सूचनाको शक्ति - The Power Of Information

        

राप्तीसोनारीका नयाँ प्रमुख प्रशासकीय अधिकृत खत्रीलाई स्वागत

सल्यानको कालिमाटी गाउँपालिकाबाट राप्तीसोनारी गाउँपालिकामा सरुवा भई आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीलाई स्वागत गरिएको छ ।

आइतवार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले खत्रीलाई स्वागत गरेका हुन् । अध्यक्ष पौडेलसहित गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारु, लेखा अधिकृत गौरव कुमार लामिछाने लगायत अन्य कर्मचारी तथा जनप्रतिनिधिहरुले नयाँ प्रमुख प्रशासकीय अधिकृत खत्रीलाई स्वागत गरेका थिए ।

स्वागत कार्यक्रममा अध्यक्ष पौडेलले कर्मचारी र जनप्रतिनिधि बीचको सहकार्यले मात्र गाउँपालिकाको विकास सम्भव भएको बताए ।

जनप्रतिनिधि र कर्मचारी बीचको सम्बन्ध नङ र मासु जस्तै भएको उल्लेख गर्दै उनले कर्मचारीलाई जनप्रतिनिधिले काम गर्ने वातावरण सिर्जना गरिरहेको बताए ।

सो क्रममा प्रमुख प्रशासकीय अधिकृत खत्रीले आफू राप्तीसोनारीमा कार्यरत रहँदासम्म इमान्दारीपूर्वक काम गर्ने प्रतिवद्धता जनाए । उनले जनप्रतिनिधि र आफ्ना सहकर्मी कर्मचारीसँग मिलेर काम गर्ने बताए ।

अध्यक्ष पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न स्वागत कार्यक्रममा गाउँपालिका जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतवार १८:५४