सूचनाको शक्ति - The Power Of Information

        

मेरो डायरी

भाग्दै सहकारी, बचतकर्ताको बिचल्ली

थोपा–थोपा गरेर जम्मा गरेको रकम बोकेर सहकारी संस्थाका सञ्चालक हिँडेपछि बचतकर्तालाई मर्नु न मोटाउनु भएको छ ।

राजधानीका सहकारीहरु यतिखेर धमाधम बन्द हुने अवस्थामा छन् । कतिपय बचतकर्ताको रकम नै लिएर भागिसकेका छन् भने भाग्ने क्रम जारी छ । सहकारी टाप कसेपछि बचतकर्ता बिचल्लीमा परेका छन् । कतै तपाईहरुको बचत रकम भएको सहकारी भाग्दै त छैनन् ? डुब्ने अवस्थामा त आइसकेको छैन ? यसमा चनाखो हुनुपर्ने बेला भएको छ । उपत्यका बाहिरी जिल्लाका सहकारीहरु भागेर बचतकर्ताहरु सडकमा ओइरिएका छन् । केही महिना अघिदेखि सहकारीको भाग्ने क्रम ह्वात्तै बढेको पाइन्छ ।

अहिले जताततै सहकारी भागेका कुराहरु मात्र सुन्नमा आइरहेको छ । हाम्रो पैसा डुब्यो भनेर बचतकर्ताहरु पिरोलिएका छन् । अरुको अवस्था देखेर हाँस्नु र टुलुटुलु हेरेर बस्नुको साटो आफ्नो बचत भएको सहकारीमा गएर बुझ्नु राम्रो हो । किनकि यतिबेला सहकारीमा भएको सबै रकम कुम्ल्याएर सञ्चालक बेपत्ता भएका छन् । त्यसैले पहिले नै सतर्क हुनु बेस होला । थोपा–थोपा गरेर जम्मा गरेको रकम बोकेर सहकारी संस्थाका सञ्चालक हिँडेपछि बचतकर्तालाई मर्नु न मोटाउनु भएको छ ।

एक हजारदेखि २० लाखसम्म डुबेको कुराहरु बाहिर आइरहेका छन् । पछिल्लो समय एउटै घरमा पाँच वटासम्म सहकारी छन् । ती सहकारीले दैनिक बजारबाट रकम उठाए पनि उचित ठाउँमा लगानी नगर्दा डुबेको कुरा स्पष्ट बुझिन्छ । सम्बन्धीत निकायले बेलाबखत सहकारीको अनुगमन गर्ने चासो देखाएन, जसका कारण आज लाखौं नागरिकको घरबास उठ्ने अवस्था बनेको छ । भाग्ने सहकारीको खोजतलास गरी कारबाही गर्न सरकारले ध्यान दिएको पाइँदैन । नागरिकको बिचल्ली भइसक्दा पनि सरकार मौन बसेको छ ।

धेरै नागरिक सडक छाप बनिसकेका छन् । तर, सरकार सहकारीमा रकम जम्मा नगर्नुस् बरु बैंकमै लगेर राख्नुस् भनेर एउटा सूचना समेत जारी गर्दैन । सहकारीमा पैसा राख्नुका दुई वटा कारण छन् । एउटा बढी व्याज, अर्को कर्जा । व्याजको लोभमा पर्दा साँवा नै गुमेको छ । सहकारी कस्तो मान्छेले खोलेका छन् ? सञ्चालकमा कस्ता व्यक्ति बसेका छन् ? बुझ्दै नबुझी पैसा राख्दा यो हालत भएको हो । सहकारीको साधारण सभामा जाने र गएबापत खाममा पैसा बोकेर हिँड्ने बानी छ, बचतकर्ताको ।

तर, त्यहाँ कार्यसमितिमा भएका व्यक्तिहरु उनीहरुले चिन्दैनन् । सहकारीहरु धेरै भागेको र धेरैले पैसा हिनामिना गरेको भनेर सहकारी विभागले भनिरहेको छ । विभागका अनुसार कतिपय सहकारीहरु घाटामा छन् । तिनीहरुको आज न भोलिको अवस्था बनिसकेको बताइन्छ । विभागले यसो भनिरहँदा नागरिक आफैं पनि अलिकति जागरुक हुनुपर्छ । विभागले सहकारीको अनुगमन आफूले नभई वडा र नगरपालिकाले गर्ने हो भनेर पन्छिएको छ । वडा र नगरपालिका सुने पनि नसुनेझैं गरी बसेको छ, न त भाग्ने सहकारीको खोजतलास गर्छ ।

सहकारी डुब्ने अवस्थामा पुग्दा पनि एकपटक निरीक्षण गरेको पाइँदैन । यता, नागरिकको पैसा कुम्ल्याएर भाग्ने सहकारीको दर्ता खारेज पनि गर्दैन । हिजो सहकारीका अध्यक्ष आजका मेयर र वडाध्यक्ष हुन् । सहकारी छोडेर जनप्रतिनिधि बनेकाहरु यत्तिकै छन् । आफ्नै टोलीको भएकाले अनुगमन नगरेको बुझिन्छ । सहकारीले गर्दा हामी डुब्यौं भनेर सडकमा ओइरिनेको संख्या दिनानुदिन बढिरहेको छ । सहकारीमा डिपोजिट गर्ने पनि डुबे, कर्जा लिने पनि सोत्तर भए । सहकारीको यस्तो ठगीधन्दा मौलाउँदा सरकार के हेरेर बसिरहेको छ ?

सहकारी संस्थाहरु चोर हुन् भनेर यसअघि पनि धेरैपटक स्पष्ट भइसकेको छ । यो गरिबहरुलाई चुस्ने जुको हो भनेर सबैलाई थाहा भएको कुरा हो । सहकारीको कारणले यहाँ करौडौं मान्छेहरु सडक छाप हुने भए । सहकारीमा भएको अरबौं रुपैंयाँ डुब्ने भो । आफ्नै आफन्तलाई समेत सहकारीले छोडेको छैन । बढी व्याज दिन्छु भनेर आफन्तलाई पनि फसाएका छन् । अहिले धेरै नागरिकहरुले सहकारीमा पैसा राख्न छोडिसकेका छन् । आफ्नो पैसा निकाल्दा जाँदा पनि भोलि पर्सी भनेर भाका सारेको सार्यै गर्छ ।

अध्यक्ष र सञ्चालक भेट्न महामुश्किल छ, कर्मचारी मात्र हुन्छन् । सहकारीका ठूलाबडा व्यक्तिहरु सहकारीमा कहिलेकाँही मात्र आँउछन् । प्रायःजसो बेपत्ता नै हुन्छन् । बजारबाट पैसा उठाउन कर्मचारी खटाउने क्रम भने रोकिएको छैन । खोलेका खाता सबैले बन्द गर्न खोजिरहेका छन् । तर, पनि पैसा नपाएर उनीहरु के गर्ने के नगर्ने अलमल्ल परेका छन् । सावा चाहिँदैन व्याजमात्र भए हुन्छभन्दा पनि पाइँदैन । पहिले खाता खोल्ने बेलामा निःशुल्क खोल्ने । अनि बन्द गर्ने बेलामा ३०० रुपैंया असुल्ने । सहकारीबाट धेरै नागरिक पीडित छन् ।

कर्जा लिनेको घरखेत लिलाम गरिदिएर सडक छाप बनाइदिएका छन् । कतिपयले बचतकर्ताकै पैसा बोकेर उठीबास लगाइदिएका छन् । अझै पनि यत्तिकै छाडा छोडिदिने हो भने कतिपयको घरमा रुवाबासी चल्छ । कतिपय सडकको बास काट्न आइपुग्छन् । आत्महत्या गर्ने ठाउँसम्म सहकारीले पुर्याइदिन्छ । च्याउ उमारेझैं सहकारी खोल्न दिने पनि सरकार नै हो । नागरिक ठग्ने र लुट्ने प्रमाणपत्र सहकारीलाई दियो । सहकारीबाट डुबेकाहरु सचेत भइसकेका छन् । अधिकांश महिलाहरु सहकारीमा पैसा नराख्न नै सुझाव दिइरहेको भेटिन्छन् ।

सहकारीमा पैसा राख्नेको दिनको भोक र रातको निद्रा गायब भइसकेको छ । पैसा फिर्ता नपाँउदा उनीहरुको सुःख, चेन सबै छिनिएको छ । सहकारीका सञ्चालकहरु मिटर व्याजमा पैसा लगाउँछन् । तर, डिपोजिटवाललाई थोरै व्याज दिन्छन् । दिए पनि ३–४ प्रतिशत मात्र दिन्छन् । सहकारीहरुले कर्जा लगानी गर्दा धितो राखेर १६ दशमलव ५ प्रतिशतभन्दा बढी व्याज लिन नपाउने भनेर सहकारी विभागले नियम बनाएको छ । उता, एक प्रतिशतभन्दा धेरै सेवा शुल्क लिन पाइँदैन भनेर स्पष्ट रुपमा भनेको छ ।

तर, सेवाशुल्क तीन प्रतिशतसम्म असुल्ने गरेको पाइन्छ । सहकारीकै कारणले करोडपति रोडपति बनेका छन् । कतिपयको मानसिक अवस्था गुम्यो । कतिपय भागेर लुकीछिपी हिँडेका छन् । अब पनि नागरिक र सरकार चुप लागेर बस्ने हो भने यिनीहरुको ठगीधन्दा झनै मौलाउँदै जान्छ । नागरिकले सहकारीमा जम्मा गरेको पैसा दिन आनाकानी गर्ने सञ्चालकलाई कारबाही गर्नुपर्छ, सहकारीमा ताला लगाउनुपर्यो । बढी व्याज दिने प्रलोभनमा नागरिक पर्नुभएन । अहिले अधिकांश सहकारीको अवस्था तनावग्रस्त पाइन्छ ।

पैसा नपाएर आम सर्वसाधारणहरु चिन्तामा छन् । हप्ता बितिसक्दा पनि पैसा नपाएको गुनासोहरु सुन्नमा आइरहेको छ । मुलुकमा आर्थिक तरलता बढेको छ । अधिकांश मुलुकमा आर्थिक संकट आइसकेको छ । एकातिर अर्थविद्हरु नेपालको अर्थतन्त्र धरासायी बनेको र श्रीलंकाकै बाटोमा गएको भनेर खुलेर भनिरहेका छन् । यता, १००० र ५०० को नोटमा प्रतिबन्ध लगाएर २००० हजारको नोट बजारमा ल्याउनुपर्छ भनेर आवाज पनि नउठेको होइन ।

आम नागरिकले घरमै पैसा लुकाउँदा वित्तिय संस्थाहरु टाट पल्टिसकेका छन् । व्यापारीहरुले समेत वित्तिय संस्थामा पैसा राख्न छोडिसकेका छन् । किनकि उनीहरुले अहिलेको अवस्थालाई राम्ररी बुझेका छन् । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तै हुन्छ भनेपछि एकैदिन ६३ अर्ब रुपैंयाँ नागरिकले बैंकबाट निकाले । अहिले बैंकमा डिपोजिट गर्ने शुन्य छन्, पैसा निकाल्नेको भीड छ । बैंकलाई त विश्वास गरेनन् भने सहकारीलाई कसले विश्वास गर्ने ?

हामीले सहकारी र बैंकमा पैसा राखेका छौं भनेर निर्धक्क बस्ने बेला छैन । भोलि टाउको हात राखेर रुनुभन्दा आजै सजग भएको राम्रो होला । राष्ट्र बैंकले हालैमात्र मौद्रिक नीति ल्याएको छ । यसलाई मूल्याङ्कन गर्दै बैंकका सञ्चालकहरुले बैंकहरु अब डुब्छ भनेर बताइसकेका छन् । उद्योग व्यवसायी महासंघका अध्यक्ष शेखर गोल्छाले पनि राष्ट्र बैंकको नीतिले व्यापार व्यवसायी डुब्छ भनेर भनिसकेका छन् । सोचेर, विचार गरेर एक–दुई जनाले मात्र पैसा जम्मा गरिरहेका छन् । १०० मा ९८ प्रतिशत नागरिकले घरमै पैसा राखेका छन् ।

सहकारीमा काम गर्ने कर्मचारीहरुले लामो समयदेखि तलब पाएका छन् । घरधनीले समेत घरभाडा पाउन सकेका छैनन् । सहकारी र बैंकसँग कर्जा दिनलाई पैसा छैन । कर्जा दिँदाखेरि त आम्दानी हुने हो । घुस, सेवा शुल्क र बढी व्याजले गर्दा त सहकारी चलिरहेका थिए । आम्दानी छैन, खर्च बढेको बढ्यै छ । वित्तिय संस्थाले हिजोको दिनमा ऋणीलाई आत्महत्या गर्नसमेत बाध्य बनाए । एक किस्ता नतिर्नेबित्तिकै धम्काउने, पत्रिकामा निकाल्ने, गुण्डा पठाउने गरेर धितो नै खाइदिने कामसमेत भयो । अहिले त्यसैको पाप कराएको जस्तो देखिन्छ । वित्तिय संस्थाहरुले लुटतन्त्र मच्चाएका छन् । यिनीहरु दलाली हुन् ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतवार ०९:५०