सूचनाको शक्ति - The Power Of Information

        

समाचार

दम्पती हत्यापछि शोकमग्न बन्यो ‘ओढारपुर’, स्थानीय त्रासमा

आफ्नै घरमा सुतेको व्यक्तिमाथि भएको यो घटनापछि बस्ती पूरै त्रासमा छ ।

भाईबुहारीको हत्यामा संलग्न विजयकुमार र पत्नी रेखा ।

बाँकेको कोहलपुर–१४ ओढारपुरका कृष्णकुमार गडरिया दम्पतीको घरमै सुतेको अवस्थामा सोमबार राति हत्या भएपछि बस्ती नै शोकमा छ । घरमै सुतिरहेका व्यक्तिको योजनाबद्ध तरिकाले हत्या भएको खबरले सबैमा डर र त्रास उत्पन्न भएको स्थानीयवासी रामसोहन खटिकले बताए ।

२५ वर्षीय कृष्ण र उनकी २३ वर्षीया पत्नी अञ्जलीको मङ्गलबार बिहान आफ्नै घरमा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । ‘आफ्नै घरमा सुतेको व्यक्तिमाथि भएको यो घटनापछि बस्ती पूरै त्रासमा छ,’ उनले भने, ‘यस घटनापछि गाउँका धेरै व्यक्ति चिन्तित छन् ।’

कृष्णका सहोदर दाजु विजयकुमार र पत्नी रेखाको योजनामा घटना भएको तथ्य प्रहरीले पत्ता लगाएपछि स्थानीयवासी आक्रोशित भएका छन् । मृतक दम्पतीको बिहीबार दाहसंस्कार भएको छ । आफ्नै दाजुबाट धन र अन्य सम्पत्तिको लोभमा यस्तो अपराध हुनाले समाजमा डर र त्रासमात्रै नभई नकारात्मक सन्देश फैलिएको अर्का स्थानीयवासी अनिता पौडेलले बताइन् ।

ती दम्पतीको हत्यामा नेपालगन्ज उपमहानगरपालिका–१९ सुर्जीगाउँका १९ वर्षीय राजन सोनकर र नेपालगन्ज–१८ लग्दहवाका २६ वर्षीय सकिल अली शेषको संलग्नता पुष्टि भएको कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिएका छन् ।

उनका अनुसार पक्राउ परेका आरोपीले प्रहरीसमक्ष घटना स्वीकारेका छन् । गडरिया दम्पतीको एक वर्ष पहिलेमात्र विवाह भएको थियो । कृष्णका सहोदर दाजु विजयकुमार र पत्नी रेखाको योजनामा नेपालगन्जका सोनकर र शेषलाई प्रयोग गरिएको तथ्य पनि प्रहरीले पत्ता लगाएको छ ।

गडरिया दम्पतीको हत्या घाँटीमा डोरीले कस्दा निस्सासिएको र हातको नशासमेत काटिएर अत्यधिक रक्तश्रावबाट भएको शव परीक्षण रिपोर्टबाट देखिएको छ । रु.पाँच लाखमा भाइ बुहारीको हत्या गर्न ती अभियुक्तलाई दाजु विजयकुमारले ‘सुपारी’ दिएर योजना बनाएको तथ्य खुलेको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

‘डेढ महिनाअघि नै रु दुई लाख उनीहरूले बुझिसकेका रहेछन्, घटना हुनुभन्दा अघिल्लो दिन रु.५० हजार दिइएको रहेछ,’ प्रहरी नायब उपरीक्षक मल्लले भने, ‘बाँकी रु.साढे दुई लाख केही समयपछि दिइने कुरा भएको अनुसन्धानबाट खुलेको छ ।’ घटनाका बारेमा थप अनुसन्धान र कानुनी कारबाही अघि बढेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार ०८:२२