सूचनाको शक्ति - The Power Of Information

        

आज देशभर वर्षाको सम्भावना

साउनको सुरुवातीदेखि नै निरन्तर हुँदै आएको वर्षा आज बिहीबार पनि देशैभर हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज बिहीबार देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । शुक्रबार भने देशभर सामान्य बदली रहनेछ ।

महाशाखाका अनुसार शुक्रबार पनि देशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार ०७:२०