सूचनाको शक्ति - The Power Of Information

        

सत्य विशेष

शहरमा पहिरो : ताल छेउ चिया बेच्न नपाएको ‘ठूले’

आमा सुमित्रा रुदै भन्दै थिइन्, ‘यस्तो हुनुरहेछ र पानी बाँड्दै हिँड्यौं तिमी, मलाई छाडेर कहाँ गयौ बाबु ?’

सन्तोषले दिदी सुनितालाई विहानै उठेर ताल छेउमा चिया बेच्न जाने बताएका थिए । दिदि सुनिता, छोरी सिम्रन र भाइ सन्तोष पोखरा–६ डिहिकोपाटनस्थित टिनले छाएको सानो कोठामा तीन वर्षदेखि डेरा गरि बस्दै आएका थिए । कहिले ज्याला मजदुरी, कहिले लेकसाइडमा पानीको बोतल बेच्ने गर्थे सन्तोष ।

यता सुनिता भने नजिकको पार्लरमा काम गरिरहेकी थिइन् । दिदी भाइ मिलेर कमाएको पैसाले घरको खर्च चलिरहेको थियो । अघिल्लो दिन मात्र चिया बेच्छु भनेको भाइ सन्तोष भोलिपल्ट बिहान उठ्न सकेन । दिदी सुनिता सुनारलाई अहिले पनि राती के भयो भन्ने त्यतिधेरै स्मरण छैन ।

आइतबार साँझदेखि नै पोखरामा अविरल भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण नै आएको पहिरोले सोमबार बिहान करिब १ बजे उनीहरू बसेको कोठा पहिरोले पुरियो । त्यतिबेला सुनिता राती शौचालय जान भनि उठेकी थिइन् । सन्तोष भने गहिरो निन्द्रामा नै थिए । कोठामा पहिरो आउने बित्तिकै ढोका खोल्ने प्रयास सुनिताले गरेकी थिइन् तर सकिनन् ।

त्यसपछि छिमेकी र प्रहरीको टोलीले सुनिता र उनको १० वर्षकी छोरी सिम्रनलाई उद्धार गरेको थियो । सुनिताको हात खुट्टामा चोट लागेको छ भने सिम्रनको अवस्था सामान्य छ । तर सन्तोषलाई भने जीवित उद्धार गर्न सकिएन । अस्पताल लगेको केही समयमा नै सन्तोषलाई मृत घोषित गरिएको थियो । कास्की भुर्जुङखोला घर भएका सन्तोष उमेरले २६ वर्ष पुगेका थिए ।

बाबाले वास्ता नगरेपछि आमा सुमित्रा, दिदी सुनिता, सन्तोष र सिम्रन घर छाडेर काठमाडौँ पुगेका थिए । सन्तोषको ठूली दिदीको भने विवाह भइसकेको थियो । एक्ली आमा सुमित्रालाई काठमाडौँमा गाह्रो भएपछि उनीहरू फेरि पोखरा फर्किए । पोखरामा आएर डिहिकोपाटनमा कोठा डेरामा लिए । छोराछोरी एउटा घरमा र आमा नजिकको अर्को घरमा कोठा लिएर बस्दै आएका थिए ।

आमाले लेकसाइडमा चटपट बेच्न थालिन् भने सुनिता र सन्तोष पनि आफूले पाएको काम गर्न थाले । सुनिताको श्रीमानले छाडेका कारण आफ्नी छोरी सिम्रन र भाइ सन्तोषलाई लिएर पोखरा बसेकी थिइन् । सन्तोषमा थोरै मानसिक अपाङ्गता थियो । तर उनी सबै काम गर्थे, बोल्थे र बुझ्थे पनि । सन्तोषलाई घरका सबैले ‘ठूले’ भनेर बोलाउने गरेका थिए । केही समय अघि मात्र आमा सुमित्राले सन्तोषको अपाङ्गता पत्र पनि लिएकी थिइन् ।

‘कहाँ गयौ बाबु ?’

पहिरोले कोठा पुरिएपछि छोरी सिम्रनलाई ढोका तिर धकेली भाइलाई उठाउन खोज्दा सुनिता झन् माटोले चेपिएकी थिइन् । खुट्टामा चेपिएका कारण उनलाई गहिरो चोट लागेको छ । उपचार गराएर फर्किएपछि आमाको कोठामा भेटिएकी सुनितालाई रातको घटनाको धेरै स्मरण छैन । भाइले चिया बेच्न जाने भनेको उनलाई याद छ । एक वर्षले मात्र ठूली सुनितासँग सन्तोषले सबै कुरा भन्ने गरेको थियो ।

उनले भनिन्, ‘ठूलेले मसँग सबै कुरा भन्थ्यो, हिजो अस्ति काम गरेको थिएन । अनि आजदेखि ताल छेउ चिया बेच्न जान्छु भनेको थियो ।’ उता पोस्टमार्टमपछि सन्तोषको शवलाई बुझ्न पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगेकी सन्तोषकी आमा सुमित्रा अस्पताल परिसरमा बेहोस अवस्थामा थिइन् । होसमा आउँदा ठुले भन्दै रुदै चिच्याउदै थिइन् । चिया बेच्न आमासँग जाने योजना सन्तोषको थियो । उनले अघिल्लो दिनमा पानीको बोतल बेच्दै हिँडेका थिए ।

आमा सुमित्रा रुदै भन्दै थिइन्, ‘यस्तो हुनुरहेछ र पानी बाँड्दै हिँड्यौं तिमी, मलाई छाडेर कहाँ गयौ बाबु ?’ काठमाडौँमा बस्दा सन्तोष पटक पटक हराएका थिए । त्यतिबेला सन्तोषकी ठूली दिदी काठमाडौँ गएर खोजी गरेर भेटाएकी थिइन् । पोखरामा आएपछि दिदी बेला बखतमा भाइबहिनीलाई भेट्न गइरहेकी हुन्थिन् । अस्पताल पुगेकी उनी भक्कानिदै थिइन् । उनी बारम्बर भन्थिन्, ‘कहाँ गयौ बाबु, मलाई पनि साथै लैजाउँ ।’

‘राती आवाजले थाहा पायौं’

सन्तोष र सुनिता डेरा गरि बसेका घरधनी लक्ष्मी खड्का सुत्ने तरखरमा थिइन् । कोठाको ढोका लगाउँदा आवाज सुनिन् । उनले भनिन्, ‘पानी परिरहेको थियो । अँध्यारोमा के भयो हेरेनौं । तल गएर हामीले ठुले ठुले भनेर बौलायौ । तर ढोका खोल्नै सकिएन । प्रहरीलाई बोलायौँ । छिमेकलाई भन्यौ । बल्ल बल्ल ढोका फुटालेर आमा छोरीलाई निकाल्यौ तर ठुलेलाई खोज्दा खोज्दै ढिला भयो ।’

पहिरोले पुरिएको कोठासँग जोडिएको साढे दुई तलाको घरमा घरधनीहरू बस्दै आएका छन् । सन्तोषको कोठासँगै जोडिएका कोठामा डेरा गरि बस्नेहरू अहिले त्यहाँबाट सामान लिएर सरिसकेका छन् । इशु भित्रकोटीको कोठा पहिरो गएको कोठासँगै जोडिएको छ । पहिरो जाँदा उनले पनि आवाज सुनिन् । पानी निरन्तर परिरहेकाले इशुलाई अहिले पनि डर लागिरहेको छ । आफ्नो कोठाको सामान सारिसकेकी इशुले भनिन्, ‘डर लागेको छ । आज त यहाँ बसिन्न ।’

मुस्कुराइ रहेको सन्तोषको तस्वीर

पहिरोले पुरिएको कोठा हेर्न पुग्नेहरूको भीड बाहिर छ । कोही फोटो लिदैँ छन् । कोही कोठा छेउ आफू उभिएर फोटो खिचाइरहेका पनि छन् । कोठाको छत छैन । कोठाभित्र ढुंगा, रुखका हाँगा र माटोको हिलो थुप्रिएको छ । कोठाभित्रका लत्ताकपडा, सामान सबै हिलम्मे छ । भान्साको सामान पनि माटोले पुरिएको छ ।

भत्किएको कोठाको एउटा भित्तामा टाँगिएको दक्षिणकाली दर्शनको फोटो चिनो भने जस्तोको तस्तै छ । पहिरोको असर फोटोलाई परेको छैन । हात बाँधेर उभिएको त्यस फोटोमा देखिएका हँसिलो युवा सन्तोष हो । पहिरोमा पुरिएर सन्तोष रहेन तर उनी मुस्कुराइरहेको तस्बीर भने अझै भित्तामा टाँगिरहेको छ ।

 

आइएनएस–स्वतन्त्र समाचार

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलवार १०:१७