सूचनाको शक्ति - The Power Of Information

        

श्रीलङ्काका पूर्वराष्ट्रपति राजापाक्षेलाई पक्राउ गर्न माग गर्दै सिङ्गापुरमा उजुरी दर्ता

देशबाट भागेर माल्दिभ्स हुँदै सिङ्गापुर पुगेका श्रीलङ्काका पूर्वराष्ट्रपति गोटावाया राजापाक्षेलाई पक्राउ गर्न माग गर्दै सिङ्गापुरमा उजुरी दर्ता भएको छ ।

श्रीलङ्कामा दशक लामो गृहयुद्धका क्रममा राजापाक्षेले दमन गरेको भन्दै उहाँलाई पक्राउ गर्न एक अधिकारवादी समूहले सिङ्गापुरको महान्यायाधिवक्ताको कार्यालयमा उजुरी दिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

इन्टरनेशनल ट्रुथ एन्ड जस्टिस प्रोजेक्ट संस्थाले दर्ता गराएको उजुरीमा पूर्वराष्ट्रपति राजापाक्षे रक्षा प्रमुख भएको बेला सन् २००९ मा आम नरसंहार र मानव अधिकारका थुप्रै घटना भएको आरोप लगाइएको छ ।

गोटाबाया राजापाक्षेको परिवार नै सत्तामा रहँदा देशको आर्थिक अवस्था टाट पल्टिएको भन्दै प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जा गरेपछि उहाँ भागेर माल्दिभ्स जानुभएको थियो ।

माल्दिभ्स गएको तीन दिनपछि यही जुलाई १३ तारिखमा राजापाक्षे सिङ्गापुर जानुभएको थियो । राजापाक्षेले सिङ्गापुरबाटै राजीनामा दिएपछि भएको चुनावमा रनिल विक्रमासिङ्घे राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतवार १८:०६