कुखुराको अवैध आयातका कारण बाँकेको कुखुरापालन व्यवसाय सङ्कटमा परेको छ । भारतसँग जोडिएका बाँकेसँग विभिन्न नाकामा आलु–प्याज छाम्न प्रहरी व्यस्त छ । तर, भारतबाट अवैधरुपमा कुखुरा आयातमा भने कडाइँ गरिँदैन ।
प्रहरीकै मिलेमतोमा भारतसँग जोडिएका बाँकेसँग विभिन्न नाकाबाट अवैध भारतीय कुखुरा खुलेआम नेपाल भित्रिरहेका छन् । सरकारले भारतीय बजारबाट कुखुुरा र पंक्षीजन्य पदार्थको आयातमा प्रतिबन्ध लगाए पनि बाँकेमा खुलेआम विक्री वितरण भइरहेको छ ।
भारतीय सीमासँग जोडिएको नाकाबाट अवैधरुपमा भारतीय कुखुरा नेपाल भित्र्याउने गरिएको छ । भारतसँग सीमा जोडिएका बाँकेको नरैनापुर, जमुनाहा, परसपुर, साइगाउँ, खजुरा लगायतका क्षेत्रबाट भारतीय कुखुरा खुलेआम नेपाल भित्रिने गरेको स्थानीयहरु बताउँछन् ।
ती नाकाबाट प्रहरीकै मिलेमतोमा भारतीय कुखुरा र अण्डा तस्करी हुने गरेको छ । नेपालमा भारतीय कुखुराको मासु प्रतिकिलो रु ५० देखि रु १०० सम्म सस्तो पर्छ । ती नाकाबाट दैनिक चार–पाँच वटा भ्यानमा भारतीय कुखुरा तस्करी भएर बाँकेका विभिन्न बजारमा पुग्ने गर्छ ।
सीमा क्षेत्रका स्थानीयहरु भन्छन्, ‘पहिले अँध्यारोमा तस्करी हुन्थ्यो, अहिले त दिउँसै हुन्छ ।’ तस्करीमा साइकल, मोटरसाइकल र चारपाङ्ग्रे भ्यानसमेत प्रयोग हुँदै आएको उनले बताए । उनका अनुसार प्रहरीले लाइन दिएपछि दिउँसै कुखुरा र अण्डा तस्करी हुँदै आएको छ ।
फाइल तस्वीर
‘नरैनापुरमा कुखुरा फर्म नभए पनि दैनिक २ वटा भ्यानमा कुखुरा नेपालगन्ज पुग्छ, सरोकारवालालाई महिनाको ८० हजार पुग्छ,’ नरैनापुरका युवा समाजसेवी विनय दिक्षितको दावी छ, ‘तस्करी लगभग यस्तै छ, प्रमाण चाहिए मेरो सिसी क्यामरा हेर्न आउनु होला ।’
स्रोतका अनुसार तस्करले सीमा क्षेत्रका प्रहरी कार्यालयका मासिकरुपमा इन्चार्जलाई मोटो रकम बुझाएर कुखुरा तस्करी गर्दै आएका छन् । छोटो दुरीको सिमाना र प्रहरीले लाइन दिएपछि भारतबाट आयात गरेर ल्याएका कुखुरा पनि नेपालकै कुखुरा भएको तस्करहरूले दाबी गर्ने गरेका छन् ।
यसले पनि प्रहरीको मिलेमतोमा भारतबाट अवैधरूपमा कुखुरा तस्करी बढेको देखिन्छ । भारतबाट अवैध कुखुरा आयातमा नियन्त्रण गर्नेतर्फ नभई प्रहरी नै तस्करसँग मिलेपछि यहाँका व्यवसायीको लगानी उच्च जोखिममा छ । प्रहरीकै मिलेमतोमा भारतबाट दिनहुँ अवैध कुखुरा भित्रिँदा आफूहरु मारमा परेको व्यवसायीहरु बताउँछन् ।
प्रहरीले नै मासिक असुलेर तस्करलाई अवैध कुखुरा आयातमा ‘लाइन’ दिएपछि यहाँका व्यवसायी मारमा परेको कुखुरापालक व्यवयासीहरुको गुनासो छ । भारतबाट करिव ६० प्रतिशत कुखुरा प्रहरीकै मिलेमतोमा आयात हुने गरेको व्यवसायीहरुको दावी छ ।
फाइल तस्वीर
व्यवसायीहरु भन्छन्, ‘निकै जोखिम मोलेर कुखुरापालन गरेका छौं । खुला सिमानाका कारण भारतबाट भित्रिने अवैध कुखुराका कारण नेपाली व्यवसायीहरु मारमा पर्दासमेत स्थानीय प्रशासनले त्यसलाई रोक्नेतर्फ चासो नदिएर मौन बस्दा हामीहरू समस्या परेका छौं ।’
कुखुरापालकले निकै जोखिम मोलेर व्यवसाय गरे पनि प्रहरी प्रशासनकै कारण व्यवसायीको ढाड सेक्ने काम भइरहेको उनीहरु बताउँछन् । भारतबाट अवैध कुखुरा भित्रिदा नेपाली कुखुरा विक्री नहुँदा यहाँका पोल्ट्री व्यवसायीहरुको व्यवसाय नै चौपट बन्दै गएको छ ।
भारतीय कुखुराका कारण पछिल्लो दुई सातायता नेपाली किसानका कुखुराहरु विक्री नभएको गुनासो गर्दै नेपाल पोल्ट्री व्यवसायी संघ, बाँकेका सचिव प्रदीप कँडेलले कुखुरा विक्री नहुँदा मर्न थालेको र दानाको लागत पनि खेर गइरहेको बताए ।
बाँकेका कुखुरापालक व्यवसायीले भारतबाट कुखुरा र चल्लाको अवैध आयात रोक्न हारगुहार गरिरहेका छन् । भारतबाट अवैधरुपमा कुखुरा आयात हुँदा यहाँका किसानका कुखुरा विक्री हुन छाडेको गुनासो गर्दै प्रमुख जिल्ला अधिकारीलाई अवैध आयात रोक्न गुहारेका हुन् ।
भारतबाट अवैध रुपमा ल्याइएका कुखुरा सस्तोमा पाइने भएपछि विक्रेताहरुले नेपाली किसानका कुखुरा किन्न छोडेपछि सो रोक्न प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीसँग आग्रह गरिएको नेपाल पोल्ट्री व्यवसायी संघ, बाँकेका सचिव कँडेलले बताए ।
भारतबाट आउने कुखुराबाट पंक्षीजन्य रोगहरु भित्रिने खतरा रहेको र नेपालमै मागलाई धान्ने गरी पञ्क्षीजन्य उत्पादन भइरहेकाले सरकारले भारतबाट आयातमा प्रतिबन्ध लगाए पनि कुखुराको अवैध आयात भने निरन्तर जारी छ ।
अवैध आयात नरोकेमा नेपाली किसान र व्यवसायीको करोडौं लगानी डुब्ने र व्यवसाय नै धरापमा पर्ने जनाउँदै तत्काल सो रोक्न माग गर्दै नेपाल पोल्ट्री व्यवसायी सङ्घ, बाँकेले प्रमुख जिल्ला अधिकारीलाई मागपत्र पनि बुझाएको छ ।
सो मागपत्रमा स्थानीय प्रहरी प्रशासनले कुखुराको अवैध आयात रोक्ने जिम्मेवारी पूरा नगर्दा नेपाली व्यवसायीहरु धराशायी हुने अवस्थामा पुगेको जानकारी गराइएको नेपाल पोल्ट्री व्यवसायी संघ, बाँकेले जनाएको छ ।
सो बारेमा बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीले व्यवसायीले ध्यानाकर्षण गराएको जनाउँदै अवैध आयात रोक्न कडाई गर्न प्रहरीलाई ताकेता गरिसकिएको बताए । उनले भारतबाट अवैध रुपमा ल्याउने कुखुरालाई ल्याउन नदिन थप कडाइ गरिने पनि बताए ।
बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले नाकामा रहेको प्रहरी र गस्तीमा जाने प्रहरीलाई कडाई गर्ने निर्देशन दिएको बताए । उनले पटक पटक अवैधरुपमा भित्र्याउन खोज्दा प्रहरीले नियन्त्रणमा लिने गरेको दावी गरे । यद्यपी भारतबाट कुखुरा तस्करीमा भने कमी नआएको व्यवसायीहरुको गुनासो छ ।
सत्यपाटी । बाँके ।