सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा भ्रष्टाचारविरुद्ध कालोपट्टी बाधेर विरोध प्रदर्शन

भ्रष्टाचार नियन्त्रणको माग गर्दै राप्रपाको युवा संगठनलगायत भातृ संगठनले संयुक्तरुपमा बाँकेको नेपालगन्जमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् ।

उनीहरुले बुधबारदेखि सुरु गरेको दोश्रो चरणको संघर्षको कार्यक्रमहरु साउन ३१ गतेसम्म जारी रहने छ । आफ्ना माग पूरा गराउन राप्रपा यतिबेला दोस्रो चरणको संघर्षमा होमिएको छ ।

यसअघि राप्रपाले असार १३ देखि ३१ गतेसम्म पहिलो चरणको संघर्ष गरेको थियो । साउन ११ देखि ३१ गतेसम्म दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको राप्रपाले भदौमा काठमाडौँ केन्द्रित आन्दोलन गर्ने तयारीमा रहेको जानकारी दिएको छ ।

२०४७ पछिका उच्चपदस्थको सम्पत्ति छानबिनको माग राखेको राप्रपाले भ्रष्टाचारको मुद्दामा कठोर बन्दै आएको छ । राप्रपाले गत असार १ गते विभिन्न २२ सुत्रीय माग राखेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाइ सकेको छ ।

हिन्दूराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, राष्ट्र प्रमुखको रुपमा राजा, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था, आगामी प्रदेश र संघको निर्वाचनलाई धाँधलीरहित र विश्वसनीय बनाउन निष्पक्ष चुनावी सरकार गठनलगायत महँगी, बेरोजगारी, किसान, मजदुरका समस्या समाधानका विभिन्न २२ सुत्रीय माग राखी राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार ०८:४०