बाँके । बाँकेको नेपालगन्जमा रहेको प्रसिद्ध शक्तिपिठ, बागेश्वरी मन्दिरको चौतर्फी विकासका लागि गुठी संस्थान सक्रिय हुँदै त्यसका लागि बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति गठनसँगै छानबीन समिति गठन गरेको छ । नेपालगन्ज र पश्चिम नेपालकै धार्मिक आस्थाको केन्द्रबिन्दुको रुपमा रहेको बागेश्वरी मन्दिरको चल अचल सम्पत्ती छानबीन समितिमार्फत खोजी हुने भएको छ । केन्द्रीय गुठी संस्थान काठमाण्डौले नेपालगन्जस्थित बागेश्वरी मन्दिर गुठी व्यवस्थापनका लागि नयाँ समिति गठन गरे पश्चात अव नयाँ व्यवस्थापन समितिले बागेश्वरी मन्दिर गुठीको सुरुदेखि हालसम्मको चलअचल सम्पत्ती छानविन गर्ने भएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा.धवलशम्शेर राणाको अध्यक्षतामा गठित १५ सदस्यीय बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो । बागेश्वरी मन्दिर गुठीको नाममा रहेको चल अचल सम्पत्ती छानवीन तथा खोजीका लागि उप महानगरपालिकाका उपप्रमुख उमा थापा मगरको संयोजकत्वमा पाँच सदस्यीय अधिकार सम्पन्न समिति गठन भएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रतिनिधि, मालपोत कार्यालयका प्रतिनिधि, उच्च अदालत वार एसोसिएसनका प्रतिनिधि तथा गोपाल प्रसाद अधिकारी सम्मिलत सदस्य रहेको समितिले बागेश्वरी मन्दिरको सम्पत्ती विवरण समेत तयार गर्ने वताइएको छ ।
साथै बैठकले बागेश्वरी मन्दिरको ईतिहास झल्कने ब्रोसर प्रकासन, मन्दिरको सरसफाई, मन्दिरको भौतीक पुर्वाधार बिकास लगाएतका कार्य समेत गरिने बताईएको छ । बागेश्वरी गुठीमा विजय गुप्ता उपाध्यक्ष, गोपाल अधिकारी सचिव, दिपक कुमार श्रेष्ठ कोषाध्यक्ष भएका छन् । सदस्यहरुमा मन्दिरका मुल महन्थ चन्द्रनाथ योगी, उपप्रमुख थापा, नेपालगन्ज–२ का वडाध्यक्ष सुनिल सिंह हमाल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत, जिल्ला मालपोत कार्यालयका अधिकृत, उच्च अदालत बारका प्रतिनिधि, गुठी संस्थानका केन्द्रीय सदस्य ओमप्रकाश आजाद, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ का गभर्नर मधुसुदन शर्मा रिजाल, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य लगायत रहेका छन् ।
गुठी संस्थानले बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति गठन आदेशसँगैै प्रत्येक ६-६ महिनामा मन्दिरको आय–व्याय विवरण संस्थान, जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयमा पठाउन निर्देशन पनि दिएको छ । त्यस्तै, आर्थिक बर्ष सकिएको ९० दिनभित्र लेखा परीक्षण गरी तोकिएका निकायमा पठाउने निर्देशन दिएको गुठी संस्थानले तत्काल समितिको खाता खोलेर भक्तजनहरुले मन्दिरमा चढाएको दान, दातव्यको लगत राखी आम्दानी बाध्न भनेको छ । ‘मन्दिरको विकासका लागि स्थायीय जनसहभागिता जुटाई विकास, निर्माणलाई तिव्रता दिन पनि गुठी संस्थानले निर्देशन दिएको छ’, अधिवक्ता लोक बहादुर शाहका अनुसार, ‘गुठी, सम्पदा र सम्पत्तिको संरक्षण गर्ने गराउनेमा तदारुखता खोजेको छ ।’ यसपटकको बैठकले बैठकले जिल्ला मालपोत कार्यालयमा बर्षौदेखि रहेको बाकस खोल्ने प्रक्रियालाई पनि अगाडी बढाउने निर्णय गरेको बताइएको छ ।
।