सूचनाको शक्ति - The Power Of Information

        

वाम एकताको दस्तावेज भारतीय दुतावासमा !

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणका लागि बनेका कार्यदलले तयार पारेका दस्तावेजहरू भारतीय राजदूतावासमा पुगेको छ । भारतीय दूतावास लैनचौरमा दुईवटा दस्तावेजहरू पुगेपछि वाम गठबन्धनभित्र बबण्डर भएको स्रोतले बतायो ।
एमालेका वरिष्ठ नेता माधव नेपाल संयोजकत्वको वैचारिक दस्तावेज निर्माण कार्यदल र माओवादी केन्द्रका नेता तथा गृहमन्त्री रामबहादुर थापा संयोजकत्वको कार्यदलले पार्टी एकीकरणका लागि दस्तावेज बनाएको थियो ।
ती दुई कार्यदलले अधिकांस विवाद सल्टाए पनि तीनवटा विवाद भने सुल्झाउन सकेको थिएन । तर, यी दुई कार्यदलले बनाएको दस्तावेज भारतीय राजदूतावासमा पुगेकोपछि वाम गठबन्धन भित्र एकले अर्कालाई आरोप प्रत्यारोप लगाउन थालेका छन् ।
पार्टी एकीकरणका लागि बनेका दस्तावेजहरू एमाले र माओवादी केन्द्रका नेताहरूले लुकाएका थिए । तर, भारतीय राजदूतावासका एक कर्मचारीले आफू निकटका केही नेपाली पत्रकारहरूलाई दस्तावेज दिएपछि त्यसको रहस्य बाहिर आएको हो ।
स्रोतले भन्यो, ‘एमाले र माओवादीका नेताहरूले पत्रकारले माग्दा पार्टी एकीकरणको दस्तावेज दिएनन् । तर, भारतीय राजदूतावासबाट ती दस्तावेजहरू पत्रकारहरूलाई दिइयो ।’ विवाद भएका विषय बाहिर नजाओस् भनेर एमाले र माओवादीका नेताहरूले ती दस्तावेज लुकाएका थिए । दस्तावेज भारतीय दूतावासमा कुन नेताले पु¥याएको हो भनेर एमाले र माओवादीभित्र खोजी सुरु भएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहीबार ०८:३४