सूचनाको शक्ति - The Power Of Information

        

विचार

पिपलको पूजा : विज्ञान, धर्म कि अन्धविश्वास ?

पाँच हजार वर्षदेखि आदरपूर्वक पिपलको पूजा गर्ने चलन निरन्तर छ । गौतम बुद्धलाई पिपलको वृक्षमुनि बसेर ध्यान गर्दा बुद्धत्व प्राप्त भइकाले यसलाई बोधिवृक्ष भनिन्छ ।

पिपलको रुखलाई प्राचीन र पवित्र रूख मानिन्छ । वैदिक कालमा पिपललाई पिप्पल र अश्वत्थ दुवै नामले जनाइन्थ्यो । धर्मग्रन्थहरु अनुसार हिन्दू धर्ममा पिप्पल वा अश्वत्थ, बौद्ध धर्ममा बोधि, जैन धर्ममा पीपल, क्रिश्चियन धर्ममा फिकस रिलिजियोसा वा फिग ट्रि भनिने पिपललाई संसारकै पवित्र रूख मानिन्छ । गौतम बुद्धलाई पिपलको वृक्षमुनि बसेर ध्यान गर्दा बुद्धत्व प्राप्त भइकाले यसलाई बोधिवृक्ष भनिन्छ । जैन धर्मका १४ औँ तीर्थङ्कर अनन्तनाथले पनि पिपलका रूखमुनि बसेर ज्ञान प्राप्त गरेको कुरा जैन साहित्यले बताउँछ ।

अङ्ग्रेजीमा फिकस रिलिजियोसा वा फिग ट्रि भनिएको छ । अङ्ग्रेजी भाषाको वंशमूल जनाउने जीनसबाट लिइएको नाम फिकस र ल्याटिन रिलिगियोसा वा रिलिजियोसाले पनि फिग ट्रि लाई क्रिश्चियन धर्मकै आधारबाट नामकरण गरिएको प्रष्ट जनाउँछ । पिपल रुखको उत्पत्ति, इतिहास, महत्व र विशेषताहरू गहन अन्वेषण गरि हेरौँ । पिपलको रूख आयुर्विज्ञानका दृष्टिकोणले महत्वपूर्ण औषधीय वृक्ष हो । आयुर्वेदिक चिकित्सामा यसको ठूलो महत्व देखाइएको छ । आयुर्वेदका ग्रन्थ अनुसार पिपलको पात, फल र बोक्रा रोग मार्ने औषधी हुन् ।

पिपल वा अश्वत्थले आन्द्रा, फोक्सो, पेट, मूत्राशय र शरीरबाट हुने रक्तस्रावलाई रोक्न सक्छ भनिएको छ (आलोक त्रिपाठी र अरविन्द कुमार, मेडिकल भ्याल्यु अफ फिकस रिलिजियोसा २०१३) । चरक र सुश्रुत संहितामा समेत पिप्पल वा अश्वत्थका थुप्रै औषधीय गुणको बयान गरिएको छ । यस रूखको सुकेको फलबाट धुलो तयार गरी पानीमा घोलेर हप्तामा दुई पटक सेवन गर्दा दमको रोग निको हुन्छ भनिएको छ । पिपलको पातमा राखेको मह चाट्दा बोली गडबडी हुने विमारी निको हुन्छ भन्ने जनविश्वास पनि छ । पिपलको परम्परागत औषधीय चिकित्सामा दम, मधुमेह, पखाला, मिरगी, ग्यास्ट्रिक समस्या, सुजन विकार, सङ्क्रामक यौन विकारसहित लगभग ५० प्रकारको विकारहरू निको पार्नका लागि प्रयोग गरिन्छ (सुनिता पञ्चवत, इन्टरनेशनल जर्नल अफ फर्मास्युटिकल्स एन्ड केमिकल साइन्सेज) ।

पिपल वा फिकस रिलिजियोसा औषधीय (फर्मास्युटिक) कम्पनीका लागि महत्वपूर्ण कच्चा पदार्थ हो । पिपल हर्बल औषधि, तेल, मलम र एलोपेथिक औषधिका क्याप्सुल र ट्याब्लेटका रुपमा पनि उपयोग गरेको पाइन्छ । पिपलको रूखलाई धर्म वा अध्यात्मको दृष्टिकोणबाट नभई विज्ञानको दृष्टिकोणबाट पनि हेर्नुपर्छ । वैज्ञानिक अनुसन्धान अनुसार पिपल एकमात्र यस्तो रूख हो, जसले दिन र रात दुवै समयमा अक्सिजन उत्पादन गर्दछ । किनभने पिपलको रुखले रातको समयमा पनि पातको रन्ध्र (स्टोमाटा) खुला राख्छन् । वनस्पतिले स्टोमाटा (पातका रन्ध्र)का सहयोगले प्रकाश संश्लेषणका माध्यमबाट वायुमण्डल बीचको अक्सिजन आदान प्रदानलाई नियमित गर्दछ ।

प्रकाश संश्लेषणका लागि वनस्पतिले प्रकाश उपलब्ध हुँदा वा दिनमा मात्र पातका रन्ध्र खुला राख्छन् । तर पिपलको रूखले रातको समयमा पनि स्टोमाटा खुला राख्छ । (विनय कुमार सिंह, वनस्पति विभाग, बनारस हिन्दू विश्वविद्यालय) । तर यसको वनस्पतिजन्य जातिवृत्त उत्क्रान्ति (फाइटोजेनेटिक्स)को अध्ययन गर्न बाँकी छ । पिपलको वनस्पतिजन्य जातिवृत्त उत्क्रान्तिबारे वैज्ञानिकहरुले थप जानकारी पत्ता लगाउँदै जालान् । तर माथि वर्णित विषयबाट यति भन्न सकिन्छ, पिपलको पातको रन्ध्र (स्टोमाटा) सधैँ खुला रहने हुनाले रातको समयमा पनि यसको पातबाट रगडिएर निस्कने हावाले वरिपरिको वायुमण्डलमा रहेका ब्याक्टेरिया र कीटाणुलाई नष्ट गर्छ । त्यसैले पिपलको महत्त्व आज पनि एक उत्तम प्राकृतिक शुद्धिकरण गर्ने वनस्पतिका रूपमा स्थापित छ ।

पिपलको रूखमुनि बस्नाले मानिसमा सुखदायक प्रभाव पार्छ भनिएको छ । यही कारणले हुनसक्छ पुर्खाले गाउँको छेउमा, सिमानामा पिपलका रुखहरू रोप्ने गर्दथे । वेद, पुराण, उपनिषद, रामायण, महाभारत, भगवद् गीता, बौद्ध र जैन साहित्य जस्ता धर्मका पवित्र ग्रन्थहरूमा पिपलको वर्णन पाइन्छ । पिपलको उल्लेख ऋग्वेदमा पनि छ । वैदिक स्रोतका अनुसार यसको पवित्र काठ रगडेर आगो उत्पादन गर्ने गरिन्थ्यो । ऋग्वेदमा पिपल रुखको दार्शनिक महत्व समेत झल्काइएको छ । पिपलको रुखलाई शृष्टि प्रक्रियासँग जोडिएको छ । ऋग्वेद मन्त्र १ । १६४ । २० ले भन्छ,

द्वा सुपर्णा सयुजा सखाया समानं वर्क्षं परि षस्वजाते ।
तयोरन्यः पिप्पलं सवाद्वत्त्यनश्नन्नन्यो अभि चाकशीति ।।

अर्थात सुन्दर प्वाँख भएका दुई चराहरू मित्रताको बन्धनमा बाँधिएका छन् र एउटै पिपलका रूखमा बस्छन् । एउटा चराले रुखको मिठो फल खाइरहेको छ भने अर्कोले फल नखाएर चारैतिर नियालेर हेरिरहेको छ । यसको अर्थ भनेको रूखले प्रकृतिको प्रतिनिधित्व गर्दछ । फल खाने पक्षीले जीवको प्रतिनिधित्व गर्दछ । चारैतिर नियालेर हेर्ने पक्षीले आत्माको प्रतिनिधित्व गर्दछ, जो भगवानको प्रतिनिधित्व पनि हो । ऊ न्याय प्रबन्धक पनि हो र कर्म अनुसार पुरस्कृत वा दण्ड दिने काम गर्दछ । वेदले जीवन दर्शन बुझाउनका लागि किन पिपलको रुखको सहारा लियो अध्ययन हुन बाँकी छ ।

अथर्ववेद र छान्दोग्य उपनिषद्का अनुसार पीपलको रूख देवताहरूको बासस्थान (स्वर्ग) हो । यसैकारण साउनको शनिबार यस रुखमा पानी हाल्नु शुभ मानिन्छ । पद्म पुराणका अनुसार पिपलका रुखमा भाग्यकी देवी लक्ष्मीको वास हुने भएकाले सनातन धर्मावलम्बीहरूले प्रत्येक शनिबार पिपलको पूजा गर्ने गर्दछन् । पिपलको पूजा गर्ने मन्त्रले भन्छ, अश्वत्थः सर्ववृक्षाणां देवर्षीणां च नारदः । गन्धर्वाणां चित्ररथः सिद्धानां कपिलो मुनिः । भागवत गीता अध्याय १० श्लोक २६ । वैदिक कालमा पिपलको रुखको काठ घोटेर यज्ञाग्नि तयार गरिन्थ्यो भनिएको छ । आजकल पनि शनि र हनुमानको मन्दिरमा पिपलको रूख रोपिन्छ ।

श्रावण महिनामा शनिबारको दिन पिपलको पूजा गरिन्छ । नेपालमा त पिपल र बरको विवाह समेत गरिदिने चलन छ । घर वा मन्दिरको पूर्वमा पिपलको रूख रोपिन्छ । रूख वरिपरि चौतारो बनाउनुपर्छ । रूख रोपेको आठदेखि बाह्र वर्षको अवधिमा रुखको उपनयन संस्कार गरिन्छ । त्यसपछिका कुनै पनि वर्षमा आश्विन कृष्ण तृतीया पारेर बरपिपलको विवाह गरिन्छ । पिपलको रुखलाई भगवान ब्रह्मासँग पनि जोडिएको छ । सनातन धर्ममा पीपलको रूख त्रिमूर्ति (ट्रिनिटी) हो अर्थात् ब्रह्मा, विष्णु र महेश वा शिवको मूर्ति हो । जरा ब्रह्मा, काण्ड विष्णु र हाँगा र पातहरूले शिवको प्रतिनिधित्व गर्दछ । पिपलको प्रार्थना गर्ने मन्त्र यस्तो छ ।

मूलतो ब्राह्मरुपाय मध्यतो विष्णुरुपिणे । अग्रतः शिवरुपाय वृक्षराजाय ते नमः ।
आयुर्वलम् यशोवर्चः प्रजा पशुवसूनी च । ब्रह्मप्रज्ञाम् च मेधाम् च त्वं नो देहि वनस्पते ।

यस रुखले विष्णु, बुद्ध, कृष्ण, ब्रह्मा, लक्ष्मी, आदित्य, नवदुर्गा आदि विभिन्न देवीदेवताको प्रतीकात्मक प्रतिनिधित्व गर्ने भएकाले पिपलको पूजा गर्ने सनातन धर्मावलम्बीहरूले पिपलको रक्षा गर्ने कामलाई धर्मसँग जोडेको हुनसक्छ । किनभने पुरातन समयमा धर्मको उल्लङ्घन गरिँदैन थियो । त्यसैले निश्चित विधानपूर्वक बाहेक पिपलको रूख काट्न बन्देज थियो । वेदको मात्र होइन पिपल पूजाको प्रचलन हडप्पा संस्कृतिको पनि हो । पिपलको रूखको पूजा गर्ने संस्कृति ३००० वर्ष अगाडिको सिन्धुघाँटी सभ्यतामा पनि थियो भन्ने प्रमाण भेटिन्छ ।

सिन्धुघाँटी सभ्यतामा पिपलको ठुलो महत्व थियो भन्ने ऐतिहासिक प्रमाणहरूले प्रमाणित गर्दछ । सिन्धुघाँटी सभ्यता क्षेत्रको मोहेन्जोदारोमा पिपलको एउटा छाप (सील) फेला परेको छ जहाँ मानिसहरूले पीपलको पूजा गर्दै गरेको चित्रण गर्दछ । यस छाप (सील)ले पिपलको आकारका पातहरू र फराकिलो हाँगाहरू भएको पीपलको रूखलाई चित्रण गर्छ । यसले के प्रमाणित गर्छ भने प्रारम्भिक हडप्पनहरू रूख पूजक थिए । सिन्धुघाँटी सभ्यतामा पिपललाई सृष्टिको प्रतीकका रुपमा लिइन्थ्यो । आज हामी योग र नाडीको कुरा गर्छौँ । यसको आदिम प्रचलन यहीँबाट सुरु भएको भन्ने प्रमाण भेटिन्छ ।

यस संसारमा मानव अस्तित्वमा भएका सबै चीजहरू जोडी रुपमा अवस्थित छन् । जस्तै पुरुष महिला, दिन रात, तर्क भावना आदि । यो द्वैत दर्शन हो, तर सृष्टि अद्वैत हो । हामी भित्रको द्वैतको अनुभव हाम्रो मेरुदण्डको बायाँ र दायाँ तिर रहेको इडा र पिङ्गला नाडीबाट उत्पन्न हुन्छ । इडा नाडीले ऋणात्मक उर्जा प्रवाह गर्छ । पिङ्गला नाडीले धनात्मक उर्जा प्रवाह गर्छ । सुषुम्ना तटस्थ वा गुणहीन हुन्छ । सुषुम्ना एक प्रकारको शून्य वा खाली ठाउँ हो । इडा वा ऋणात्मक प्रवाह र पिङ्गला वा धनात्मक प्रवाहले बीचको शून्यबाट सृष्टि उत्पन्न गर्छ । सिन्धुघाँटीको यस सीलमा दायाँ र बायाँ इडा र पिङ्गलाले रक्षा गरेको छ । बीचमा पिपल छ जुन सृष्टिको प्रतीक हो ।

ग्रीक सभ्यतामा विकास भएको भनिएको दुईवटा सर्प बेरिएर एउटा भुइँकटहरलाई हेरेको हस्पिटलमा राखिने प्रतीक चिह्न क्याडुसस वा स्टाफ अफ हर्मिसको उद्गम पनि यही हो । किनभने ग्रीक साहित्यमा हर्मिसलाई देवताहरूको नायक मानिन्छ । वैदिक देवता शरमा र वैदिक व्यापारी पणि नै ग्रीक पौराणिक कथामा हरमा र पनिस बनेको भनिन्छ । इन्द्रले गाई चोर्न पठाएकी शरमा र एपोलोको गाई चोर्ने ग्रीक हरमा देवता एउटै हुन् । वैदिक शरमा र ग्रीक हरमा दुवै गोठाला थिए र क्याडुसस (सर्प बेरिएको छडी) उनीहरूको अस्त्र थियो । आशा गरौँ पुरातत्वविद्ले यसबारे थप अध्ययन गर्लान् । प्रसङ्ग पिपलको हो । सिन्धुघाँटी सभ्यताका समयमा त्यहाँ कुनै मन्दिरहरू थिएनन् । देवताहरू रूखहरूमा बास गर्थे । अर्थात रूखहरू मात्र देवताहरूको वासस्थान थिए, मन्दिरहरू होइन ।

हडप्पा सभ्यतामा पहिचान गरिएको मुख्य रुख पिपल हो । केही अन्य पवित्र रूखहरूमध्ये विल्वम् वा बेल पनि हो । त्यतिबेला देखिनै पिपल सृष्टिको प्रतीक हो भने बेल पशुपति वा रुद्रको स्थान हो । हडप्पा पछि यहाँको संस्कृति गङ्गा, यमुना, दृषद्वति (हुम्ला कर्णाली वा काउरियला हो) र सदानीरा (नारायणी) तिर विस्तार भयो । यस क्षेत्रका वासिन्दाले कृषि, व्यापार र गाउँको निर्माण गरे । रूखहरू प्रकृतिका संरक्षक भए । तिनीहरूलाई आदरपूर्वक व्यवहार गर्नुपर्छ भनेर पिपलको पूजा गर्ने चलन ५ हजार वर्षदेखि आजसम्म निरन्तर छ । यति लामो परम्परा बोकेको पिपलको पूजा विज्ञान, धर्म हो कि अन्धविश्वास हो ? अन्धविश्वास बनाइएको कि विज्ञान ? तपाईँलाई के हो जस्तो लाग्छ ?

 

आइएनएस–स्वतन्त्र समाचार

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतवार ११:०७