् । सरकारी कर्मचारी नागरिक र राष्ट्रको हितमा काम नगर्ने आफ्नो पद दुरुपयोग गरेर सम्पत्ति कमाउने गर्छन् । सरकारी कर्मचारीलाई घुस खान र कार्यालयको सामान घरमा लैजान पनि केही लाज लाग्दैन । महानिर्देशक, सचिव वा कार्यालय प्रमुखले करारमा आफ्नो नागरिक राख्ने र त्यहीँ करारमा राखेका व्यक्तिबाट पनि फाइदा लिन्छन् । कुनै सरकारी कार्यालयमा कर्मचारी आवश्यक परेमा आफ्नै आफन्तलाई राख्ने र नागरिकका छोराछोरीलाई अघि बढ्न रोक लगाउँछन् । यता सरकारी कर्मचारी भन्छन्, ‘नेताले देश डुब्यो,’ नेता भन्छन्, ‘होइन सरकारी कर्मचारीले नै देश डुब्यो ।’
नेताले घुस खाएको पैसा त चुनावमा खर्च हुन्छ तर कर्मचारीले घुस खाएको पैसा त विदेशको बैंकमा हुन्छ र कतै खर्च हुँदैन । नगरिकले तिरेको कर सरकारी कर्मचारीलाई पेन्सिन र तलबभत्ता खुवाउँदै सिधिन्छ । देशमा विकास गर्न सरकारसँग बजेट नभएर विदेशीसँग हात थापनुपर्छ, नेपालमा रोजगारी नभएर हजारौं नेपाली नागरिक विदेशीनु परिरहेको छ । बाहिरी मुलुकमा गएका नेपाली नागरिकले रेमिट्यान्स नपठाउने हो भने देश चल्दैन । तर सरकारी कार्यालयमा लेखनदास र दलालीहरुले सरकारी कर्मचारीलाई हातमा लिएर नागरिकसँग मनलाग्दो रकम असुली गर्दा पनि सरकार पक्षबाट अनुगमन हुँदैन ।
सरकारी कार्यालयको छेउछाउमा पसल राख्ने व्यापारीले पनि महंगो पैसा लिएर नागरिकलाई ठगीरहेका छन् । सरकारी कर्मचारीले पैसा नखाई नागरिकको काम गर्दैनन् । सरकारी कार्यालयमा भएका फाइल वा डकुमेन्टहरु सरकारी कार्यालयमा भेटिँदैन, ती फाइलहरु लेखनदास र दलालीहरुको घर तथा झोलामा भेटिन्छन् । नेपालको कानूनमा सरकारी कार्यालयको फाइल तथा डकुमेन्टहरु कुनै पनि व्यक्तिले लैजान पाउँदैन । तर लेखनदास र दलालीहरुले सरकारी फाइल तथा डकुमेन्टहरु आफ्नो घर वा झोलामा बोकेर हिँड्दा यसको अनुगमन किन हुँदैन । अहिले भएका सरकारी कर्मचारीले नागरिकलाई छिटोछरितो रुपमा सेवा दिँदैनन् र थोरै तलबमा पनि काम गर्दैनन् ।
राजनीतिक दलको झोला बोकेर सरकारी कर्मचारी आन्दोलन गर्छन् । देशमा पटकपटक राजनिति परिर्वतन भए पनि सरकारी कर्मचारीको व्यवहारमा परिर्वतन भएन । सरकारी कर्मचारीबाट नागरिकले छिटोछरितो रुपमा कहिले काम पाएनन् । यसरी नागरिकको काम छिटोछरितो गर्न नसक्ने कर्मचारीलाई सरकारले हटाउन पनि सकेन । ‘सरकारी काम कहिले जाला घाम,’ ‘दिन कटाउने मानो चटाउने’ भनेजस्तै गरी सरकारी कर्मचारीको व्यवहारमा जस्ताको तस्तै छ । सरकारले अहिले भएका सबै सरकारी कर्मचारीलाई हटाएर र पेन्सन सुविधा पनि बन्द गरेर, आधा तलबमा काम गर्ने नयाँ जनशक्तिलाई अवसर दिनुपर्छ । शिक्षित भएका नागरिकका छोराछोरीले घुस खान्न, गाडी चढ्दिन, नागरिकको काम छिटो गर्छु र सरकारी कर्मचारीले पाएको आधा तलबमै काम गर्छुभन्दा पनि ठाउँ पाउँदैनन् ।
भएका सरकारी कर्मचारीहले नागरिकलाई सेवासुविधा दिँदैनन् र नयाँ कर्मचारी पनि आउन दिँदैनन् । कि अब सरकारी कर्मचारीले आ–आफ्नो पद छोड्नुपर्यो होइन भने नागरिकको काम छिटोछरितो रुपमा गर्नुपर्यो । कानूनमा सरकारी कर्मचारीले आन्दोलन गर्न वा राजनीतिक दलको सदस्य लिन पाइँदैन, यहाँ सरकारी कर्मचारीले आन्दोलन र राजनीतिक दल दुवैको सहायता लिन्छन्, तर पनि कारबाही हुँदैन । सरकारी कर्मचारी बास्तवमै कर्मचारी नै होइनन्, यी त राजनीतिक दलका कार्यकर्ता हुन् । कमाउनका लागि मात्रै लागि जागिर खाएका कर्मचारीले देश र नागरिकलाई बर्बाद गरे । बास्तवमै सरकारी कर्मचारी देश र नागरिकका लागि सेवक नभएर बिषालु सर्प हुन् । यस्ता बिषालु कर्मचारीबाट नागरिकले के आशा र अपेक्षा गर्ने ? सरकारी कर्मचारी कार्यालयमा भेटिँदैनन्, बरु राजनीतिक दलका पार्टी कार्यालय र नेताका घरमा भेटिन्छन् । सरकारी कर्मचारीले काम नगर्ने र भ्रष्टाचार गर्नुमा पनि पर्दाभित्र बसेर राजनीतिक दलका नेताहरुको ठुलो हात रहेको छ ।
रुषा थापा ।