सूचनाको शक्ति - The Power Of Information

        

समाचार विश्लेषण

अलमलमा ओली, बिचल्लीमा दशभाई

नीति र विचारका सन्दर्भमा बैठकहरूमा कुरा हुँदैन । अध्यक्ष ओलीले जे बोल्ने हो, त्यही पार्टीको नीति र त्यही विचार बन्ने स्थिति छ ।

असारभर केही न केही नयाँ राजनीतिक तरंग होला र त्यसअनुसारको रणनीति बनाएर निर्वाचन लक्षित गतिविधि शुरु गरौँला भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीका निम्ति साउन महिना पनि निराशाबाटै शुरु भएको छ । विशेषतः पार्टीबाट अलग भएका नेता–कार्यकर्तासँग चुनावी सहकार्य वा एकताको प्रयासमा कुनै न कुनै सुधार होला भन्ने एमाले पंक्तिमा अपेक्षा थियो । तर, केही भएन ।

मिति घोषणा नभए पनि कात्तिक अन्तिम वा मंसिर पहिलो साता दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन हुने निश्चित छ । एमाले अध्यक्ष ओलीले निर्वाचन लक्षित कार्यक्रमबारे कुनै योजना पार्टीमा सुनाएका छैनन् । एमाले एक्लै चुनावमा जाँदा वा राप्रपा, लोसपाजस्ता दलसँग मात्रै समीकरण गरेर अगाडि बढ्दा नतिजा कस्तो आउँछ ? स्थानीय निर्वाचनको परिणामलाई दाँजेर हेर्दा त्यस्तो तालमेल उपलब्धी शून्य हुने स्थिति छ ।

राप्रपा नेपाल (कमल थापा)का कारण एमालेले जित्ने ठाउँ छैन । लोसपाका कारण तराईका केही निर्वाचन क्षेत्रमा केही मतमा बल पुग्छ, तर जितिहाल्ने क्षेत्र यही हो भनेर एमाले नेताहरू यकिनका साथ भन्न सक्ने अवस्थामा छैनन् । झलनाथ खनालमार्फत एकीकृत समाजवादीको एउटा तप्कालाई आफूतिर आकर्षित गर्ने केही एमाले नेताहरूको प्रयास जारी छ । नारायणकाजी श्रेष्ठ र वर्षमान पुनमार्फत माओवादीको एउटा पंक्तिलाई वाम तालमेलका लागि दबाब सिर्जना गराउन अलग्गै प्रयास भइरहेको छ ।

तर, पाँच दलीय गठबन्धनका आधारभूत लक्ष्य, प्रतिवद्धता र गठबन्धन धर्मराउने गतिविधि अहिलेसम्म तलमाथि भएको छैन । केही नेताहरु व्यक्तिगत रुपमा वाम गठबन्धनको चाहना राख्ने, तर पाँच दलीय गठबन्धन निर्माण गर्नुपर्नाका राजनीतिक कार्यभार पूरा नहुँदासम्म त्यसतर्फ जाने कुरामा तयार छैनन् । यसर्थ, एमालेका निम्ति आगामी निर्वाचनको रणनीति अहिलेसम्मका लागि ‘कुहिराको काग’झैँ बनेको छ । उड्दै जाँदा बाटोमा को–को भेटिन्छन् भन्ने कुराको टुंगो छैन । एक्लै उड्दा लक्ष्यमा पुग्न गाह्रो छ ।

एमालेमा जताततै अलमल

एमालेले उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा स्थानीय निर्वाचनमा भएको अन्तर्घातसम्बन्धी उजुरीको छानबिन तथा कारबाही गर्नका निम्ति गठित कार्यदलले केही काम गर्न सकेको छैन । कार्यदल गठन भएको दुई हप्ताभन्दा बढी भइसक्यो । तर, एउटा पनि उजुरी कार्यदलले हात पारेको छैन । पार्टी कार्यालयमा आएका उजुरीहरू कहाँ छन् ? कोहीसँग जवाफ छैन । स्वयं विष्णु पौडेलले कार्यकर्तासँग भनेका छन्, ‘हार्नेले रिस उठेको मान्छेलाई अन्तर्घाती भनेर उजुरी दिन्छ, त्यही आधारमा कारबाही गर्न मिल्दैन ।’

भनिन्छ, अध्यक्ष ओलीले नाम तोकेर दिएका व्यक्तिलाई कारबाही गर्नु नभन्दासम्म उक्त कार्यदलले न कुनै उजुरीको छानबिन गर्छ, न त कारबाही नै । अन्तर्घातको आरोपमा को–को कारबाहीमा पर्दैछन् भन्ने कुरा स्वयं कार्यदलका संयोजक पौडेललाई पनि थाहा छैन । एक एमाले नेता भन्छन्, ‘बालकोटबाट नाम आउँछ, त्यही नाम सदर गर्ने हो भने त्यसले फेरि अर्को निराशा पैदा गर्छ ।’ एमालेको केन्द्रीय कार्यालय च्यासलमा जाने नेता र कार्यकर्ताहरू आपसी गफगाफ गर्नेबाहेक कुनै पार्टी काम गर्दैनन् । किनभने, उनीहरूलाई पार्टीले कुनै जिम्मेवारी दिएको छैन ।

आफैँले कामहरू सिर्जना गरेर अगाडि बढ्न पनि बालकोटबाट अनुमोदन गराउनुपर्ने स्थिति छ । पार्टीका नीति, विचार र योजना के हो भन्नेबारे नेतापिच्छे फरक फरक कुरा आएका छन् । कारण हो, नीति र विचारका सन्दर्भमा बैठकहरूमा कुरा हुँदैन । अध्यक्ष ओलीले जे बोल्ने हो, त्यही पार्टीको नीति र त्यही विचार बन्ने स्थिति छ । दश भाइमध्येका एक जनाले भने, ‘अध्यक्षले भनेका कुरालाई ठीक र बेठीक भन्ने सुविधा कोहीसँग छैन । अध्यक्षको मुख कतिबेला खुल्छ र उहाँले के भन्नुहुन्छ भनेर पर्खिनुबाहेक नीति बनाउने, विचार प्रवाह गर्ने कुरामा कुनै सांगठनिक प्रक्रिया छैन ।’

एमालेका पार्टी कमिटी र सम्बद्ध संगठनका नियमित गतिविधि केही छैनन् । गठन, पुनर्गठन, भेला, अधिवेशन, निर्वाचन समीक्षाजस्ता कामहरु अवरुद्ध छन् । सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणका सूचना त आएका छन् । तर, काम भएका छैनन् । स्थानीय निर्वाचनमा पराजित भएका ठाउँमा पराजयको कारण खोज्ने र आगामी निर्वाचनमा त्यसलाई सुधार गरेर विजय हासिल गर्ने योजना बनाउनुपर्ने हो, त्यो पनि भएको छैन । बरु, ‘अन्तर्घातीहरुलाई कारवाही गरिन्छ’ भनिएको छ । र, एउटा पंक्ति कारवाहीमा परिएला भन्ने त्रास पालेर बसेको छ ।

दश भाइ को कहाँबाट उठ्लान ?

अन्तिम अवस्थामा माधव नेपाललाई धोका दिने १० भाइ स्थायी कमिटी सदस्यमध्ये प्रायःको स्थिति नाजुक छ । योगेश भट्टराईबाहेक अरुले अध्यक्ष ओलीसँग भेट्न र गफ गर्न पाएका छैनन् । ओलीबाट शून्य समन्वय (जिरो रेस्पोन्स)को शिकार भएपछि १० भाइमध्येका कतिपय नेता अहिले एकीकृत समाजवादीका विभिन्न नेतासँगको संवादमा छन् । तीमध्ये योगेश भट्टराई समाजवादीका खासै कोही नेतासँग कुरा गरिरहेका छैनन् । भीम आचार्यले झलनाथ खनालमार्फत माधव नेपाललाई भेट्ने प्रयास गरे, तर सकेनन् ।

भीम रावलले माधव नेपाललाई कहिलेकाँही फोन गर्ने गरेका छन् । घनश्याम भुसालले लामो समयदेखि माधव नेपालसँग कुरा नगरे पनि अरु नेताहरूसँग समय समयमा व्यक्तिगत विषयमा कुराकानी गर्ने गरेका छन् । यसरी समाजवादीका नेतासँग कुरा गर्न रुचाउने १० भाइको भनाइ छ, ‘एमालेका कसले हाम्रो कुरा सुन्छन् र उनीहरूसँग कुरा गर्नु ?’ स्रोतका अनुसार, योगेश भट्टराईलाई ओलीले ताप्लेजुङबाट टिकट दिन नसकिने स्थिति भएपछि उनी झापाको क्षेत्र नं. १ तिर सोझिएका छन् । तर, त्यहाँ १० भाइकै पक्ष लागेर एमालेमै रहेका रविन कोइराला बलिया प्रत्यासी हुन् ।

यदि, ओलीले योगेशलाई बलजफ्ती टिकट दिए उनलाई हराउने गरी रविन नै बागी उम्मेदवार हुन तयार छन् । योगेशचाहिँ ओलीसँग भेटेर ताप्लेजुङबाटै उठ्न चाहेको बताइरहेका छन् । चुनावी दृष्टिले सबैभन्दा समस्यामा पर्ने १० भाइमध्येका नेता हुन्, सुरेन्द्र पाण्डे । उनको निर्वाचन क्षेत्र चितवनको क्षेत्र नं.१ मा समाजवादीको स्थिति बलियो भएपछि उनी उक्त पार्टीका नेताहरूसँग बढी संवाद गर्न थालेका छन् । एकीकृत समाजवादीले केही वडाध्यक्षसहित मेयरको चुनाव जितेको राप्ती नगरपालिका उनकै निर्वाचन क्षेत्रमा पर्छ ।

राप्तीबाहेक उनको निर्वाचन क्षेत्रमा खैरहनी र रत्ननगर नगरपालिका पर्छ । त्यहाँ पनि समाजवादीको स्थिति चितवनका अन्य ठाउँको तुलनामा राम्रो छ । चुनावी अप्ठेरोमा परेका १० भाइमध्येका अर्का नेता हुन्, गोकर्ण विष्ट । गुल्मीमा समाजवादीले टिकट पाएन भने पनि ऊ जता मिल्यो, कांग्रेस वा माओवादीले जित्ने स्थिति छ । त्यसमाथि समाजवादीकी सचिव रामकुमारी झाँक्री उठिन् र माओवादीले मात्रै उम्मेदवारी दिएन भने गोकर्ण विष्टले चुनाव हार्ने निश्चित हुन्छ ।

त्यसैले अहिले गोकर्ण एकातिर रामकुमारीलाई गुल्मी नआउन फकाइरहेका छन् भने अर्कातिर झलनाथमार्फत आफ्नो स्थितिमा सुधार ल्याउने प्रयास गरिरहेका छन् । भीम रावललाई अछामबाट एमालेले नै टिकट दिने सम्भावना छैन । त्यसैले कैलालीबाट चुनाव उठ्ने कि अरु विकल्प रोज्ने भन्नेबारे उनी टुंगोमा पुगेका छैनन् । उनी पनि समाजवादीका नेताहरूसँग संवादमा रहने मध्येका हुन् । अप्ठेरोमा पर्ने नेतामध्येका अर्का हुन्, भीम आचार्य । उनले केही समयदेखि माधव नेपालसँग भेट्ने प्रयास गरेका छन् । तर, सफल भएका छैनन् । सुनसरीमा उनको निर्वाचन क्षेत्र निश्चित छैन । बसोबासका हिसाबले उनी क्षेत्र नं. २ का हुन् ।

०७४ को निर्वाचनमा उनले क्षेत्र नंं १ को प्रदेशसभाबाट चुनाव जितेका थिए । अहिले क्षेत्र नं. १ मा उनलाई ओली पक्षले चुनावमा सघाउँदैनन् । क्षेत्र नं. २ मा पार्टी जिल्ला अध्यक्ष रेवती भण्डारी आफैँ चुनाव उठ्ने तयारीमा छन् । अघिल्लो चुनावमा रेवतीले पाइसकेको टिकट भीमले खोसेपछि अहिले रेवती भीमसँग त्यसको बदला लिने तयारीमा छन् । घनश्याम भुसालले चुनाव लड्ने रुपन्देही क्षेत्र नं. ३ बाट यसपटक गृहमन्त्री बालकृष्ण खाण उठ्दै छन् । त्यसमाथि एमालेले नै उनलाई टिकट दिन्छ कि दिँदैन भन्ने कुराको टुंगो छैन । उनले आगामी चुनावकै सन्दर्भलाई लिएर पटक–पटक माओवादी नेता वर्षमान पुनसँग कुराकानी गरेका छन् ।

ललितपुरबाट चुनाव लड्नुपर्ने रघु पन्तलाई ओलीले टिकट दिने, नदिने कुनै टुंगो छैन । पाँच दलको गठबन्धन हुँदा वा नहुँदा पनि उनको क्षेत्रबाट चुनावमा उठ्ने माओवादीका पम्फा भुसाल हुन् । पन्तले केही नेताहरूसँग कुरा गर्दा ‘पम्फा चुनाव नउठे एमालेबाट टिकट लिन्छु र जित्छु’ भनेका छन् । काठमाडौंका मतदातामा पुस्तान्तरण भएका कारण वृद्ध–वृद्धाले चुनाव नजित्ने भन्दै अष्टलक्ष्मी शाक्यलाई ओलीले यसपटक समानुपातिकमा राख्ने सम्भावना छ । समाजवादीका नेताहरूसँग सबभन्दा बढी संवादमा रहेका नेता हुन्, युवराज ज्ञवाली । तर, उनको कुनै निश्चित निर्वाचन क्षेत्र छैन । उनले ओलीबाट गरिएका अपेक्षाहरू र पार्टी सुरक्षित राख्ने मनशायमा बाधा पुगेको भन्दै वाम तालमेल गर्नुपर्ने सुझाव समाजवादीका नेताहरूलाई दिइरहेका छन् ।

 

दृष्टि न्यूजबाट

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार ०९:४९