सूचनाको शक्ति - The Power Of Information

        

ब्लग

सावधान ! समयमै विचार गर्नुस्, सहकारीले डुबाउँलान्

सहकारीहरुले राजनीतिक पार्टीको आडमा नागरिक नराम्ररी लुटिरहेका छन् । अब सहकारीहरुको ठगीधन्दाविरुद्ध सञ्चारकर्मीहरुले कलम चलाउनुपर्छ र नागरिक सडकमा उत्रिनुपर्छ ।

अहिले बजारमा जताततै सहकारीहरु भागिरहेको र नागरिकलाई डुबाएको सुनिन्छ । तर पनि कुनै पनि भागेका सहकारीहरुलाई कारबाही भएको छैन । यसरी नागरिकको पैसा लिएर भाग्ने सहकारीलाई सहकारी विभाग, वडा र नगरपालिकाले कुनै कारबाही तथा अनुगमन गरेको पाइदैँन । यसरी दिनहुँ नागरिकको पैसा लिएर कति सहकारी संस्थाहरु भागिसकेका छन् । सहकारीमा पैसा राख्ने नागरिकको घरमा रुवाबासी भइरहेको छ । नागरिकले बुझ्दै नबुझी सहकारीमा पैसा जम्मा गर्दा आज नागरिक आफ्नो जीवनभरको कमाइ पाउनबाट वञ्चित भएका छन् ।

सरकारले यसरी जताततै सहकारीहरुलाई दर्ता गर्ने दिँदा आज सहकारीहरुले नागरिकको घरमा रुवाबासी चलाएको छ । नागरिकलाई यस्तो नराम्रोसँग ठग्दा पनि सरकार निरिह बनेर बसिरहेको छ । अहिले उपत्यकाबाट मात्रै दिनहुँ पाँच वटा सहकारी संस्थाहरु भागिरहेका छन् । उपत्यकाबाहिर जिल्लाबाट सहकारी भाग्ने काम अहिले धेरै बढिरहेको पाइन्छ । यसरी सहकारी संस्थाहरु नागरिकको बचत लिएर भाग्दा पनि नागरिकमा अहिलेसम्म चेतना आएको छैन । नागरिकहरु अहिले पनि सहकारीमा आफ्नो पैसा जम्मा गरिरहेका छन् । सहकारीहरुले अहिले पनि ब्याजको प्रलोभमा नागरिकहरुलाई फसाई बजारबाट पैसा निरन्तर उठाइरहेको पाइन्छ ।

अहिले नागरिकहरुले आफ्नो बचत तथा पुँजी सहकारी संस्थामा राखिरहेका छन् । सहकारीका सञ्चालकहरुले महंगो तथा मिटर ब्याजमा कर्जा दिएर नागरिकको उठिबास लगाइरहेका छन् । अब नागरिकको मनमा सहकारीहरु लुट र ठग हुन् भन्ने चेतना आउन आवश्यक रहेको छ । यसरी नागरिकले जीवनभर मेहनत गरेर कमाएको पैसा ठगेर भाग्न सहकारी संस्थाहरुलाई लाज छैन । सहकारीको यस्तो लुट र ठगीधन्दा बन्द गर्न आवश्यक छ । त्यसैगरी नागरिक पनि ब्याज तथा कर्जाको लोभमा परी सहकारीहरुमा विश्वास गरी पैसा तथा पुँजी राख्ने गर्छन् । तर अब नागरिकले आफ्नोे बचत राख्ने काम बन्द गर्न आवश्यक छ ।

सहकारीहरुले राजनीतिक पार्टीको आडमा नागरिक नराम्ररी लुटिरहेका छन् । अब सहकारीहरुको ठगीधन्दाविरुद्ध सञ्चारकर्मीहरुले कलम चलाउनुपर्छ, नागरिक सडकमा उत्रिनुपर्छ । सहकारीमा भ्रष्टाचारीहरुले भ्रष्टचार गरेको कालो धन लुकाएर राख्ने गर्दछन् । सहकारीमा पैसा जम्मा गर्ने बचतकर्तालाई थोरै ब्याज दिइन्छ भने डिपोजिटकर्तालाई ३ देखि १० प्रतिशतमात्र ब्याज दिने गरिन्छ । कर्जा लगानी गर्दा १९ देखि ४२ प्रतिशतसम्म लगानी गर्ने गरिन्छ । यसरी ३ प्रतिशत सेवा शुल्क लिने र पेनाल्टी लिने गर्दछ । सहकारीहरुले घुस खाएर १ करोडको जेथो वा धितो राखेर ७० लाख मात्र दिने, १० लाख रुपैँया घुस खाने र कर्जा खाने मानिसलाई ३ कित्ता तिरेन भने त्यो धितो नै लिलाम गर्ने गर्दछन् ।

त्यस्तै सहकारीहरुले कर्जा खाने मानिसहरुलाई सुकुम्बासी बनाइदिने वा सडकमा पुर्याउने काम गर्दछन् । यता त्यो लिलाम गरेको धितो आफ्नो आफन्तहरुलाई सस्तोमा भिडाउने काम गर्ने गर्छन् । कि त अर्को मानिसहरुलाई त्यो १ करोडको धितो १ करोड २० लाखमा बेच्ने काम गर्छन् र ९० लाख रुपैयाँ त्यो धितोको लोन मिलाउने गर्दछन् । त्यस्तै त्यो मानिससँग भएको पैसा ३० लाख लिने र ९० लाख रुपैयाँ त्यहीँ मानिसलाई ऋण बोकाउने काम गर्दछ । यसरी घरजग्गा, शेयर र गाडी धितोमा राखेर सहकारी र बैंकबाट ऋण लिएका ग्राहकलाई झुक्याएर उसको जायजेथा धितो खाने गर्दछ । नागरिकलाई सडकछाप बनाइन्छ । यस्ता संस्थाहरुकै कारण सयौं नागरिक मृत्युको मुखमा पुगेका छन् ।

अहिले धेरै नागरिकहरु बैंक तथा सहकारी संस्थाहरुका कारण डुबिरहेका छन् । बैंक तथा सहकारी संस्थाहरुले धनी मान्छे त देख्नै हुँदैन । यस्ता संस्थाहरुले पहिला थोरै ऋण दिने गर्छ र पछि सबै घरजग्गा, सेयर तथा गाडी नै उठाउने गर्दछ । बैंक फाइनान्स तथा सहकारीहरु नागरिकको सेवाका लागि खुलिएको भन्ने गरिन्छ, तर यिनीहरु उल्टै नागरिकलाई डुबाउने काम गर्छन् । यस्ता वित्तिय संस्थाहरु सेवक होइनन्, ठगहरु हुन् । यस्ता ठगहरुलाई कारबाही गर्न न त नेपालको कानुनी व्यवस्थाले नै सक्छ न त अर्थ मन्त्रालयले नै सक्छ । सहकारी लगायत बैंक तथा फाइनान्सहरुले धेरै मानिसहरुको घरजग्गाहरु खाएर रुनु न मर्नुको जस्तो अवस्थामा पुर्याएका छन् । यसरी सहकारी र बैंकहरुले आफ्नो फाइदाका लागि सिधासाधी नागरिकलाई फसाइरहेका छन् ।

त्यस्तै सहकारी महासंघ र बैंकहरुको महासंघमा सबै राजनीतिक पार्टीका मानिसहरु संलग्न छन् । सहकारी र बैंकहरुले जति नागरिक ठगेका हुन्छन्, त्यसमा पनि पर्दाभित्र बसेर राजनीतिक दलको सहयोग नै रहेको हुन्छ । राजनीतिक आडमा सहकारी तथा बैंकहरुले नागरिकलाई यसरी लुटिरहेका छन् । अब पनि सहकारी र बैंकहरुको ठगीधन्दाको विषयमा सञ्चारकर्मीहरुले आफ्नो कलम नचलाउने हो भने अब पनि सयौँ नागरिक ठगिने छन् । नागरिक ठग्ने सहकारी र बैंकले सञ्चारमाध्यममा विज्ञापन दिएर आफ्नो ठगीधन्दा लुकाइरहेका छन् । सञ्चारकर्मीहरु पनि विज्ञापनको प्रलोभनमा परी बैंक र सहकारीको यस्तो ठगी र लुटको धन्दा देखेर पनि नदेखेझैं गरेर बसिरहेका छन् । अब पनि नागरिकमा चेतना आएन भने सहकारी तथा बैंकहरुले सयौँ नागरिकलाई ठग्ने छन् ।

त्यसकारण अब नागरिकमा पनि चेतना आउनुपर्छ । एकजनाले लगेर बैंक तथा सहकारी संस्थामा पैसा डिपोजिट गर्छ अर्कोले त्यहीँ पैसा धितो राखेर कर्जा लिन्छ । त्यस्तै बैंकमा पैसा डिभोजिट गर्ने मानिसले ६ देखि ७ प्रतिशत ब्याज पाउँछ । तर यता भने कर्जा खाने मानिसहरुले १६ देखि १८ प्रतिशत ब्याज तिर्नुपर्छ । यसरी बैंक तथा सहकारीमा पैसा जम्मा गर्ने मानिसलाई एउटा भौचर र चेकमात्र दिने गर्दछ भने कर्जा खाने मानिसको ५० लाखको धितो लिन्छ र १५ लाखको कर्जा दिने गर्छ । तर त्यँही पनि घुस खाएर दिने गर्दछ । त्यसैगरी एकजनाले लगेर सस्तोमा पैसा राख्छ, अर्कोले महंगोमा कर्जा लिन्छ र बीचको सबै नाफा सहकारी तथा बैंकहरुले मिलेर खान्छन् । यसरी वित्तिय संस्थाहरुले नागरिक ठग्ने काम गरिरहेका छन् । अब पनि नागरिकमा चेतना नआएनमा धेरै नागरिक ठगिने छन् ।

त्यसकारण नागरिकले अब सहकारी तथा बैंकहरुमा आफ्नो पैसा राख्न छोड्नुपर्छ । हामीले लगेर आफ्नो बचत सहकारी तथा बैंकमा राख्दा हामीलाई नै कम ब्याज दिएर ठगिन्छ र हाम्रै पैसा अरुलाई महंगो ब्याजमा लगाई अरुलाई सुकुम्बासी वा सडकछाप बनाउने गरिन्छ । सहकारी र बैंकको यसरी नागरिक ठग्ने रणनीति अब नागरिकले बुझ्नुपर्दछ । बैंक तथा सहकारीहरुमा आफ्नो पैसा डिपोजिट गर्ने नागरिलाई महिना नमरी ब्याज दिने गर्दैन । कर्जा लिने मानिसले भने कर्जा लिएको दिनदेखि कर्जा चुक्ता गर्ने दिनसम्मको महँगो ब्याज दिनुपर्छ । त्यसैगरी सहकारी तथा बैंकहरुमा खाता खाल्ने मानिसहरु केहि दुर्घटनाका कारण मर्यो भने उसको आफन्तहरुलाई उसको बचत गरेको पैसा थाहा छ भने दिने गर्दछ, थाहा छैन भने त्यहाँका अध्यक्ष, सञ्चालक चेयरमेन मिलेर खाइदिन्छन् ।

सहकारी तथा बैंकहरुले नागरिकसँग पैसा लिन बुढाबुढी तथा जेष्ठ नागरिकलाई सम्मान गर्ने बच्चाहरुलाई बचत खाता भनेर खाता खोल्न लगाउने गर्दछन् । सहकारी संस्थाहरुले नागरिकसँग भएको पैसा बजार प्रतिनिधि खटाएर दिनहुँ लग्ने गर्दछ, तर नागरिक भने आफ्नै बचत झिक्न जाँदा विभिन्न समस्या तथा बहाना देखाउने गर्दछ । सहकारी संस्थाहरुले नागरिकको बचत न त झिक्न दिन्छ न त ब्याज र साँवा नै दिने गर्दछ । अहिले सहकारी तथा बैंकहरुमा जाँदा त्यहाँका अध्यक्ष तथा चेयरमेन भेटिँदैनन् । यता बजारबाट नागरिकले सहकारीहरुमा पैसा राख्न छोडिसकेका छन् । अहिले बैंकहरुले १ लाखको चेक साट्दैँनन् र सहकारीहरुले २५ हजारको चेक साट्दैनन् । अहिले सहकारीहरुले ६ महिनादेखि त्यहाँका कर्मचारी तलब दिएको छैन भन्ने सुनिन्छ भने सहकारी सञ्चालन गरेको घरको घरभाडा पनि दिएको छैन भन्ने सुन्नमा आएको छ ।

सहकारी तथा बैंकहरुमा आफ्नो पुँजी जम्मा गर्ने मानिसहरु अब पनि आफ्नो रकम सुरक्षित छ भनेर नबसौँ । किनभने सहकारी तथा बैंकहरु भाग्न सुरु भइसकेका छन् । बजारबाट एउटा बजार प्रतिनिधिले एक दिनमा ३ लाखदेखि ६ लाखसम्म उठाउने गर्थे, तर अहिले एक दिनमा १० हजार पनि उठाउन गाह्रो भइसकेको छ । अब नागरिकले सहकारीमा पैसा राख्न छोडिसकेका छन् । कति सहकारीहरुले साधारणसभा पनि गरेका छैनन् । राज्यलाई कर पनि तिरेका छैनन्, लेखा परिक्षण गर्दा वा कागजपत्र नविकरण गर्दा घुस खुवाएर नविकरण गरिरहेका छन् । अहिले सहकारी तथा बैंकहरुले धितो राखेर लगानी गरेको कर्जा धितोको मूल्य घटेर गुन्द्रुकको भाउमा आएको छ । अहिले घरजग्गा तथा गाडीको किनबेच तथा मुल्य घटेको छ । एक बर्षअघि आनाको ५० लाखमा किनेको जग्गा अहिले १० लाखमा बिक्री हुन पनि धौ–धौ हुन्छ ।

एक बर्षअघि एक कित्ता सेयर ४ हजार पर्ने अहिले १०० रुपैँयामा बिक्री हुँदैन । एक बर्षअघि १० लाखमा किनेको सवारीसाधन अहिले १ लाखमा बिक्री हुँदैन । सहकारी तथा बैंकहरुमा आफ्नो पैसा राख्ने मानिसको रुवाबासी भइरहेको छ । किनभने सहकारी तथा बैंकहरुले आफ्नो सबै लगानी घरजग्गा तथा सेयरहरुमा गरेका छन् र यिनीहरु सबैको मुल्य घटेर यि संस्थाहरु भाग्नु कि बस्नु भन्ने अवस्थामा पुगेका छन् । सहकारीहरुमा रकम डिपोजिट गर्ने नागरिकहरुको अहिले ५ हजार रुपैयाँ पनि फिर्ता गर्न सक्दैनन् । अहिले सहकारी तथा बैंकहरुमा आफ्नो पैसा निकाल्ने मानिसहरु कमिलाको ताँती लगेका जसरी संस्थाहरुको बाहिर पैसा निकाल्न कुरेर बसिरहेका छन् । के तपाईहरु पनि डुबिरहनु भएको त छैन समयमै विचार गर्नुस् ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतवार ०८:०२