नेपालमा पनि टेस्टट्युब बेबीको प्रयोग बढेको छ । निःसन्तानलाई वरदान सावित टेस्टट्युब बेबीका लागि बिर्य चाहिन्छ । महिलाको पाठेघर सबै ठीक छ । तर, पुरुषको शुक्रकीटमा समस्या छ भने त्यस्तो समस्यामा आइयूआई विधि अपनाइन्छ ।
यो पाठेघरमा सोझै पुरुषको शुक्रकीट राख्ने विधि हो । यो विधिबाट पनि बच्चा नभएकालाई आइभीएफ विधिमा लगिने गरिन्छ । आइयूआई भनेको योग्य पुरुषबाट कुनै उपयुक्त भाँडोमा शुक्रकीट जम्मा गरिन्छ । उक्त शुक्रकीटलाई नलीको माध्यमबाट महिलाको पाठेघरको भित्तामा पुर्याएर छोडिन्छ ।
तर महिलाको पाठेघरको ट्युबमा समस्या छ, गर्भ निषेचन प्रक्रिया (फर्टिलाइजेसन) हुन सक्ने अवस्था छैन र पुरुषको पनि बिर्य कमजोर छ भने आइभीएफ विधि प्रयोग गरिन्छ । आइयूआई गरेर पनि बच्चा नहुने, अण्डा नै उत्पादन नहुने, महिनावारी नियमित नहुने महिलाका लागि आइभीएफ विधि अपनाइँदैन ।
कतिपय जोडीले आइयूआई र आइभीएफ विधिबाट सन्तान पाएका धेरै उदाहरण छन् । उनीहरुका लागि बिर्य दाता चाहिन्छ । उक्त बिर्यको चाँजोपाँजो आइयूआई र आइभीएफ विधिको सेवा दिइरहेका निकायले नै मिलाउँछन् । उनीहरुले बिर्य दातालाई खोजेर बिर्य संकलन गरेर उपयुक्त वातावरणमा सञ्चय गरेर राखेका हुन्छन् ।
नेपालमा धेरै आइयूआई र आइभीएफ विधिको सेवा दिनका लागि स्वास्थ्य संस्था सञ्चालनमा छन् । सातदोबाटोस्थित क्रियटर्स नेपाल नामक आइभीएफ केन्द्रले योग्य युवकको बिर्य दान लिने गरेको छ । यसरी बिर्य दान लिँदा क्रियटर्स नेपाल आइभीएफ केन्द्रले एक पटकको एक हजार रुपैयाँ रकम दिने गर्दछ ।
हरेक तीन दिनमा एक पटक सोही व्यक्तिको बिर्य संकलन गर्ने गरेको त्यहाँ ल्यावमा कार्यरत एक अधिकारीले बताए । यसरी एकछिन आएर एउटा युवकले एक महिनामै १० देखि १२ हजारसम्म लग्ने गरेको उनले बताए । काठमाडौंको नारायणचौरस्थित फर्टिलिटी सेन्टरले पनि यसरी नै बिर्य संकलन गर्ने गरेको छ ।
यहाँबाट योग्य युवकले आर्थिक लाभ लिएको र सन्तानको अभावमा जीवन नै अध्यारो भएको जोडीले सन्तान पाएको एक अधिकारीले बताए । यहाँको दर पनि एक पटकको एक हजार नै छ । तर बिर्य दानका लागि दाताको निश्चित उमेर समूह र कुनै पनि रोग नभएको हुनुपर्छ । बिर्य दान लिनुभन्दा पहिले सबै स्वास्थ्य परीक्षण गरिन्छ ।
स्वास्थ्य परीक्षणमा कुनै समस्या नभएमा उक्त युवालाई बिर्य दानका लागि योग्य ठहराइन्छ । उमेर समूह पनि निश्चित मात्र हुन्छ । कानून अनुसार वैवाहिक उमेर पुगेको (अहिले २० बर्ष) र ३० बर्ष ननाघेकोलाई मात्र बिर्य दाताको रुपमा स्वीकार गरिन्छ । ३० बर्ष नाघेपछि पुरुषको पनि बिर्यको शक्ति कम हुने भएकाले यस्तो उमेर चयन गरिएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
यसरी बिर्य लिएपछि सन्तान हुन नसकेकी महिलाको महिनावारी भएको दुई दिनमा र छसात दिनमा जाँच गरिन्छ । त्यसपछि हर्मोन बढाउने र घटाउने गरिन्छ । अण्डा बनेमा एचसीजी भन्ने इन्जेक्सन दिइन्छ । त्यसको ४० घण्टामा महिलालाई बेहोस पारी अण्डा निकालिन्छ ।
यसरी निकालिएको महिलाको डिम्ब र दान लिइएको पुरुषको शुक्रकीटलाई प्रयोगशालामा एउटा थालमा राखी इन्क्युबेटरमा राखिन्छ, जहाँ निषेचन प्रक्रिया (फर्टिलाइजेसन) हुन्छ । यसरी बनेको भ्रुणलाई करिब ३६ देखि ४८ घण्टाका बीचमा महिलाको गर्भाशयमा प्रतिस्थापित गरिन्छ, र बच्चा जन्माइन्छ ।
सत्यपाटी । काठमाडौं ।