सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

लुम्बिनी प्रदेशमा मन्त्री हेरफेरको सम्भावना कति ?

सरकारमा रहेका मन्त्रीहरुले हट्न नमानेपछि मन्त्री फेरबदलको गृहकार्य पनि अलपत्र पर्ने देखिएको छ ।

मन्त्रीले हट्न नमानेपछि लुम्बिनी प्रदेशमा मन्त्री फेरबदलको सम्भावना कमजोर बनेको छ । काँग्रेसबाट मन्त्री बनेकाहरूले आफूहरूलाई नहटाउन पार्टीको केन्द्रीय नेतृत्वलाई दवाव दिन थालेका छन् ।

काँग्रेसबाट मन्त्री भएकालाई माओवादी मन्त्रीले समेत सरकार नछाड्न दवाव दिएको सरकारमा सहभागी एक मन्त्रीले जानकारी दिए । ‘काँग्रेस मन्त्रीले छाड्दा आफूहरु पनि हट्नुपर्ने डरले सरकार नछाड्न दवाव दिइरहेका छन्, पार्टी नेतृत्वसँग सल्लाह नगरी हामी पनि मन्त्रीबाट हट्ने कुरा आउँदैन,’ ती मन्त्रीले भने ।

गठबन्धन सरकार बन्ने बेला नै २०७८ साउनमा काँग्रेस र माओवादी केन्द्रबीच आठ–आठ महिना आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । तर सरकारको नेतृत्व फेरबदलले गठबन्धनमै समस्या आउन सक्ने देखिएपछि मन्त्री फेरबदलमा दुवै दल सहमत देखिएका थिए ।

तर सरकारमा रहेका मन्त्रीहरुले हट्न नमानेपछि मन्त्री फेरबदलको गृहकार्य पनि अलपत्र पर्ने देखिएको छ । आर्थिक वर्ष २०७९–०८० को बजेट पारित भएपछि काँग्रेस र माओवादी केन्द्रबीच मन्त्री फेरबदल गर्ने आन्तरिक सहमति भएको थियो । साउन ५ गतेभित्रै मन्त्री फेरबदल गर्ने सहमति भए पनि हाल कायम मन्त्रीले हट्न नमानेपछि गृहकार्य लम्बिएको हो ।

सत्तारुढ काँग्रेसले असार १३ गते संसदीय दलको बैठक बोलाएर मन्त्री परिवर्तन गर्ने निर्णय गरेको थियो । संसदीय दलको बैठकमा मन्त्रीले आफूहरु सरकारबाट हट्ने कागजमा हस्ताक्षरसमेत गरेका थिए । काँग्रेस प्रदेश सभाका प्रमुख सचेतक फकरुद्दिन खानले पार्टीको संसदीय दलले नै निर्णय गरेको र मन्त्रीहरूले निर्णयमा समेत हस्ताक्षर गरिसकेकाले फिर्ता हुन नखोजेको भन्ने हल्लामात्र भएको बताए ।

‘संसदीय दलले गरेको निर्णय कार्यान्वयन हुन्छ, हट्न नमानेको भन्ने कुरा गलत हो, आफैले हस्ताक्षर गरेको कुरा कार्यान्वयन नगर्ने प्रश्नै हुँदैन,’ उनले भने । काँग्रेसबाट अहिले लुम्बिनीमा पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रीमा डिल्लीबहादुर चौधरी (दाङ), ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीमा वीरबहादुर राना (पाल्पा), वन, वातावरण तथा भूसंरक्षण मन्त्रीमा सुरेन्द्रबहादुर हमाल (बाँके) र शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रीमा बसिउद्दिन खाँ (रूपन्देही) छन् ।

मन्त्री भएका रानाबाहेक अन्य संस्थापन पक्षका हुन् । अब मन्त्री हुने लाइनमा संस्थापन इतर पक्षका धेरै भएकै कारण मन्त्रीहरूले केन्द्रमा दबाब दिएर सरकारबाट बाहिरिन नचाहेपछि कांग्रेसले नयाँ नाम दिन नसकेको हो । प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता पनि देउवा निकटका वीरेन्द्र कानौडिया छन् ।

काँग्रेसभित्रको दुई समूहको विवादमा माओवादीबाट मन्त्री बनेकाले पनि मन्त्री हेरफेर नहुने वातावरण तयार गर्न आन्तरिक रूपमा लागिरहेको बताइएको छ । माओवादीका मन्त्रीले पनि हेरफेर नगर्ने विषयमा काँग्रेसको नेतृत्वसँग लबिङ गरिरहेको र त्यही विषयमा दलका नेता कनौडियासँग पनि छलफल गरिरहेको काँग्रेसकै एक प्रदेश सभा सदस्यले बताए ।

 

 

न्युज कारखाना

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार ०९:५५