सूचनाको शक्ति - The Power Of Information

        

समाचार

‘सुन चोर’लाई पक्राउ गर्न एक घण्टा विमान होल्ड

पक्राउ परेका व्यक्तिमाथि भारतको पञ्जाबमा एकजना साहुको घरबाट सुन चोरेको आरोप छ ।

काठमाडौंबाट मुम्बई जाँदै गरेका एक जना ‘सुन चोर’लाई त्रिभुवन विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट भारतको मुम्बई उड्न लागेको नेपाल वायुसेवा निगमको जहाज रोकेर प्रहरीको विशेष ब्यूरोले सुन चोरीमा संलग्न आरोपीलाई पक्राउ गरेको छ ।

प्रहरीले दिएको जानकारीअनुसार उनी धनगढीका सुन व्यवसायी हुन् । पक्राउ परेका व्यक्ति धनगढीका सुन व्यवसायी सन्तोष लामिछाने भएको प्रहरीले पुष्टी गरेको छ । आतंकवादमा संलग्न व्यक्ति मुम्बई उड्न लागेको भन्दै विशेष ब्यूरोको सूचनाको आधारमा विमानस्थल प्रहरीले जहाज रोकेको थियो ।

तर, उनी आतंकवादी नभएर सुन चोरीमा संलग्न व्यक्ति भएको खुलासा भएको हो । विमानस्थलबाट कैलाली घर भएका सन्तोष लामिछानेलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता टेकप्रसाद राईले बताए । लामिछाने आतंकवादमा संलग्न व्यक्ति भने होइनन् । पक्राउ परेका व्यक्तिमाथि भारतको पञ्जाबमा एकजना साहुको घरबाट सुन चोरेको आरोप छ ।

बित्थामा ‘सुन चोर’ समात्न प्रहरीले एक घण्टा जहाज होल्ड गरेको छ । भारतको मुम्बई जान लागेको वायुसेवाको विमान चेकजाँचका कारण एक घण्टा रोकिएको त्रिभुवन विमानस्थल नागरिक उड्यन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले बताए । विशेष ब्यूरोको एउटा टोली कैलालीमा सुन चोरीको अनुसन्धानका लागि गएको छ ।

सो टोलीले भारतमा सुन चोरेर आएका लामिछाने मुम्बई उड्न लागेको सूचना दिएको एकजना उच्च प्रहरी अधिकारीले बताए । विशेष ब्यूरोले आतंकवाद सम्बन्धी गतिविधि र नक्कली नोटबारे अनुसन्धान गर्दै आएको छ । तर, पछिल्लो समय ‘सुन चोरी’ पनि अनुसन्धान गर्न थालेपछि प्रहरी अधिकारीहरु नै आश्चर्यमा परेका छन् । विशेष ब्यूरोका प्रमुख डीआइजी अशोक सिंह हुन् । सुन चोरीमा संलग्न आरोपीलाई पक्राउ गर्न उनी आफैं विमानस्थल पुगेका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार १६:४०