साफ यु–२० च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल–बंगलादेशसँग बराबरीमा सकिएको छ ।
मंगलबार भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा भएको खेलमा नेपाल र बंगलादेशले १–१ गोलमा सकिएको हो ।
तनावपूर्ण खेलको ६३औं मिनेटमा पियास नोभास अहमदले गोल गरेर बंगलादेशलाई अग्रता दिलाएका थिए ।
तर, त्यो अग्रता पाँच मिनेट पनि टिक्न पाएन । नेपालमा निरञ्जन मल्लले ६८औं मिनेटमा डिबक्सबाहिरबाट प्रहार गरेको सट गोलमा परिणत भयो ।
त्यसअघि दुवै टोली १० खेलाडीमा समेटिएको थियो ।
बंगलादेशका सहिदुल इस्लामले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाए । यस्तै नेपालका दिपेश गुरुङले सिधै रातो कार्ड पाएका छन् ।
नेपालका बेन्चका खेलाडी रोहित सुब्बाले समेत सिधै रातो कार्ड पाएका थिए । खेलको क्रममा झगडामा उत्रिएपछि उनीहरुले रातो कार्ड पाएका हुन् । त्यसपछि पनि दुवैतर्फबाट प्रयास भए पनि गोल भने गर्न सकेनन् ।
तीन खेलमा जित र नेपालसँग बराबरी खेलेको बंगलादेश अंकतालिकको शीर्ष स्थानमा रहँदै फाइनल प्रवेश गरेको छ ।
नेपालको फाइनल खेल्ने कि नखेल्ने भन्ने निर्णय भारतको खेलले गर्नेछ । साँझ ७ बजे हुने माल्दिभ्सविरुद्धको खेलमा भारत पराजित भए नेपाल फाइनल प्रवेश गर्नेछ ।
पहिलो खेलमा माल्दिभ्सलाई ४–० गोलले पराजित गरेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३–० हराएको थियो । तर, तेस्रो खेलमा भने नेपाल भारतसँग ८–० गोलले पराजित भएको थियो ।
सत्यपाटी । काठमाडौँ ।