नेपाल सरकारले नेपालभित्र रहेका सम्पूर्ण कलाकारहरुलाई राष्ट्रको गहना भनेर सम्मान गर्ने गर्छ । नेपालको चलचित्र क्षेत्रलाई नेपाल सरकारले निकै महत्वपूर्ण क्षेत्रको रुपमा लिने गर्छ । नेपाल सरकारले चलचित्र क्षेत्रमा काम गर्ने प्रत्येक कलाकारलाई जीवनभर सम्मान गर्ने गर्छ । तर पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा पनि बेथिति फैलिरहेको छ । अहिले नेपाली कलाकार राष्ट्र र नागरिकको गहना नभई राजनीतिक दलका कार्यकता भएका छन् । भुवन केसी दुई दशक अघिदेखि एमाले पार्टीको कार्यकर्ता थिए । उनले काठमाडौं क्षेत्र नम्बर १ बाट २०७० र २०७४ सालमा चुनाव लड्न वा टिकट पाउनकै लागि धेरै नेताहरुसँग धाए ।
एमाले पार्टीले उनलाई कलाकारसँग राजनीति गर्ने क्षमता हुँदैन भनेर टिकट दिएन । एमालेको सरकार हुँदा चलचित्र बोर्डको अध्यक्ष बन्न उनले धेरैतिर धौडधुप गरे । तर एमाले पार्टीले उनलाई कता पनि ठाउँ नदिएपछि उनी निराश भए । तत्कालिन सञ्चारमन्त्री गोकुल बास्कोटाले त्यससमय आफ्नै जिल्लाबासीका नागरिकलाई चलचित्र बोर्डको अध्यक्ष बनाए । यसरी एमालेमा स्वार्थ पुरा नभएपछि उनले एमाले प्यागेर काँग्रेसमा प्रवेश गरे । काँग्रेसमा प्रवेश गरेसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले भुवन केसीलाई चलचित्र बोर्डको अध्यक्ष बनाए । भुवन केसी अध्यक्ष बनेपछि नागरिक सोध्छन्, चलचित्र क्षेत्रमा भएको बेथिति कहिलेसम्म रहन्छ ?
अहिले फिल्म, भिडियो तथा गीतमा कलाकारले सामाजिक मूल्य मान्यतालाई ख्यालमा राखी भए समाजले पचाउनै नसक्ने जस्ता फिल्म तथा भिडियोहरु खेलिरहेका छन् । पछिल्लो समयमा नेपालमा आफन्त र परिवार बसेर सुन्न र हेर्नै नसकिने फिल्म तथा भिडियो बनिरहेका छन् । यस्ता भिडियो तथा फिल्म हेरेर अब नयाँ आउने हाम्रा पुस्ताहरुले के कस्ता कुराहरु सिक्ने छन् । हाम्रो नेपाली समाज अब कता जानेछ । पछिल्लो समय निर्माताहरुले आफु पैसा कमाउनकै लागि समाजको संस्कृति नै हट्ने खालको गीत, भिडियो तथा फिल्महरु बनाउँदै आएको पाइन्छ ।
समाजको सांस्कृतिक मूल्य मान्यता र देशको नीति तथा कानून नै भुलेर फिल्महरु बनाइरहेको पाइन्छ । पछिल्लो समय नेपालमा कलाकारहरु चर्चामा आउनकै लागि सामाजिक मूल्य मान्यता विपरित नेपाली समाजमा पाच्य नहुने अश्लील शब्द र कपडाहरु लगाउने गर्दछन् । उनीहरु आफू छिट्टै चर्चामा आउनका लागि अश्लील शब्दहरु बोल्ने वा शरीर नै नढाक्ने कपडाहरु लगाउने गर्छन् । निर्माताहरुले आफूले यस्तो फिल्म बनाउँदा देश र नागरिकमा के–कस्ता प्रभाव पर्छ भनेर ख्याल गर्दैनन् । फिल्म बनाउने निर्माताहरु आफू रातरात धनी बन्नका लागि हाम्रो समाज र राष्ट्रले नपचाउने फिल्म तथा भिडियोहरु बनाइरहेका छन्, जसले आज नेपाली चलचित्र क्षेत्र नै दबिन पुगेको छ ।
नेपाली नागरिकको मनमा बस्ने कलाकारहरु पछिल्लो समय कोही पनि छैनन् र यिनीहरुले आफ्नो फाइदाका लागि मात्र फिल्म खेल्ने गर्छन् भनेर नागरिक नै भन्छन् । अहिले चलचित्र क्षेत्रमा लागेका कलाकारलाई नागरिक वा परिवारले हेर्ने दृष्टि नै फरक रहेको छ । नागरिकको मनमा अहिले कलाकारप्रति सम्मान रहेको छैन । अब सूचना तथा सञ्चार मन्त्रालय, सूचना विभाग, पर्यटक तथा नागरिक उड्डयन मन्त्रालयले चलचित्र बोर्डलाई समाजले नपचाउने गीत, भिडियो तथा फिल्म बनाउन प्रतिबन्ध लगाउने र फिल्म खेल्दा कलाकारले लगाउने छोटो कपडा तथा अश्लील शब्दको प्रयोगमा प्रतिबन्ध लगाउनुपर्छ ।
अबदेखि सरकारले फिल्म खेल्दा नेपाली पोसाकको प्रयोगमा मात्र बढी ध्यान दिनुपर्छ । यसले गर्दा हाम्रो सस्ंकृतिको संरक्षण र समाजमा नराम्रा बेथिति फैलिनबाट रोकिन्छ । किनभने देश र नागरिकभन्दा ठुला कलाकार होइनन् । नेपाली भूमिमा जन्मिएपछि आफ्नो कारणले कुनै पनि नागरिकले राज्यलाई क्षति हुने काम गर्नुहुँदैन । हामी जन्मिएपछि राष्ट्र र नागरिकको हितका लागि काम गर्नुपर्छ । तर, पछिल्लो समयमा नेपाली कलाकार राष्ट्र र नागरिकमाथि जिम्मेवार छैनन् । अहिले नेपाली कलाकारसँग कलाको क्षमता र हैसियत रहेको जस्तो देखिँदैन । अहिलेका नेपाली कलाकार पैसा र सञ्चारकर्मीको आडमा कलाकार बनेका हुन् ।
नेपाली कलाकारसँग कला गर्ने क्षमता, राष्ट्र र नागरिकको हितमा काम गर्ने क्षमता छैन । गत महिना मात्र ‘कबड्डी ४’ फिल्म चलेको थियो । जुन फिल्ममा मिरुना मगरले पनि खेलेकी थिइन् । उनीले आफ्नै फिल्म हेर्न आएका दर्शकलाई नै झापड हानिन् । उनले दर्शकलाई धन्यवाद दिनुको साटोमा उल्टै दर्शकलाई झापड हानिन् । नेपालमा २०७२ साल वैशाख १२ गते भूकम्प गएको थियो । सरकारले पहिलो पटक २०७६ साल चैत्र ११ गते देशैभर कोरोना नियन्त्रणका लागि लकडाउन गर्यो । दोस्रो लकडाउन २०७८ वैशाख १६ गते गरेको थियो । २०७८ साल असार १ गते मेलम्चीमा ठुलो बाढी आएर बस्ती नै बगायो ।
यसरी वर्षैपिच्छे बाढी तथा पहिरोले गर्दा हजारौं नागरिक विस्थापन भएका छन् भने कैयौँ बालबालिकाले अभिभावक गुमाएका छन् र कैयौँ नागरिक उपचार गर्ने पैसा नभएर मृत्यु कुरेर बसिरहेका छन् । सयौं नेपाली दाजुभाई, दिदीबहिनी तथा आमाबुबाहरु घरबाट बहिष्कार भएर बाटोमा मागेर बसिरहेका छन् । के कलाकार राष्ट्र र नागरिक दुख र पीडामा सहयोग गर्छन् ? अनि कसरी यिनीहरु देशको गहना भए । कलाकारले न भूकम्प आउँदा देश र नागरिकलाई सहयोग गरेका थिए, न त लकडाउनमा नागरिक भोकभोकै हुँदा गरेका थिए । बरु कलाकारले गरिब र पीडितको नाममा फिल्म तथा गीत गाएर पैसा कमाए ।
नेपालका कलाकारलाई एउटै कुरा आउँछ आँखामा ठुलो चस्मा लगाउने, समाजले नपचाउने कपडाहरु लगाउने, चिल्लो गाडी चढ्ने र ठुलाठुला घरहरु बनाउने बाहेक यिनीहरुलाई केही आउँदैन । यिनीहरुले खेलेका वा बनाएका फिल्महरु जनताले पैसा तिरेर हेर्नुपर्छ । तर दर्शकले पैसा तिरेर टिकट काट्दा उनीलाई त्यो टिकटको पैसा महंगो वा सस्तो भन्ने पनि थाहा हुँदैन किनभने सरकारले त्यसमा मूल्य निर्धारण गरेको छैन । अर्को कुरा फिल्म बनाउने निर्माताले हलमा फिल्म चलाएर करोडौं रुपैयाँ कमाए भन्छन्, तर त्यसको पनि राज्यलाई राजस्व तिर्दैनन् र नागरिकलाई पनि केही सहयोग गर्दैनन् ।
कुन फिल्म कति करोडमा बन्यो र फिल्मले कति करोड कमायो भनेर सरकारसँग त्यसको जानकारी हुँदैन । फिल्म लगानी गरेर नाफा कमाएबापत पनि राज्यले कर पाउँदैन । यता फिल्म खेल्ने कलाकारले एउटा फिल्ममा आफ्नो प्रस्तुती स्थान हेरेर १ लाखदेखि ६० लाखसम्म कमाउँछन् । त्यसको पनि एक सुको पैसा राज्यलाई कर तिर्दैनन् । यसरी नेपाली कलाकारबाट राज्य र नागरिक दुवैलाई केही पनि फाइदा छैन । ंत्यसैगरी अरु मुलुकको कलाकारले देश र नागरिकलाई दुख पर्दा आफुसँग भएको आर्थिक पनि सहयोग गर्छन् । तर नेपाली कलाकारहरु अहिले कोरोनाको समयमा नागरिक भोकभोकै हुँदा आफू खाएर वा दुलोभित्र लुक्छन् । अहिले उनीहरु आफ्नो फिल्म हेर्न नागरिकलाई हलमा आउनु भनेर आग्रह गर्छन् ।
के यिनीहरुलाई अलिकति पनि लाज छैन ? पहिले नागरिक भोकभोकै मरिरहेका बेला नागरिकको याद आएन, अनि अहिले आफ्नो फिल्म चलाउनकै लागि नागरिकसँग आग्रह भन्न लाज लाग्दैन । अब नागरिक, सरकार वा संघसंस्थाले नेपालको कलाकारलाई राष्ट्रिय गहना भनेर सम्मान गर्नुहुँदैन । अहिले नेपाली कलाकारहरु व्यापारी तथा व्यवसायी बनेका छन् । यिनीहरुले पैसा कमाउनकै लागि मात्र फिल्म खेलेका हुन् र यिनीहरुको राष्ट्र र नागरिकमाथि केही योगदान रहेको छैन । नेपाली कलाकार राजनीतिक दलका कार्यकर्ता हुन् किनभने कलाकार भएका भए किन राजनीतिक पार्टीको झोला बोक्नुपर्यो । नेपाली कलाकारसँग कलाकार हुने एउटा पनि गुण रहेको छैन ।
अब सरकारले सरकारको स्वीकृत बिना गीत, भिडियो तथा फिल्म बनाउन पाइँदैन भनेर कानून बनाउनुपर्छ र सामाजिक आचरणको पालना नहुने कपडा तथा अश्लील शब्दहरु बोल्न नपाइने भनेर पनि कानुन निर्माण गर्नुपर्छ । सरकारले चलचित्र क्षेत्रका लागि कानून नबनाउने हो भने चलचित्र क्षेत्र नेपालको सम्मान नभई बेथितिले भरिएको क्षेत्रको रुपमा चिनिने छ । राज्यले कलाकार तथा निर्माताको सम्पत्ति छानबिन गरेर कालो धन राष्ट्रियकरण गर्नुपर्छ । कलाकार कलाकार हुन् भनेर जे पनि गर्न पाइँदैन । राज्य तथा नागरिकले यस्ता नराम्रा कुरा बहिष्कार गर्नुपर्छ । सरकारले अबदेखि सामाजिक मूल्यमान्यता र आचरणको पालना नगरिएका फिल्महरु बन्न तथा चल्नमा रोक लगाउनुपर्छ ।
रुषा थापा ।