सूचनाको शक्ति - The Power Of Information

        

समाचार

हिरासतभित्रै महिलामाथि बलात्कार प्रयास, घटना लुकाउन एसपी अधिकारीको निर्देशन

बाँकेको सुरक्षा मजबुद रहेको दाबी गर्ने बाँकेका एसपी श्यामकृष्ण अधिकारीलाई यतिबेला आमनागरिकले प्रश्न गर्दै भन्छन्, ‘आफ्नै हिरासतमा रहेका थुनुवा त प्रहरीबाट सुरक्षित छैनन्, एसपी साब तपाईले बाँकेबासीको सुरक्षा कसरी गर्नुहुन्छ ?’

हिरासतमा मात्रै नभई जिल्लामा बसोबास गर्ने नागरिकको जिउधनको सुरक्षाको जिम्मेवारी लिएको प्रहरीले नै राक्षसी प्रवृत्ति देखाएपछि यतिबेला नेपाल प्रहरीको नैतिकतामाथि प्रश्न खडा भएको देखिएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुर प्रहरीमा कार्यरत एक असईले थुनुवा महिलामाथि नै बलात्कार प्रयासको आरोप खेपेका छन् । बाँकेमा एसपी अधिकारीको कमजोर प्रशासनका कारण प्रहरीकै हिरासतमा थुनुवाका रूपमा रहेका महिलासम्म सुरक्षित हुन सकिरहेका छैनन् ।

कोहलपुर प्रहरीको हिरासतमा रहेकी एक थुनुवा महिलालाई प्रहरीका असईले नै बलात्कार गरेको आरोप लागेको छ । बहुविवाह मुद्दामा हिरासतमा रहेकी महिलालाई ती असईले शुक्रबार बिहान करिब २ बजेको समयमा बलात्कारको प्रयास गरेको खुलेको छ ।

हिरासतमा रहेकी ती महिलालाई कोहलपुर प्रहरीको मुद्दा फाँटमा कार्यरत असई प्रविण चौलागाईले बलात्कारको प्रयास गरेको आरोप लागेको छ । चौलागाई रातको समयमा मदिरा पिएर मस्त भएको पनि प्रहरी अधिकारीहरु नै बताउँछन् ।

मदिरा खाएको भनिएका असई चौलागाईले थुनुवा कक्षमा रहेकी ती महिलालाई सोधपुक्षमा लागी भन्दै बोलाएर अर्को कोठामा लगेको र बलात्कारको प्रयास गरेको आरोप छ । आरोपित असई चौलागाईले भने आफुले थुनुवा महिलामाथि बलात्कारको प्रयास नगरेको बताएका छन् ।

आफु र श्रीमती थुनुवामा रहेको समयमा राती २ बजेको समयमा प्रहरीले सोधपुक्षको लागि भन्दै श्रीमतीलाई बोलाएर लगेको पीडित थुनुवा महिलाका श्रीमान बताउँछन् । उनकाअनुसार केही समयपछि श्रीमति आएर रून थालेपछि आफुले र अन्य साथीले के भयो भनेर सोधपुछ गर्दा उनले घटनाका बारे बताएकी हुन् ।

घटना सार्वजनिक भैसकेपछि जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारी, डिएसपी मधुसुदन न्यौपाने बलात्कार प्रयासको घटना ढाकछोपमा सक्रिय रहेको नागरिक बताउँछन् । घटना सार्वजनिक भएपछि एसपी अधिकारीको निर्देशनमा नेपालगन्जका डिएसपी मधुसुदन न्यौपाने कोहलपुर पुगेका थिए ।

डिएसपी न्यौपाने कसरी हुन्छ उक्त घटना ढाकछोप गर्ने र बलात्कार प्रयासमा सक्रिय भनिएका असईलाई कानूनी दायराबाट उन्मुक्ति दिने भन्ने योजनामा लागेको प्रहरी बृत्तमै चर्चा चर्चा चलिरहेको छ । यद्यपी इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐनबहादुर मल्ल केही दिनदेखि विदामा रहेको खुलेको छ ।

बाँकेको सुरक्षा मजबुद रहेको दाबी गर्ने बाँकेका एसपी श्यामकृष्ण अधिकारीलाई यतिबेला आमनागरिकले प्रश्न गर्दै भन्छन्, ‘आफ्नै हिरासतमा रहेका थुनुवा त प्रहरीबाट सुरक्षित छैनन्, एसपी साब तपाईले बाँकेबासीको सुरक्षा कसरी गर्नुहुन्छ ?’ बाँके प्रहरी र यहाँका प्रहरी कमाण्डरहरु शुरूदेखि नै बदनामी कमाउँदै आएका छन् ।

तर, राज्यको गृह मन्त्रालय र केही राजनीति दलहरुले यस्ता बदनामी प्रहरी अधिकारी र कर्मचारीको संरक्षण गर्दा यतिबेला थुनुवा महिलाले समेत प्रहरी हिरासतमै बलात्कारको शिकार हुनुपरेको देखिएको छ । नागरिकलाई मापसे सेवन गर्ने प्रहरी नै मदिरा खाएर थुनुवामाथि बलात्कारको प्रयास गर्दा अझै घटना ढाकछोप गर्न खोज्ने बाँके प्रहरीका अधिकारीमाथि नै कारवाही गरिनुपर्ने नागरिकको आवाज छ ।

घटना सार्वजनिक भैसक्दा पनि बाँके प्रहरीले ‘हामीले त्यस्तो गर्ने भन्ने कुरा नै हुन्न । उनीलाई सोधपुछ मात्र भएको हो,’ भनेर भुटको खेती गर्नु र दोषीलाई बचाउन खोज्नु कतिसम्मको घृणित कार्य हो आम नागरिकले मुल्याङ्कन गर्ने बेला आएको देखिएको छ । ठाउँका ठाउँ असई चौलागाई र कमाण्ड गतिलो सम्हाल्न नसकेको जिल्ला प्रहरीको नेतृत्वमाथि कारवाही हुनुपर्ने कोहलपुरबासीको अडान छ ।

घटना सार्वजनिक भैसकेपछि छानबिनका लागि भनेर समिति गठन गर्नुको कुनै तुक नभएको नागरिकहरु बताउँछन् । बाँकेका प्रहरी प्रवक्ता नेपालगन्जका डीएसपी मधुसुदन न्यौपाने एसपी अधिकारीको निर्देशनमा कोहलपुर गएर घटना मिलाउनका लागि पत्रकारदेखि स्थानीय राजनीतिक दल र नागरिकहरूसँग हारगुहार तथा विन्ति गरिरहेको कोहलपुरका पत्रकार श्रीधर सुवेदी बताउँछन् । (ईसेतोखरीबाट)

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार १६:०३