सूचनाको शक्ति - The Power Of Information

        

‘इन्धनमा ५० लाख खर्च भएको छैन’

पूर्व जनप्रतिनिधि भन्छन्, ‘गाउँपालिकामा भ्रष्टाचार भएको छैन ।’ कार्यकारी अधिकृत भन्छिन्, ‘मेरो चरित्र हत्या भयो ।’

  • पूर्व जनप्रतिनिधि भन्छन्, ‘गाउँपालिकामा भ्रष्टाचार भएको छैन ।’

  • कार्यकारी अधिकृत भन्छिन्, ‘तथ्यहिन समाचारले मेरो चरित्र हत्या भयो ।’

पर्साको बिन्दबासिनी गाउँपालिकामा भ्रष्टाचार नभएको पूर्व जनप्रतिनिधिहरुले ठोकुवा गरेका छन् । गाउँपालिकाका तत्कालिन प्रमूख प्रशासकीय अधिकृत मुन्ना रौनियारको पालामा भ्रष्टाचार भएको समाचार आएपछि आफूहरुको ध्यान गएको भन्दै पूर्व जनप्रतिनिधिहरुले भ्रष्टाचार नभएको बताएका छन् ।

आफ्नो पालामा कहीँकतै पनि भ्रष्टाचार नभएको उनको दावी छ । अधिकृत रौनियारले पूर्व जनप्रतिनधिको नेतृत्वमा गाउँपालिकामा उल्लेखनीय र सह्रानीय काम भएको समेत बताए । सत्य र तथ्यबिनाको मनगढन्ते समाचारले आफ्नो चरित्र हत्या गर्न खोजिएको प्रमुख प्रशासकीय अधिकृत रौनियारले दुखेसो पोखेका छन् ।

यता गाउँपालिकाको तथ्याङ्कअनुसार इन्धनमा ३१ लाख रकम विनियोजन भएकोमा ३० लाख २४ हजार १०४ रुपैयाँ खर्च देखिएको छ । नेपाल सरकारको मापदण्ड अनुसार नै इन्धन रकम खर्च भएको गाउँपालिकाको तथ्याङ्क छ । केही दिनअघि इन्धनमा भ्रष्टाचार भएको, ५० लाख खर्च देखाएपछि आफ्नो ध्यान गएको अधिकृत रौनियार बताउँछन् ।

प्रमुख प्रशासकीय अधिकृत रौनियारले आफुले नगरेको कामलाई नै लिएर हचुवाको भरमा समाचार लेखेर केही सञ्चारमाध्यमले आफ्नो चरित्र हत्या गरेको प्रतिक्रिया दिएका छन् । ‘मैले गाउँपालिकामा हुँदा एक रुपैयाँ भ्रष्टचार गरेको छैन ।’ उनले सबैभन्दा धेरै इन्धन गाउँपालिकाको जेसिबी र एम्बुलेन्समा खर्च भएको दावी गरे ।

गाउँपालिकाले सार्वजनिक तथा विकासका काम गर्ने क्रममा जेसिबी चलाउँदा त्यसबापत भाडा नआउने भएकाले इन्धन खर्च बढी देखिएको बताए । साथै गाउँपालिका अन्तर्गतका बिरामीका लागि एम्बुलेन्सले न्यूनतम खर्चमा बिरामी ओसारपोसार गर्ने भएकोले एम्बुलेन्समा पनि इन्धन खर्च बढी देखिएको रौनियारको दावी छ ।

‘जेसिबी र एम्बुलेन्सको भाडाबाट ती साधनको मर्मत खर्च पनि नपुग्ने भएकोले इन्धन कहाँबाट पुर्याउने ?’ उनले प्रश्न गर्दै भने । उनले गाउँपालिका अन्तरगतका ७० जना कर्मचारी लगायत गाउँपालिकाका प्रमुख, उपप्रमुख लगायत वडाध्यक्षहरुलाई पनि तोकिए बमोजिम इन्धन दिनुपर्ने भएकाले पनि खर्च बढी देखिएको बताए ।

पत्रकारिता जस्तो मर्यादिन पेशालाई तथ्य र प्रमाणबिना अमर्यादित समाचार नलेख्न आग्रह गर्दै गल्ती गरेको भए तथ्य र प्रमाणसहित लेख्न पनि उनले अनुरोध गरेका छन् । गाउँपालिका अन्तर्गत पर्ने गर्दौलमा नयाँ सडक निर्माणमा गाउँपालिकाकै जेसिबी प्रयोग भएकोले पनि बढी इन्धन खर्च भएको पूर्व वडाध्यक्षहरु बताउँछन् ।

गाउँपालिकाकी पूर्व उपाध्यक्ष किरण देवीले पनि अधिकृत रौनियारले लाखौं भ्रष्टाचार गरेको समाचार विश्वसनीय नभएको जिकिर गरिन् । उनले आफुहरुको कार्यकालमा कहीँकतै भ्रष्टाचार नभएको र अधिकृत रौनियारलाई भ्रष्टाचार गर्न नदिएको बताइन् । ‘मैले उहाँको स्वभाव बुझेकी छु, चिनेकी छु, उहाँले भ्रष्टाचार गरेको कुरा निराधार हो ।’

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार १०:२८