सूचनाको शक्ति - The Power Of Information

        

इन्जिनमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज नेपालगन्जमा आकस्मिक अवतरण

श्री एयरलाइन्सको विमान नेपालगन्जमा आकस्मिक अवतरण गराइएको छ । उडेको केहीबेरमा विमानको शौचालयमा धुँवा उडेको इन्डिकेटरले देखाएपछि १० किलोमिटर पर पुगेको विमान नेपालगन्जमै आकस्मिक अवतरण गरिएको हो ।

नेपालगन्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगन्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको श्री एयरलाइन्स नेपालगन्जका स्टेशन इन्चार्ज परशुराम चौधरीले जानकारी दिएका छन् ।

बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा नेपालगन्ज विमानस्थलबाट काठमाडौंका लागि उडेको विमानको शौचालयमा धुवाँ देखिएपछि ९ बजेर ५६ मिनेटमै नेपालगन्ज विमानस्थलमै आकस्मिक अवतरण गराइएको इन्चार्ज चौधरीले जानकारी दिए ।

विमानमा चालक दलका सदस्यसहित ७९ जना सवार थिए । यात्रु सकुशल सबै रहेका छन् । श्री एयरका प्रवक्ता अनिल मानन्धरले जहाजमा प्राविधिक समस्या देखिएपछि अवतरण गर्नुपरेको बताए । उनले अहिले चेकजाँच भइरहेको बताए ।

‘जहाजमा के प्राविधिक समस्या आएको हो । काठमाडौंबाट प्राविधिक जाँदैछन्,’ प्रवक्ता मानन्धरले भने, ‘त्यहाँको यात्रुलाई अर्को जहाजबाट ल्याउने व्यवस्था मिलाउँछौँ ।’

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार ११:४७