सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय सरकार

गाउँपालिका अध्यक्षले गरे श्रीमतीलाई भान्से नियुक्त, तलब २१ हजार

१० हजार पोसाक भत्ता, अनुगमन र भ्रमण खर्चसमेत भुक्तानी दिनेगरी सम्झौता गरिएको छ ।

अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँदले श्रीमतीलाई भान्से नियुक्ति गरेका छन् । कार्यालय सहायक सरहको तलब–सुविधा पाउने गरी श्रीमती जयसरा साउदलाई उनले भान्सेमा नियुक्ति गरेका हुन् ।

जेठ १५ गतेदेखि लागु हुनेगरी ६ महिनाको करार सम्झौता गरिएको करार सम्झौतामा उल्लेख छ । करार सम्झौताअनुसार भान्सेका रूपमा गाउँपालिका अध्यक्षकी श्रीमतीले मासिक २१ हजार ३०० पारिश्रमिक पाउनेछिन् ।

त्यस्तै वार्षिक १० हजार पोसाक भत्ता र चार्ड पर्वमा वर्षमा एक पटक एक महिनाको पारिश्रमिक प्राप्त गर्ने छिन् । समितिहरूको अनुगमनमा पनि जाने करार सम्झौतामा उल्लेख छ । अनुगमनमा जाँदा उनले दैनिक भत्ता पाउने सम्झौतामा उल्लेख छ ।

कार्यालय कामको सिलसिलामा कुनै भ्रमणमा जाँदा भ्रमण खर्चसमेत भुक्तानी दिने गरी सम्झौता भएको छ । गाउँपालिकाका अध्यक्ष साउँदले श्रीमतीलाई भान्सेको जागिर दिलाएको खुलेपछि उनको आलोचना भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले पालिका अध्यक्षको निर्देशनअनुसार नै करारमा भान्से नियुक्ति गरिएको बताए । यसविषयमा गाउँपालिकाका अध्यक्ष साउँदले भने प्रतिक्रिया दिन मानेनन् ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार १०:५८