सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

जनार्दन फेरि अर्थमन्त्री, आजै शपथ

संसदीय छानबिनले उनीमाथिका आरोपमा सफाइ दिएपछि शर्मालाई पुनः अर्थमन्त्री बनाउन लागिएको हो ।

नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा अर्थमन्त्रीमा फर्कने भएका छन् । संसदमा बजेट प्रस्तुत हुनु अघिल्लो दिन राति अनधिकृत व्यक्ति प्रवेश गराएर बजेटमा करका दर हेरफेर गराएको आरोप लागेपछि असार २२ गते शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन गरिएको थियो ।

छानबिन समिति गठन हुनुअघि संसद्मा सम्बोधन गर्दै शर्माले छानबिनमा सहयोग गर्ने उल्लेख गर्दै पदबाट राजीनामाको घोषणा गरेका थिए । संसदीय छानबिनले उनीमाथिका आरोपमा सफाइ दिएपछि शर्मालाई पुनः अर्थमन्त्री बनाउन लागिएको हो । स्रोतका अनुसार त्यसबेला नै शर्माले निर्दोष सावित भए अर्थमन्त्रीमा पुनः नियुक्त गर्ने सर्तमा राजीनामा दिएका थिए ।

उनलाई अर्थमन्त्री बनाउने विषयमा आजै माओवादी स्थायी कमिटीको बैठकले निर्णय गर्ने र त्यो निर्णयको जानकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीलाई गराउने तयारी छ । ‘उहाँले सफाइ पाइसकेपछि हावाकै भरमा मन्त्री पद त्याग्नुपर्ने कुरालाई नजिर बन्न नदिन जनार्दन नै अर्थमन्त्री बन्नुहुन्छ,’ माओवादी केन्द्रका एक नेताले भने ।

ती नेताका अनुसार कति समय भन्ने कुरा पार्टीले निर्णय गर्नेछ । उनले भने, ‘तर अहिलेका लागि उहाँलाई अर्थमन्त्री बनाउने कुरा पार्टीका लागि नै प्रतिष्ठाको विषय बन्न पुग्यो ।’ उनले प्रतिपक्ष दलका इसारामा चल्ने हल्लाले निर्णयहरू प्रभावित हुन थाले भोलि देश नै हल्लाले चलाउने अवस्था आउन सक्ने बताए ।

प्रचण्डले पार्टीको सम्भावित निर्णयका विषयमा प्रधानमन्त्री देउवालाई भेटेर जानकारी गराइसकेका छन् । आज बिहान बालुवाटार पुगेर प्रचण्डले प्रधानमन्त्रीलाई भेटेपछि त्यसको जानकारी निकट नेताहरूलाई गराएका थिए । त्यसलगत्तै शर्मा अर्थमन्त्रीमा दोहोरिन लागेको सूचना माओवजादी वृत्तमा फैलिएको छ ।

स्रोतका अनुसार उनलाई आजै पद तथा गोपनीयताको शपथग्रहण गराउने तयारी छ । राष्ट्रपतिको कार्यालय स्रोतले भने आधिकारिक रूपमा शपथको जानकारी नआएको जनाएको छ । ‘हामीले पनि हल्ला सुनेका छौँ । तर, औपचारिक सूचना अहिलेसम्म आएको छैन,’ राष्ट्रपतिको सचिवालयका एक सदस्यले भने, ‘हुने उहाँ नै भए पनि औपचारिक सूचना आएपछि मात्र हामी यसबारे जानकारी दिन सक्छौँ ।’

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतवार १४:०८