सूचनाको शक्ति - The Power Of Information

        

शपथसम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

प्रतिनिधि सभाको आज मङ्गलवारको बैठले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘शपथसम्बन्धी विधेयक २०७९ मा विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रस्तुत गर्नुभएको यस प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।

विधेयकको सैद्धान्तिक पक्षमा भएको छलफलमा सांसद डा. भीमबहादुर रावल, दिव्यमणि राजभण्डारी, प्रेम सुवाल, छक्कबहादुर लामा, गजेन्द्र महत, खेमप्रसाद लोहनीले आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उद्योगमन्त्री बडूले सार्वजनिक पद धारणा गरेका व्यक्तिको शपथमा कानुनी शून्यता हुन नदिन शपथसम्बन्धी छुट्टै कानुन आवश्यक भएकाले विधेयक ल्याइएको बताउनुभयो ।

छलफलमा सांसदहरूले विधेयक चाँडो पारित गर्न र विधेयकलाई समृद्ध बनाउन दिएका सुझावप्रति उहाँले आभार प्रकट गर्नुभयो । उद्योगमन्त्री बडूले शपथको भाषा र व्यहोरा आदिबारे विधेयकले स्पष्ट व्यवस्था गरेकाले यसलाई छिटो पारित गर्ने प्रक्रियामा सहयोग गर्न अनुरोध गर्नुभयो ।

राष्ट्रपति, उपराष्ट्रपति, सङ्घीय संसद्का सदस्य, प्रदेश संसद्का सदस्य, प्रदेश प्रमुखलगायतले आफ्नो जिम्मेवारी सम्हाल्नुअघि संविधानअनुरूप पद तथा गोपनीयताको शपथ लिनुपर्ने विधेयकमा व्यवस्था छ ।

त्यसैगरी बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त स्ट्यान्डर्ड नाप र तौल (पाँचाैँ संशोधन) विधेयक २०७८ मा विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गरिएको छ ।

उद्योगमन्त्री बडूले प्रस्तुत गर्नुभएको याे प्रस्तावमाथि बैठकमा सैद्धान्तिक छलफल भइरहेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलवार १९:०४