सूचनाको शक्ति - The Power Of Information

        

चौधरीको आत्माहत्या, ३३ किलो सुन आयात प्रकरण

काठमाडौं । ३३ किलो सुन आयात प्रकरण झनै रहस्यमय बन्दै गएको छ । यही प्रकरणमा जोडिएका अर्थात अनुसन्धानका लागि पक्राउ परेकामध्ये प्रेमराज चौधरीले सिहंदरबार प्रहरी वृत्तमा आत्महत्या गरेका छन् । प्रहरी स्रोतका अनुसार उनी ट्वाइलेटमा मृत अवस्थामा फेला परेका हुन् ।
उनलाई बिहीबार गृह मन्त्रालयको टोलीले आवश्यक सोधपुछपछि सिंहदरबार प्रहरी वृत्तमा पठाएको थियो । उनले किन आत्महत्या गरे भन्ने खुल्न सकेको छैन । उनले आफुले लगाएको ट्रयाकसुट खोलेर घाँटीमा बेरेर पासो लगाएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले घटनाको पुष्टि गर्दै चौधरीले आत्महत्या गरेको बताए । गृह मन्त्रालयका सह सचिव ईश्वर पौडेलको नेतृत्वमा समितिले बिहीबार चौधरीलाई नियन्त्रणमा लिएको थियो ।
उनी नेपाल वायुसेवा निगममा कार्यरत कर्मचारी रहेको बताइएको छ । गत माघ ७ मा हवाईमार्ग हुँदै भित्रिएको साढे ३३ किलो सुन गायब भएको थियो । यही प्रकरणमा मोरङ उर्लाबारीका सनम शाक्यको फागुन १८ गते हत्या भएको थियो । सनम फागुन १५ गते काठमाडौंबाट वेपत्ता भएका थिए । अपराध महाशाखाको टोलीले शाक्यको शव १९ गते विराटनगर पोखरिया कन्यामार्गमा सार्वजनिक गरेको थियो । महाशाखाको टोलीले आफ्नो कार्यक्षेत्र उपत्यका बाहिर गएर सनमको शव फेला परेको सार्वजनिक गरेपछि घटनाले नयाँ मोड लिएको थियो । यो सुनका नाइके चुणमणि उप्रेती ९गोरे० रहेको अनुसन्धानले देखाएको छ ।
सुन प्रकरणमा अहिलेसम्म आरके ज्वेलर्सका मालिक राजेन्द्र शाक्य, राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक०का नेता तथा होटल मनाङका सञ्चालक भोजुङ गुरुङ, थाइ एयरवेजका कर्मचारी बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, दोराम खत्री व्यापारी सम्भिरप्रसाद तोलाङे, हेमन्त गौतम, गुन्डा नाइके ‘तक्लु’ भनिने पुण्यप्रसाद लामा, वीरेन्द्रमान श्रेष्ठ, लालबहादुर मगर, राजु महर्जन, भारतीय नागरिक महाविर गोल्यान लगायत १९ जना पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७४, शुक्रबार १०:५९