सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजार : लगानीकर्तामा आशा जगाउँदै विदा


काठमाडौं । २०७४ सालको अन्तिम कारोबार दिनको बजारले लगानीकर्तामा आशा जगाउँदै विदा लिएको छ । यो वर्ष उतारचढावको तीव्र नागबेली गतिविधि भोगेको बजार जाँदाजाँदै लगानीकर्तामा आशाको दीप जगाइदिएको हो ।
अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ४.२२ अंकले बढेको छ भने अघिल्लो दिनको तुलनामा कारोबार रकममा उछाल देखिएको छ । यो दिन ४४ करोड ३० लाख बढीको सेयर किनबेच भएको हो । वर्षकै अन्तिम दिन लगानीकर्ताले ‘क’ वर्गका कम्पनीमा केही खरिदारी बढाएका कारण सेन्सेटिभ इण्डेक्स ०.७३ अंकले बढेको छ । यस्तै, समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.२५ अंकको वृद्धि भयो ।
यो दिन बैकिङ्ग समूह १.१२ अंक तथा बित्त समूह ५.०६ अंकले घटे पनि बाँकी सबै समूहको सूचक हराभरा भए । बिमा समूह ७९.८७ अंकले बढ्यो भने विकास बैंक, माइक्रोफाइनान्स, जलविद्युत र होटल समूहमा क्रमशः ११.४१, १०.७१, ०.६७ र १९.५८ अंकको वृद्धि भयो । यस्तै, उत्पादनमूलक समूहमा ३८.७४ र अन्य समूह ४.०२ अंकको वृद्धि भयो ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६५ कम्पनीका १३ लाख २९ हजार ९३० कित्ता सेयर ४४ करोड ३० लाख ९६ हजार २६६ रुपैयाँमा किनबेच भयो । यो दिन नवील बैंकको २ करोड ४६ लाख बढीको संस्थापक सेयर किनबेच भयो । यस्तै, ओम डेभलपमेन्ट बैंकले १ करोड ९७ लाख, गुराँस लाइफ इन्स्योरेन्सले १ करोड ८० लाख, प्रिमियर इन्स्योरेन्सले १ करोड ५५ लाख, नेशनल लाइफ इन्स्योरेन्सले १ करोड ५२ लाख, सूर्या लाइफ इन्स्योरेन्सले १ करोड ४७ लाख, नेपाल ग्रामीण विकास बैंकले १ करोड ३८ लाख, नवील बैंकले १ करोड ३७ लाख, चिलिमे हाइड्रोले १ करोड ३३ लाख र स्ट्याण्डर्ड चार्टर्डले १ करोड १४ लाख बढीको कारोबार गरे ।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन कमाउनेहरुको सूचिमा बिमा कम्पनी अगाडि देखिए । प्रिमियर इन्स्योरेन्सले सबैभन्दा बढी कमायो । यो कम्पनीको सेयर मूल्य ६.७४ प्रतिशतले वृद्धि भयो । यस्तै, सूर्या लाइफको मूल्य ५.७९ र गुराँस लाइफको ५.६५ प्रतिशतले वृद्धि भयो । यो दिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका संस्थापक सेयरधनीले सबैभन्दा धेरै गुमाए । नेपाल लाइफको संस्थापक सेयरको मूल्य १० प्रतिशतको हाराहारीमा घट्यो ।

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहीबार १२:४८