सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री सहभागी कार्यक्रममा नागरिकता विधेयक र एमसीसीको विरोध गर्दै नाराबाजी

 प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी एक कार्यक्रममा नागरिकता विधेयक र एमसीसीको विरोध गर्दै दुई जना युवाले नाराबाजी गरेका छन् ।

आज साेमवार भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्दा दुई युवाले प्लेकार्डसहित नागरिकता विधेयक र एमसीसीको विरोध गर्दै नारा लगाएका हुन् ।

काठमाण्डौको प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको कार्यक्रममा अन्य वक्ताहरूले बोलिसकेपछि बोल्नका लागि देउवालाई उद्घोषकले मञ्चमा बोलाएपछि जाने क्रममा दुई जना युवाले नाराबाजी गरेका हुन् । उनीहरूले राष्ट्रियताको रक्षा गरौँ, स्वाधीनताको रक्षा गरौँजस्ता नारा लगाएका थिए ।

नारा लगाउन थालेपछि नारा लगाउने युवालाई सुरक्षाकर्मीले कार्यक्रमस्थलबाट बाहिर निकालेका छन् । युवा बाहिर निस्केपछि प्रधानमन्त्री देउवाले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।

विदेशबाट बिहे गरेर आउने महिलालाई तत्कालै नागरिकता दिने गरी बनेको नागरिकता विधेयक सङ्घीय संसदको दुवै सदनबाट पारित भइसकेको छ । एमसीसी पनि यस अगाडि नै व्याख्यात्मक घोषणासहित संसदबाट पारित भइसकेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार १७:५४