सूचनाको शक्ति - The Power Of Information

        

नागरिकता नभएकालाई सामाजिक सुरक्षा भत्ता

बझाङको जयपृथ्वी नगरपालिकाले आर्थिक वर्ष २०७७–०७८ मा नागरिकता नभएकालाई पनि सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ । महालेखा परिक्षक कार्यालयको २०७९ को वार्षिक प्रतिवेदनमा नगरपालिकाले नागरिकता नम्बर नभएका र उमेर नपुगेका ९४ जनालाई सामाजिक सुरक्षाभत्ता वितरण गरेको पाइएको हो ।

सामाजिक सुरक्षा नियमावली, २०७६ अनुसार सामाजक सुरक्षा प्राप्त गर्न योग्य नेपाली नागरिकले नियमावलीको अनुसूची १ अनुसारको वैयत्तिक विवरण भरि निवेदन पेश गर्नुपर्ने उल्लेख भए पनि जयपृथ्वी नगरपालिकामा सबै विवरण नभएका ९४ जनाको नामबाट वार्षिक ३४ लाख ८४ हजार ४०० रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको हो ।

यस्तै जयपृथ्वी नगरपालिकाले आर्थिक वर्ष २०७७–०७८ कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागि १ करोड ८३ लाख ३५ हजार ३८१ रुपैंयाँ ३३ पैसा खर्च गरेको र क्वारेन्टाइन सहयोगी चार जनालाई राखेर तलब, महँगी, भत्ता–स्थानीय भत्ता र सञ्चार खर्च गरी मासिक २८ हजार २०० का दरले जम्मा ५ लाख ७८ हजार रुपैयाँ उल्लेख गरेकोमा वर्षा रावल र लक्ष्मी खड्कालाई २०७७ कार्तिक महिनामा दोहोरो तलब भत्ता रकम दिइएको पाइएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार ०८:३३