सूचनाको शक्ति - The Power Of Information

        

पर्यटनमा ‘रिकभरी प्लान’

‘नेपाल भ्रमण दशक’ घोषणा गर्दै सरकार

पर्यटन क्षेत्र पुनरुत्थानका लागि गैरआवासीय नेपाली सङ्घको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान’ चलाउने घोषणा पनि गरेको छ ।

फाइल तस्वीर

सरकारले सन् २०२३ देखि २०३३ सम्मलाई नेपाल भ्रमण दशक घोषणा गर्ने तयारी गरेको छ । आज आइतवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो ।

पर्यटनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाल्ने क्रममा गरेको ‘रिकभरी प्लान’ ल्याउने निर्णय अनुसार आइतवार मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गरेको हो । कार्ययोजना प्रस्तुत गर्दै मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक तीन महिनाभित्र घोषणा गरिसक्ने गरी तयारी गरिरहेको बताए ।

उनले पर्यटन क्षेत्रमा अनवरत योगदान गर्ने व्यक्तिहरूलाई सम्मानस्वरूप परिचय पत्र दिने कार्ययोजना बनाएको पनि जानकारी दिए । सहसचिव लुइँटेलले नेपालमा विदेशी चलचित्र छायाङ्कनका लागि विदेशी चलचित्र निर्माता र कलाकारहरूलाई आकर्षण गर्ने विभिन्न सहुलियतहरूको व्यवस्था गरिने बताए ।

उनले सरकारले सगरमाथा आधार शिविरबारे अध्ययन गर्न समिति गठन गर्ने पनि जानकारी दिए । सहसचिव लुइँटेलले कार्ययोजना प्रस्तुत गर्दै सगरमाथा आधार शिविरको ऐतिहासिकता, वर्तमान अवस्था र भविष्यको जोखिमका सम्बन्धमा अध्ययन गर्न सगरमाथा आधार शिविर अध्ययन समिति गठन गरी त्यसैको सुझावका आधारमा आधार शिविरको वैज्ञानिक व्यवस्थापन गरिने बताए ।

त्यस्तै काठमाडौं उपत्यका लगायत अन्य पर्यटकीय स्थलहरूमा पर्यटनको बसपार्क निर्माणको कामलाई ६ महिनाभित्र अगाडि बढाउने घोषणा गरेको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मन्त्रालयले घोषणा गरेको ७३ बुँदे कार्ययोजनाले कोरोना महामारीले परेको असरलाई पुनरुत्थान गरी पर्यटन व्यवसायलाई प्रवर्धन गर्ने काम गर्ने दाबी गरे ।

मन्त्री श्रेष्ठले सरकारले नेपाललाई विश्वको एक पर्यटन आगमनको केन्द्र बनाउने गरी काम गर्ने तयारी गरेको बताए । उनले विगतमा कुनै एक वर्षलाई भ्रमण वर्षको रूपमा मनाएर पर्यटन प्रवर्द्धन पर्यटन क्षेत्रको विकास गर्ने गरिएको भए पनि वर्तमान सरकारले एक दशकलाई नै नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरिने बताए । मन्त्री श्रेष्ठले नेपाल भ्रमण वर्ष दशककै रूपमा मनाउँदा पर्यटन प्रवर्द्धन र विकासको अभियान नै भएको बताए ।

उनले पर्यटन प्रवर्द्धन र विकासको अभियान निरन्तररूपमा लगेमात्र सरकारले पर्यटन विकासमा लिएका लक्ष्य र चाहना पूरा हुने जिकिर गरे । मन्त्री श्रेष्ठले नेपाल भ्रमण दशक घोषणा मन्त्रालयको मात्रै नभइ सरकारको कार्ययोजना भएको सुनाए । उनले भ्रमण दशकबारे प्रधानमन्त्री शेरबहादुर देउवासमेत सकारात्मक रहेको बताए ।

मन्त्रालयले कोरोनाबाट शिथिल बनेको पर्यटन क्षेत्र पुनरुत्थानका लागि गैरआवासीय नेपाली सङ्घको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान’ चलाउने घोषणा पनि गरेको छ । त्यस्तै मन्त्रालयले हिमाल आरोहणका लागि ५८०० मिटरदेखि ८००० मिटरसम्मका थप हिमचुलीहरूको आरोहण ६ महिनाभित्र खुला गर्ने तयारी गरेको छ । त्यस्तै प्रयोगमा नआएका विमानस्थललाई वैकल्पिक प्रयोगमा ल्याइने घोषणासमेत मन्त्रालयले गरेको छ ।

काठमाडौं उपत्यकाभित्र रात्रिकालीन पर्यटनको प्रारम्भ र प्रवर्धन गर्न काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्रा आउँदो दुई वर्षभित्र सञ्चालन गर्ने तयारी रहेको बताएको छ । क्लिन नेपाल, ग्रीन नेपालको अवधारणा अन्तर्गत प्रदेश, पालिका, नागरिक समाज र निजी क्षेत्रसँग सहकार्य गरी महत्वपूर्ण पर्यटकीय स्थलहरूमा राष्ट्रिय सरसफाइ एवम् रङ्गरोगन अभियान एक महिनाभित्र चलाउने घोषणा गरिएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतवार १३:५५