सूचनाको शक्ति - The Power Of Information

        

२१ औं फ्लोरा एक्स्पोको तयारि पुरा

काठमाडौं । पुष्प व्यवसायको विकास विस्तार र प्रर्वद्धन लागी हुन गइरहेको पुष्प व्यावसायीहरुको छाता संस्था फ्लोरिकल्चर एशोसिएसन नेपालको २१ औं फ्लोरा एक्स्पो आयोजनाको तयारि पुरा भएको छ ।

नेपाल सरकार कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोग तथा पुष्प विकास केन्द्रको सहकार्यमा फ्लोरिकल्चर एशोसिएसन नेपाल भृकुटीमण्डप प्रर्दशनीहलमा उक्त एक्स्पो सञ्चालन गर्न लागेको हो । ‘स्वच्छ वाताबरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ नाराका साथ आयोजना हुन लागेको एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार, एक्स्पोमा मौसमी फूल, आलंकारीक बोट विरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रबिधी र विषादीका प्रदर्शनी तथा विक्री कक्ष रहने छन् । साथै मेलामा जम्मा ८२ वटा स्टल रहने छन । जसमध्ये १० वटा अफिसिल स्टल, १ वटा प्रतियोगितात्मक प्रदर्शनीको, ४ वटा ल्याण्डस्केपिङ्गका, ६५ वटा व्यवसायीक स्टल र २ वटा फूडस्टल रहने श्रेष्ठले उल्लेख गरे ।

 उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट फूल्ने बिरुवा, उत्कृष्ट ल्याण्डस्केप, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट स्टल, उत्कृष्ट कट फ्लावर (गुलाब), उत्कृष्ट कट फ्लावर (कार्नेशन), उत्कृष्ट कट फ्लावर (जरबेरा), उत्कृष्ट कट फ्लावर (ग्लाडुओलस गरि १० विधामा प्रतियोगिता गराइने छ । साथै २०४२ सालमा स्थापित झापा जिल्ला, मेची नगरपालिकामा रहेको राज कमल नर्सरीलाई कदर पत्रद्वारा सम्मान गरिने तिमिल्सिनाले उल्लेख गरे ।

एसोसिएसनका अनुसार गत बर्ष सम्पन्न तेस्रो अन्तराष्ट्रिय फ्लोरा एक्स्पोमा ६५ हजारले अवलोकन र ७५ लाखको व्यवसायीक कारोबार भएकोमा यस वर्ष ६० हजार अवलोकन कर्ताद्वारा अवलोकन हुने तथा ६० देखि ६५ लाख बराबरको व्यवसायीक कारोबार हुने अनुमान छ ।

एसोसिएसनले यस अघि पोखरा, धरान, लगायत देशका अन्य क्षेत्रमा फूल खेति सम्वन्धी तालिम, गोष्ठि तथा क्षेत्रीय स्तरका मेला गरिसकेको छ, आगामी वर्षमा देशका सातओटै प्रदेशमा एक एक ओटा प्रदेश स्तरिय मेला गरिसक्ने बताएको छ । त्यस्तै, १५ वर्ष अगाडी फूलको आन्तरिक उत्पादन २० प्रतिशत रहेकोमा हाल आएर ८० प्रतिशत पुगेको एसोसिएसनका अध्यक्ष श्रेष्ठले बताए । सरकारले पनि फूल खेतीलाई र फूलको वजार परुवद्र्धन गर्न भनेर हरेक वर्ष वजेट विनियोजन गर्ने गरेको बताउदै श्रेष्ठले फूलको लागि आएको वजेटको ८० प्रतिशत रकम आधुनिक ग्रीनहाउस निर्माणमा खर्च भईरहेको र वांकि २० प्रतिशत रकम वजार विस्तार तथा अन्य स साना काममा खर्च हुने गरेको जानकारि दिए ।

नेपालमा बिस २०११ बाट सामान्य स्तरमा सुरु भएको पुष्पव्यवसाय काठमाडौंमा मात्र केन्द्रिकृत नभएर धनगढी, पोखरा, नारायणघाट, हेटौंडा, बुटवल, विराटनगर, धरान, झापा लगायतका क्षेत्रमा विस्तार भईसकेको छ । गत आब २०७३÷७४ सम्म आई पुग्दा ४१ जिल्लामा लगभग ६ सय ७८ ठाँउमा पुष्प व्यवसाय बिस्तार भईसकेको छ । त्यस्तै, १ सय ५३ हेक्टर क्षेत्रफलमा पुष्प खेति भईरहेको छ । करिव ४३ हजार भन्दा बढिलाई रोजगारी दिन सफल भएको पुष्प व्यवसाय क्षेत्रले गत वर्षसम्ममा जम्मा १ अर्व भन्दा बढिको कारोबार गर्न सफल भएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । एसोसिएसनका अनुसार आब २०७३÷७४ मा १० करोड बराबरको पुष्प तथा पुष्पजन्य बस्तुको आयात भएकोे छ । त्यस्तै, पुष्प व्यवसायमार्फत बार्षिक १० देखि १५ प्रतिशत हाराहारीमा बार्षिक बृद्धिदर रहेको बताइएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहीबार १५:१९