सूचनाको शक्ति - The Power Of Information

        

कक्षा १० को परीक्षाफल आज : गत परीक्षाकै कार्यविधि लागु गर्ने निर्णय, लब्धांकपत्र सबैले पाउने

माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को परीक्षाफल आज बुधबार २ बजे प्रकाशित हुँदै छ । नयाँ कार्यविधिमा भएको केही प्रावधान हटाएर गत वर्षकै आधारमा ग्रेडिङ विधि लागु गरी परीक्षाफल प्रकाशित गर्ने भएको छ ।

लेटर ग्रेडिङ पद्धति कार्यविधि–२०७८ लागु गर्दा धेरै विद्यार्थीले लब्धांकपत्र नपाउने र ननग्रेडेड आउने देखेपछि राष्ट्रिय परीक्षा बोर्डको बैठकले गत सालकै कार्यविधिअनुसार परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो ।

हिजो मंगलबार दिउँसो परीक्षाफल प्रकाशित गर्ने गरी बोर्डको बैठक डाकिएको थियो । तर, बैठक अघिल्लो परीक्षाको कार्यविधि र एक्सफेल विद्यार्थीको संख्याको निर्णय गरेर सकेको थियो । स्रोतका अनुसार एक्सफेल विद्यार्थीको संख्या १ सय ३ रहेकोे छ ।

स्रोतका अनुसार बैठकमा मंगलबार नै परीक्षाफल प्रकाशित गर्न दबाब बढेको थियो । तर, बोर्डले केही ठोस कारण नै नभई आज बुधबारलाई सारिएको दाबी गर्दै स्रोतले भन्यो– ‘बोर्डका सदस्यले डमी परीक्षाफल, पुरानै कार्यविधिअनुसार नै प्रकाशित गर्ने निर्णय गरिसकेको थियो । तैपनि बोर्डका अधिकारीले भोलि गरौं भनी परीक्षाफल प्रकाशित गरेनन् ।’

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार ०७:२१