घुम्नको लागि नेपाल आउने ठूलो संख्यामा पर्यटक नेपालबाट नफर्कने गरेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले गतसाता सार्वजनिक गरेको आफ्नो ५९औं वार्षिक प्रतिवेदनमा नेपाल घुम्न आएका ठूलो संख्यामा पर्यटक समयमै नफर्कने गरेको औंल्याएको हो ।
महालेखाका अनुसार सन् २०१८ देखि २०२१ सम्मको अवधिमा नेपाल प्रवेश गरेकामध्ये १० हजार ९५३ जना विदेशी नेपालमा रहेको देखिन्छ । उनीहरू भीसा अवधि सकिएपछि पनि स्वदेश फर्केको रेकर्ड अध्यागमन विभागमा भेटिँदैन ।
विभागले २०७६ माघ १३ गतेदेखि नेपाल भित्रिने विदेशीको आगमन, प्रस्थान र भिसासम्बन्धी अभिलेखीकरण गर्ने उदेश्यले एक सफ्टवेयरमा प्रयोगमा ल्याएको थियो । तर सफ्टवेयरमा विदेशी पर्यटकहरूको बसाइ अवधि, सुरु प्रस्थान र गन्तव्य देश तथा भीसाअनुसारको विवरण उल्लेख गरेको नपाइएको महालेखाले जनाएको छ ।
‘सन् २०१८ देखि २०२१ सम्मको तथ्याङ्कअनुसार नेपालमा आगमन गरेका विदेशी नागरिकमध्ये १० हजार ९५३ जना विदेशी नेपालमा रहेको देखिन्छ,’ महालेखाले भनेको छ, ‘यो वर्ष (आव २०७७-०७८) भीसा अवधि समाप्ती पश्चात बढी अवधि बसेका २३२ जना, भीसा विपरीत कार्य गरेको र गैरकानुनी कार्य लगायतमा संलग्नसमेत २७७ जना विदेश नागरिक निष्काशन गरेको देखिन्छ ।’
अध्यागमन विभागले नेपालमा अवैध तरिकाले बस्ने पर्यटकको विवरण तयार गर्ने र कारबाही गर्ने प्रणाली तयार नगरेको महालेखाले जनाएको छ । ‘नेपालमा रहेकामध्ये भीसा अवधि सकिएका पर्यटकको विवरण तयार गरी अनुगमन तथा कारबाहीको लागि आन्तरिक नियन्त्रण प्रणाली तयार गरेको छैन । पर्यटक आगमनपश्चात आवश्यक सूचना संकलन तथा अन्तर निकाय समन्वय गरी अनुगमन प्रणालीलाई प्रभावकारी बनाउनुपर्दछ,’ प्रतिवेदनमा महालेखाले भनेको छ ।
सत्यपाटी । काठमाडौं ।