सूचनाको शक्ति - The Power Of Information

        

शपथ लिएलगत्तै अर्थमन्त्री शर्माद्वारा पदभार ग्रहण

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गर्नुभएकाे छ । आज आइतवार बेलुकी अर्थ मन्त्रालयमा पुगेर शर्माले पदभार ग्रहण गर्नुभएकाे हाे ।

आज नै अर्थमन्त्रीमा नियुक्त हुनुभएका शर्माले शितल निवासमा पुगेर पद तथा गाेपनीयताकाे शपथ लिएलगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएकाे हाे ।

राष्ट्रपति भवनमा आयोजित समाराेहमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई शपथ ग्रहण गराउनुभएको हो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटासहित संवैधानिक अङ्गका प्रमुखकाे उपस्थिति थियो ।

बजेट निर्माणका क्रममा करका दर हेरफेर गर्दा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेपछि असारको २२ गते सभामुख अग्नि सापकोटाले ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गर्नुभएको थियो । समिति गठन भएसँगै २२ गते नै शर्माले राजीनामा दिनुभएको थियो ।

शर्मामाथि छानबिन गर्न बनेको संसदीय अध्ययन विशेष समितिले उहाँलाई दोषी ठहर गर्न सकेको थिएन । समितिमा रहेका नेकपा एमालेका चार जना सांसदले फरक मत पनि राखेका छन् ।

प्रष्ट सीसीटीभी फुटेज नदिएको, शर्मा र अनधिकृत व्यक्तिको कल डिटेल हेर्न नदिएको लगायतका विषयमा एमालेका सदस्यले फरक मत राखेका छन् ।

विवादित व्यक्तिलाई पुनः मन्त्री पद सुम्पिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना भइरहेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतवार १९:०२