सूचनाको शक्ति - The Power Of Information

        

अर्थ–विकास

निर्माण सकिएसँगै राप्ती नदीको ‘मदुवा घाट पुल’ सञ्चालनमा

पुल निर्माण कार्य समयमै पुरा भएसँगै पहिलो पटक सवारीसाधनका साथै नागरिकहरुको आवागमन हुँदा स्थानीयहरु निकै उत्साहित भएका छन् ।

राप्ती नदीको मदुवा घाटमा पक्की पुलको निर्माण पुरा भएको छ । पुल निर्माणसँगै उक्त क्षेत्रका जनतालाई आवागमनमा सहज बनेको छ ।

निर्माणको ठेक्का पाएको तुँण्डी रसुवा कुमार श्रेष्ठ जेभीले निर्धारित समयमै पुल निर्माण गरेको हो । राप्तीसोनारी गाउँपालिका वडा नं.२ र ५ को सिमानामा पर्ने राप्ती नदीको मदुवाघाटमा ५५० मिटर लामो पक्की पुल निर्माण कार्य सम्पन्न गरेको छ ।

विभिन्न पुल र सडक निर्माणको ठेक्का पाएका अधिकांश निर्माण कम्पनीले समयमा काम पुरा नगरेर अलपत्र पारिरहेको बेला ७३ करोड लागतमा पुल निर्माण कार्य समयमै पुरा भएसँगै पहिलो पटक सवारीसाधनका साथै नागरिकहरुको आवागमन हुँदा स्थानीयहरु निकै उत्साहित भएका छन् ।

ठेकेदार कम्पनी तुँण्डी रसुवा कुमार श्रेष्ठ जेभीका निर्देशक सुजित श्रेष्ठले पुलको साइडको थोरै काम बाँकी रहे पनि अन्य निर्माणका काम सम्पन्न भइसकेकाले निर्माण सवारी साधनको आवागमन चालु गरिएको बताए ।

पुलको अभावले सो क्षेत्रका वासिन्दाले निकै टाढा अगैया पुगेर आवागमन गर्नु परेकोमा अहिले पुल निर्माण भएर सवारी साधन सुचारु गरिएपछि सो क्षेत्रका सयौं सर्वसाधारणले राहात महसुस गरेको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले बताए ।

२०७४ सालबाट निर्माण सुरु भएको उक्त पक्की पुल ५ बर्षभित्र अर्थात् गत असार मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । सोही अनुरुप कम्पनीले पुलको निर्माण कार्य सम्पन्न गरेको ठेकेदार कम्पनीले जनाएको छ ।

निर्माण कम्पनीका अनुसार ११ वटा पिल्लर रहेको उक्त पक्की पुल ७.५ मिटर चौडाई पिच र पुलको दुवै साईडमा १ः७५ मिटरको पैदल यात्रुका लागि बाटो गरि जम्मा ११ मिटर पुलको चौडाई रहेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार ११:३३